coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

थवाङमा उपनिर्वाचन: उम्मेदवार टुंगो लगाउँदै दलहरू

थवाङ गाउँ । फोटो दिनेश नागरिक

रोल्पा– रोल्पामा यतिबेला दलहरु थवाङमा हुने उपनिर्वाचनका लागि उमेदवारको टुङ्गो लगाउने प्रयासमा छन्। कांग्रेसले उमेदवार छनोट गरे पनि सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र आकांक्षी धेरै देखिएपछि समस्या भएको हो।

‘सल्लाह हुँदैछ। छलफलमै छौ।’ सरकारी नेकपा रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीले भने ‘केहि पात्र अगाडि हुनुहुन्छ। हामी सहमतिको प्रयासमा छौं। एकदुई दिनभित्र टुङग्याउँछौं।’

उता प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भने आफ्नो उमेद्वार टुङ्गो लगाई सकेको जनाएको छ। ‘हामीले उमेदवारको फाइनल गरिसकेका छौं। अब प्रकृयामा जान मात्र बाँकि छ।’ कांग्रेस सभापति अमरसिंह पुनले भने ‘गाउँपालिकाका संयोजक कलम बहादुर रोकालाई उठाउने सहमति भएको छ।’

यहि २० गते थवाङमा निर्वाचनका लागि कार्यालय खुलेपछि बिधिवत चुनाव लाग्ने छ। स्थानीय प्रशासनले यहाँको निर्वाचन सम्पन्न गर्नका लागि चुस्त सुरक्षा योजना बनाई सकेको जनाएको छ। ‘२० गते गाउँपालिकामा रहने गरि कार्यालय खुल्छ। हामीले सुरक्षा योजना बनाइसकेका छौं।’ प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भने ‘चुनावी सुरक्षाको सबै तयारी सकाएका छौं। शान्तिपुर्ण वातावरणमा चुनाव सम्पन्न हुनेछ।’

निर्वाचन आयोगले विविध कारणले रिक्त रहेका विभिन्न पदमा मंसिर १४ गते उप निर्वाचनको मिति तोकेपछि रोल्पाको थवाङ गाउँपालिका–१ ठुलोगाउँमा समेत वडा अध्यक्षका लागि चुनाव हुनेछ। तर यहाँको निर्वाचन सोचे जस्तो सजिलो छैन्। विगतको निर्वाचन परम्परालाई हेर्दा थवाङको चुनाव सोचे जस्तो सहज देखिदैन।

पहिले पनि निर्वाचन बहिस्कारको नारा लिएको विप्लवको पकड क्षेत्र मानिएको थवाङमा चुनाव सकाउनु सरकारका लागि फलामको च्युरा चपाउनु सरह देखिन्छ। केहि समय अगाडि मृत्यु भएका वडा अध्यक्ष फर्कबहादुर बुढा विप्लव नेतृत्वको नेकपाका गतिला कार्यकर्ता हुन्। उनले स्वतन्त्रबाट उमेदवारी दिएर चुनाव जितेका थिए।

इतिहासमै राज्य सत्ताबाट अलग हुन चाहने थवाङीहरुले २०६४ मा ३ मत बाहेक सवै प्रचण्डलाई दिएका थिए। २०७० सालको संविधान सभामा एकमत पनि खसालेनन्। २०३६ सालमा शतप्रतिशत मत वहुदललाई खसालेका उनीहरुले २०१५ सालको निर्वाचनमा सबै मत थवाङकै उम्मेदवार बनेका खगुलाल गुरुङलाई दिएका थिए।

२०३८ सालमा रित्तो मतपेटिका फिर्ता गरेको थवाङमा २०५६ मा हेलिकप्टरमा पुगेका २ जनाले मात्र मतदान गरेका थिए। २०५४ मा चुनावै भएन। अध्यक्ष र उपाध्यक्ष सदरमुकामबाटै घोषणा गरियो भने २०५१ मा ४ मत मात्र खसेको थियो। २०३९ सालको स्थानीय चुनावमा विरोधमा कोहि उठ्न खोज्दा समर्थक र प्रस्तावक नपाएपछि अध्यक्ष र उपाध्यक्ष मात्र प्रतिस्प्रधामा आएका थिए।

सामुहिक निर्णयमा सधै एक रहने थवाङ गत स्थानीय तह निर्वाचन यता विभाजित देखिएको छ। थवाङीहरुको भाषामा सरकारी नेकपा र विद्रोही नेकपाको टकराब जन्मिएको त्यो चुनावपछि यो गाउँ दुई कित्तामा रहेको छ। प्रत्यक्ष निर्वाचनमा भाग लिएका कतिपय पनि यतिबेला सन्तुष्ट भने छैनन्।

‘चुनावमा भाग लिनु र नलिनुमा खासै भिन्नता छैन्। अहिले पनि उही विगतका जनप्रतिनिधिको जस्तै व्यवहार र रवैया जस्तै छ। आखिर गणतन्त्रपछिको चुनावले पनि दलाल र ठेकेदारलाई नै पदमा बसाल्ने रैछ।’ थवाङस्थित विप्लव नेकपाका जिल्ला स्तरिय एक नेताले भने ‘चुनाव गर्न त प्रयास गर्लान नि। हाम्रो पार्टीको निति चुनावमा भाग लिने छैन्। बहिस्कार नै हो।’ उनका अनुसार ‘थवाङीहरुले चाहे भने शुन्य मतदान नै गराउन सक्ने सम्भावना रहन्छ।’

प्रकाशित: १९ कार्तिक २०७६ ०८:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App