७ वैशाख २०८१ शुक्रबार
अर्थ

६० प्रतिशत निर्माण सम्पन्न

निर्माणाधीन धरान–चतरा–सिन्धुली–हेटौंडा सडकको पश्चिम खण्डमा काम हुँदै। तस्बिर : अनिल/नागरिक

सिन्धुली – धरान–चतरा–सिन्धुली–हेटौंडा सडकको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको छ। केही स्थानमा अवरोधका कारण निर्माण हुन नसके पनि धेरै स्थानमा निर्माण कार्य अन्तिम चरणमा पुगेको हो।

सरकारको मुख्य प्राथमिकतामा परेको मदन भण्डारी राजमार्ग (धरान–चतरा–सिन्धुली–हेटौंडा वैकल्पिक राजमार्ग) निर्माण कार्य पछिल्लो समय तिब्र गतिमा भएपछि निर्माणले गति लिएको हो। राजमार्गको पूर्वी र पश्चिम दुवै खण्डको काम तीव्र गतिमै भइरहेको र हालसम्म ६० प्रतिशत बढी निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।

सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यका जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रूपमा हेरिएको सडकको दुवै खण्डमा करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। सडकतर्फकोे काम ६० प्रतिशतभन्दा बढी प्रगति भइसकेको आयोजनाले जनाएको छ। राजमार्गको पूर्व र पश्चिम गरी दुई खण्डमा विभाजन गरी काम भएको छ। दुवै खण्डमा सडक संरचना निर्माण, पुल निर्माण, कजवे, ह्युम पाइप, बक्स कल्भर्ट र स्ल्याब कल्भर्ट लगायत संरचना निर्माण धमाधम भइरहेको आयोजनाले जनाएको छ।

आयोजनाका पश्चिम खण्डका सूचना अधिकारी केशवप्रसाद ओझाका अनुसार सिन्धुलीको कमलामाई नगरपालिकाको भीमानदेखि मकवानपुरको हेडौंडा महानगरपालिका–६ चौगडासम्मको कुल एक सय १५ किलोमिटर सडकमा धमाधम काम भइरहेको छ। निर्माण कार्यको प्रगति पछिल्लो समय निकै अगाडि बढेको छ,’ उनले भने, ‘६० प्रतिशतभन्दा बढी काम भइसकेको छ।’ उक्त खण्डमा हालसम्म ४५ किलोमिटर कालोपत्रे भइसकेको र धमाधम पहिलो चरणको कालोपत्रेको काम भइरहेको सूचना अधिकारी ओझाले जानकारी दिए।

‘केही स्थानमा बढी क्षति हुने भएकाले नक्सांकन फेरबदल गरिदिन अनुरोध भएको छ,’ उनले भने, ‘सिन्धुलीको धुराबजारदेखि खट्टारसम्म कहाँबाट सडक लैजाने अन्यौल नै छ। यस्तै कमलामाई नगरपालिका र मरिण गाउँपालिकाको सिमाना अठुवा भन्ने स्थानमा समेत सडकको नक्सांकन परिवर्तन गर्नुपर्ने भएकाले त्यस क्षेत्रमा हालसम्म काम हुन नसकेको आयोजनाको पश्चिम खण्डले जनाएको छ। आयोजनाका केही स्थानको विवाद अदालतसम्म पुगेको र ती विवाद समाधान हुनेबित्तिकै काम अगाडि बढ्ने उनले जनाए। २०७३ साल कात्तिकमा सम्झौता भई २०७७ असार मसान्तमा सम्पन्न गर्नुपर्ने लक्ष्यअनुसार काम अगाडि बढाइएकोे निर्माण कम्पनीले जानकारी दिएको छ। 

राजमार्गको पूर्वी खण्डमा ५० किलोमिटर कालोपत्रे भइसकेको निर्माण कम्पनीले जनाएको छ। ‘समग्रमा पूर्वी खण्डको प्रगति ६० प्रतिशतभन्दा बढी भइसकेको छ,’ पूर्वी खण्डका आयोजना प्रमुख ललितजंग खनालले भने, ‘धेरै स्थानमा कालोपत्रे तयारी भइरहेको छ धमाधम निर्माण हुँदै छ। सडकको ग्रेड मिलान गरी सब–बेस हाल्नुका साथै कालोपत्रे गर्ने कार्य धमाधम भइरहेको छ, पूर्वी खण्डमा त्यस्तो ठूलो विवाद छैन, सामान्य विवाद ठूलो समस्या होइन।’ 

पूर्वी खण्डमा उदयपुरको बसाहादेखि सिन्धुलीको भीमानसम्मको एक सय ३४ किलोमिटर सडक पर्छ। उक्त सडकमध्ये ५० किलोमिटर कालोपत्रे भइसकेको छ भने अन्य धेरै क्षेत्रमा कालोपत्रे गर्ने अन्तिम तयारी भइरहेको छ। ‘वर्षायामले सोचेजति अझै गति लिन नसकेको हो, अब यो कात्तिक अन्तिम साताबाट अझै तीव्र गतिमा निर्माण हुन्छ,’ आयोजना प्रमुख खनालले भने। उनका अनुसार सडक निर्माण कार्य लक्ष्यअनुसार नै अगाडि बढेको छ।

पश्चिम खण्डको एक सय १५ किलोमिटरमा ३३ वटा पुल, ५७ स्थानमा कजवे, तीन सय ९७ ह्युमपाइप, १९ बक्स कल्भर्ट, चारवटा स्ल्याब कल्भर्ट रहने आयोजनाले जनाएको छ। तीन वर्षमा निर्माण सक्ने लक्ष्य लिइएको उक्त राजमार्गको पश्चिम खण्डको निर्माण जिम्मा कालिका, स्वच्छन्द, रकेन जेभी काठमाडौं र पूर्वी खण्डको जेट आइइसी शर्मा एन्ड लामा जेभीले लिएको छ। ११ मिटर चौडाइ रहेको उक्त सडक दुई पत्रमा पिच हुनेछ। पहिलो लेयरमा ११ मिटर चौडाइमै पिच हुने र त्यसमाथि दोस्रो लेयरमा सात मिटर चौडाइमा पिच हुने जनाइएको छ।

प्रकाशित: १९ कार्तिक २०७६ ०३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App