सडक दुर्घटनाको त्रासदी

मङ्गलबार, १९ कार्तिक २०७६, ०९ : ०९ नागरिक

दोलखाको मागादेउरालीबाट काठमाडौँका लागि छुटेको बस आइतबार अरनिको राजमार्गको सुकुटेबाट सुनकोसीमा खस्दा १८ जनाको मृत्यु भएको छ। ५० जनाभन्दा बढी घाइते भएका छन्। ९ महिला र ७बालबालिकाले समेत उक्त दुर्घटनामा ज्यान गुमाएका छन्। कोही अझै पनि मृत्युसँग लड्न बाध्य छन् भने केही अंगभंगको अवस्थामा समेत देखिएका छन्। नजिकका अस्पताल र स्वास्थ्य निकायहरूमा उपचाररत केही फर्केका छन् भने केही कति दिन बस्नुपर्ने हो भन्ने जानकारविहीन अवस्थामा छन्।१८ जनाको मृत्यु र ५० जनाभन्दा बढी घाइते हुनुले देखाउँछ– उक्त बसमा यात्रु धेरै थिए। त्यसैले एउटा बसमा कतिजनासम्म यात्रा गर्न मिल्छ ? बसवालाले कतिजनासम्म चढाउन पाइन्छ ? यी प्रश्नका उत्तर झनै ज्वलन्त भएर निस्किएका छन्। त्यसमाथि यात्रु आफैँ बुझेर कतिसम्म चढ्दा सुरक्षित भइन्छ भन्ने जानकारी नहुनु अर्को विडम्बनाको पक्ष छँदैछ। खासगरी यात्रुको यही अज्ञानतबाट फाइदा लिन खोज्दा धेरै दुर्घटना भएका छन्। र, सुकुटे दुर्घटनाले पनि यसलाई थप पुष्टि गरेको छ।जिल्लाका प्रहरी प्रमुखले बताएअनुसार तीव्र गति नै दुर्घटनाको मुख्य कारण हो। पछिल्लो समय मुलुकमा पुनः सवारी दुर्घटना बढ्दो गतिमा देखिएका छन्। र, यसको मुख्य कारणमध्ये तीव्र गति प्रमुख कारण हुने गरेको छ। उसै त साँघुरो सडक, त्यसमाथि तीव्र हँकाइले दुर्घटना निम्त्याउनु स्वाभाविक हो। तर यही कारण धेरै दुर्घटना हुँदै आए पनि चालकहरू भने यसबाटरत्तिभर सिक्न तयार देखिँदैनन्। जति तीव्र कुदायो, उति ठूलो भइन्छ वा यात्रु र बटुवाले महान् ठान्छन् भन्ने भ्रमले अझै पनि उनीहरूको दिमाग भरिभराउ छ। सुकुटे दुर्घटना यही भ्रमको उपज हो भन्नेमा शंका छैन।

कलिलो उमेर, पर्याप्त अनुभवको कमी, गैरकानुनीतवरबाट सवारीचालक अनुमतिपत्र हासिल हुने अवस्था, सडकमा ट्राफिकको शून्य उपस्थिति तथा चाँडो र धेरै पैसा कमाउने जस्ता प्रवृत्तिले बारम्बार दुर्घटना निम्त्याइरहेका छन्। तर जतिसुकै अघिल्ला घटना भए पनि न सवारी चालक न त ट्राफिक प्रहरी, दुवैले यसबाट पाठ सिकेका देखिन्न। पाठ सिकिएन भन्नलाई थप कुनै प्रमाण र आधार चाहिन्न, बारम्बार दोहोरिइरहेका दुर्घटना पर्याप्त छन्। सुकुटे दुर्घटनाबाट गम्भीर पाठ सिकेर भविष्यमा फेरि हुन नदिनेतर्फ पहल गर्न सके उत्तम हुन्छ। तर, त्यस्तो कहिल्यै भएको छैन। जहिल्यै उही र उस्तै अवस्था र कारणले दुर्घटना भई जनधनको क्षति भइरहेको छ। धन्न नजिकका रिसोर्टका गाइड तथा ¥याफ्टिङवालाअनुभवी थिए र धेरैलाई बग्न र मृत्युबाट बचाए। नत्र मृतकको संख्या अझै धेरै हुन सक्नेमा शंका छैन। यसले नेपालीहरूको उद्धार कर्मप्रतिको भाव प्रस्टिन्छ। परेका बेला जोसुकैलाई सहयोग गर्ने मानवीयता झल्कन्छ। यही कारण त पुनर्जीवन पाउन सके धेरैले। त्यसैले यसरी उद्धार कार्यमा खटिनेलाई धन्यवाद दिनुपर्छ भने यसबाट सिक्दै नदी किनारसँगै बनेका बाटोहरूमा ठाउँठाउँमा ¥याफ्टिङ, डुंगा आदिको व्यवस्था गर्न सकिए धेरैको ज्यान जोगिन सक्थ्यो। खासगरी नदी किनारका रिसोर्ट, होटल तथा अन्य सामाजिक संघ÷संस्थालाई यसका लागि प्रेरित गर्नेखालका कार्यक्रम आवश्यक देखिएको छ। जसलाई स्थानीय सरकारले व्यवस्थापन गर्ने हैसियत राख्छ।दुर्घटनापछि प्रत्येकपटक केही समय प्रहरी तथा स्थानीय प्रशासन सतर्क बन्ने गरेको देखिएको छ। अनि केही दिनपछि पुनः उनी ताल। त्यसैले अघिल्ला दुर्घटनाहरूका कारण पत्ता लगाउने, त्यसबाट सिक्ने र आगामी दिनका दुर्घटना रोक्नका लागि ती सिकाइलाई प्रयोग गर्ने हो भने दुर्घटना न्यून हुनेमा शंका छैन। हुनैपर्ने तर हामीले कहिल्यै पनि नगरेका कामध्ये यो पनि एउटा हो र यही कारण पनि दुर्घटनाहरू प्रतिस्पर्धात्मकरूपमा अगाडि आइरहेका हुन् भन्न कुनै कन्जुस्याइँ गर्नुपर्दैन। पछिल्लो दुर्घटनाको आधार पनि यही हो।

