७ वैशाख २०८१ शुक्रबार
समाज

सहयोगीले धानेको ईलाका प्रशासन !

ईलाका प्रशासन कार्यालयमा भेटिएका सहयोगी कर्मचारी। तस्विर/नागरिक

गोरखा- ईलाका प्रशासन कार्यालय सिर्दिबासमा सहयोगी हिराबहादुर गुरुङ नागरिकताको ढड्डा पल्टाएर बिवरण खोजिरहेका थिए। जिल्ला प्रशासन कार्यालय गोरखाबाट सोधिएको बिवरण सहि या गलत भन्ने कार्यालयमा भएको बिवरण हेरेर बताउने, नागरिकता बनाए/नबनाएको रेकर्ड हेरेर जानकारी दिने उनको दैनिकी हो।

ईलाका प्रशासनमा अधिकृत स्तरका कर्मचारी नबसेपछि सेवा क्षेत्र भित्रका स्थानीय नागरिकता बनाउन जिल्ला सदरमुकाम आउँछन्। जिल्ला प्रशासन कार्यालयले बिवरण खोज्छ र त्यो बिवरण तिनै सहयोगीले भिडाउँछन्।

हिमाल पारीका गाविस भनेर चिनिने हालको चुमनुब्री गाउँपालिकाको चुम्चेत, छेकम्पार, सामागाउँ, साम्दो, ल्हो, प्रोक र बिहीका स्थानियलाई ईलाका प्रशासन कार्यालय सिर्दिबासले नागरिकता दिनुपर्छ। तिब्बतसँगको सिमा नाका भएकाले नेपाल–चिन सिमा क्षेत्रका बासिन्दाका लागि प्रस्थान/प्रवेश अनुमती पत्र पनि त्यहाँबाट दिने, वार्षिक नबिकरण गर्नुपर्छ। यो कामका लागि अधिकृत स्तरको कर्मचारी, नायब सुब्बा, खरिदार र एक जना कार्यालय सहयोगीको दरबन्दी तोकिएको छ। तर कार्यालयमा सधैं कार्यालय सहयोगी मात्रै भेटिन्छन्।

अधिकृत शिवबहादुर गौतम र सुब्बा रामप्रसाद शर्मा असोज ८ गते पुगेर १४ गते फर्किए। उनको असारमा दरबन्दी कायम भएपनि त्यस अघि सम्म पुगेका थिएनन्। दसैं अघि एक पटक पुगेका बेला चुमनुब्री गाउँपालिका ५ बिहिमा ६८ जनालाई नागरिकता बाडेर फर्किएका थिए। एक जना खरिदार दरबन्दी तोकिएपनि अहिलेसम्म हाँजिर भएका छैनन्। चार वर्षदेखि सहयोगी भएर बसेका उनले भने ‘सरहरु कहिलेकाँही आउनुहुन्छ, फेरी जानुहुन्छ, कहिले कहिले यहाँ मान्छे आए भने नम्बर लिएर फर्कन्छन्।’ त्यहाँ कर्मचारी नहुँदा नागरिकता बनाउन, कार्ड नबिकरण गर्न दुई दिन समय खर्चेर जिल्ला प्रशासन जानुपर्ने बाध्यता रहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले बताए।

धार्चे ३ सिर्दिबासका अध्यक्ष रामकुमार गुरुङले कर्मचारी नियमित नबस्दा स्थानियले दुःख पाएको बताए। ‘घरै छेउमा बन्ने नागरिकता र अन्य प्रशासनिक कामका लागि सदरमुकाम जान खर्च र समय पनि धेरै लाग्छ’ उनले भने। अहिले मात्रै नभएर यस अघि त्यहाँ खटिएका कर्मचारी पनि नियमित कार्यालय नबसेको स्थानियको गुनासो छ।

सिमा प्रशासनका प्रमुख शिव प्रसाद गौतमले हरेक महिना तबल खान एक पटक सदरमुकाम स्थित कोष तथा लेखा नियन्त्रण कार्यालय जानुपर्ने भएकाले नियमित कार्यालय बस्न नसकेको दावी गरे। ‘टाढा बाटो भएकाले आउन जान समस्या छ, चाडबाड भएर दसैं तिहारको बिचमा आइएन’ अहिले कार्यालयमै छु’ उनले भने ‘जनताले नियमित भईदिए हुन्थ्यो भन्ने चाहान्छन्, तल गईरहनुपर्ने कामले समस्या हुँदो रहेछ।’

 

 

प्रकाशित: १९ कार्तिक २०७६ ०६:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App