coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

वन्यजन्तुको संरक्षण गर्दै जरायो नाच

रसुवा – संस्कृति पहिचानका गर्दै रसुवाको सदरमुकाम धुन्चीबारमा जरायो नाच प्रस्तुत गरिएको छ। लोप हुँदै गएको संस्कृतिको संरक्षणका लागि धुन्चेका स्थानीय युवाहरूले जरायो नाच प्रस्तुत गरेका छन्।

चेन क्षवाअन्तर्गतका विभिन्न नाचमध्ये गत वर्ष खम्बा नाच प्रस्तुत गरिएकोमा यस वर्ष जरायो नाच देखाइएको थियो। विसं.२०३५ सालसम्म सो नाच प्रस्तुत हुँदै आएपनि बीचमा भने निरन्तरता पाउन नसकेको स्थानीयहरु बताउँछन्।

वन्यजन्तुको संरक्षणको लागि नाचिने सो नाच जिल्लाको ठूलो भार्खु, गत्लाङ, गोल्जुङ, चिलिमे र खाम्जिङमा देखाइएको थियो। भाइटीकाको भोलिपल्ट देखाइने सो नाच तामाङ संस्कृतिअन्तर्गत पर्ने स्थानीय फूर्पा तामाङले बताए। ‘तामाङ समुदायमा प्रचलित यो नाच विगत दुई वर्षदेखि निरन्तर रुपमा प्रस्तुत हुँदै आएको छ। स्थानीय युवाहरुको पहलमा यसलाई संरक्षण गर्न लागि परेका छौं।

सदरमुकाम धुन्चेमा भने रसुवा संरक्षण तथा सांस्कृतिक कला समूहले नाच प्रस्तुत गर्दै आएको छ,’ उनले भने। विभिन्न चार समूहले नाच प्रस्तुत गरेका थिए। सो नाचको विभिन्न समूहमा २५ जनाभन्दा बढी कलाकार सहभागी भएका थिए। युवा पुस्ताले नाच सिक्न जोड नदिएको हुँदा यसले निरन्तरता पाउन नसकेर हराउन थालेको स्थानीयहरु बताउँछन्।

यो नाचमा वन्यजन्तु संरक्षणका लागि स्थानीय लामाहरुले खेल्ने भूमिका बारे प्रस्तुत गरिन्छ। तिब्बती भाषामा स्यावा अर्थात जरायो नाचमा लामा, झाँक्री र वन्यजन्तुको महत्व देखाइन्छ। जंगलको पृष्ठभूमिमा वन्यजन्तु शिकारका लागि हिडेका मानिसहरुको जम्का भेट जरायोसँग हुँदाको कथावस्तु नाचमार्फत् प्रस्तुत गरिएको थियो।

सिकारीले लामाको माला र टोपी छोएर कहिल्यै सिकार नगर्ने वाचा गरेपछि जरायो मन्त्रअनुसार नाच देखाइने प्रचलन रहेको छ। लामाहरुले काटमार नगर्ने भएकाले वन्यजन्तुप्रति उनीहरुको गहिरो सम्बन्ध र विश्वास नाचमार्फत् देखाइएको थियो। नाचको तयारी साउन महिनादेखि गरिन्छ। साउनमा जरायो मन्त्र पढ्ने र कार्तिकमा घ्याङमा व्रत बस्ने तथा पूजा गर्नुका साथै नाच देखाइन्छ।
 

प्रकाशित: १९ कार्तिक २०७६ ०४:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App