कम्तीमा ‘टाइम कार्ड’ लागु गर्न सकिन्थ्यो। ठाउँठाउँमा विश्रामस्थल व्यवस्था गर्न सकिन्थ्यो, चाहे त्यो एउटा चौतारा नै किन नहोस्, जहाँ केही समय विश्राम गरेर बल्ल अघि बढ्न सकिने व्यवस्था गर्न सकिन्थ्यो। राजमार्गहरूमा छड्के गरेर सवारी साधनको गति मापन गर्न सकिन्थ्यो। क्षमताभन्दा बढी यात्रु हाले÷नहालेको चेकजाँच गर्न सकिन्थ्यो। यी यस्ता सामान्य तरिका हुन् जसका लागि खर्च खासै चाहिन्नथ्यो र चाहिए पनि स्थानीय सरकारसँग अनुरोध गर्दा उपलब्ध हुन सक्थ्यो र यति व्यवस्थामात्र गर्दा पनि दुर्घटना भने निकै कम हुन सक्थ्यो। विडम्बना, न यसका लागि प्रहरीले सुझायो न त प्रशासन यसका लागि तम्तयार भयो। परिणाम– दुर्घटना र मृतक अनि घाइतेको संख्या गनेर बस्नेबाहेकको प्रगति शून्य। अब पनि यस्ता सवारी दुर्घटना भइरहन दिने हो भने हामी सभ्य समाजका नागरिक हुन सक्दैनौँ। त्यसैले अब नागरिक स्तरबाट पनि खबरदारी जरुरी छ। यसका लागि सर्वसाधारणलाई सचेत तुल्याउनेखालका कार्यक्रम सञ्चालन गरिनुपर्छ र यो स्थानीय तहबाट हुनु प्रभावकारी हुन्छ। जस्तो– चालक÷सहचालकले मादक पदार्थ सेवन गरे÷नगरेको, उनीहरूको व्यवहार उचित रहे÷नरहेको, कुन सवारी साधनको क्षमता कति हो र त्यसमा कतिजना हालिएको छ, गति कति हुनुपर्ने र कतिमा कुदाइएको छ, साधनको प्राविधिक पक्ष (सामान्य) कस्तो छ, कतिजना पुगेको अवस्थामा आफू चढ्नु हुँदैन जस्ता पक्षमा अब सर्वसाधारणलाई चेतनशील बनाउनै पर्छ। यस्तो अवस्थामा मात्र जनताले सवारी क्षेत्रका विकृतिविरुद्ध औँला ठड्याउँछ र यातायातवाला लापरबाही हुन÷गराउनबाट सतर्कहुनेछन्। यस्ता कुरामा पनि संघीय सरकारकै बाटो हेर्ने हो भने जिन्दगी विभत्स दुर्घटनाका समाचार बनेर वा सुनेरै सकिन बेर छैन।






यसमा तपाईको मत

अन्य समाचार

“पल्सर डेयर भेन्चर ४” अब नोभेम्बर १६ तारिकबाट शुरु

“पल्सर डेयर भेन्चर ४” अब नोभेम्बर १६ तारिकबाट शुरु

बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले “पल्सर डेयर भेन्चर सिजन ४” रिफ्रेसड बाई स्प्राईट  लिएर आएको...

एन.एस.क्वालिटी अवार्डबाट शिवम् सिमेन्ट सम्मानित

एन.एस.क्वालिटी अवार्डबाट शिवम् सिमेन्ट सम्मानित

नेपालको एक अग्रणी सिमेन्ट उत्पादक उद्योग शिवम् सिमेन्ट लिमिटेड नेपाल सरकार नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने एन.एस.क्वालिटी अवार्डबाट...

‘हजार महिला कार्यक्रम’ले व्यापार घाटा न्यूनीकरण गर्न कसरी सहयोग गर्छ? (भिडियो रिपोर्ट)

‘हजार महिला कार्यक्रम’ले व्यापार घाटा न्यूनीकरण गर्न कसरी सहयोग गर्छ? (भिडियो रिपोर्ट)

आगामी मंसिर ३ र ४ गते हुने ‘हजार महिला कार्यक्रम’ले नेपालमा बढ्दो व्यापार घाटा न्यूनीकरण गर्ने अपेक्षा राखिएको छ। ...

एनएमबि बैंकको पूर्वस्वीकृत आवास कर्जा

एनएमबि बैंकको पूर्वस्वीकृत आवास कर्जा

एनएमबि बैंकले ‘एनएमबि पूर्व–स्वीकृत आवास कर्जा’ सुरु गरेको छ । ...

स्कुललाई कुमारी बैंकको सहयोग

स्कुललाई कुमारी बैंकको सहयोग

कुमारी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गरेको छ । ...

फर्स्ट माइक्रोफाइनान्सको तालिम

फर्स्ट माइक्रोफाइनान्सको तालिम

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले धितोमा आधारित लघुउद्यम कर्जा लगानी सम्वन्धी दुईदिने तालिम सम्पन्न गरेको छ । ...

शेरचनले जिते आइएमईको दुई गुणा बढी रकम

शेरचनले जिते आइएमईको दुई गुणा बढी रकम

आइएमईको डबलको डबलको डबल अफरअन्तर्गत सातौं हप्ताको विजेता घोषित भएका छन् । ...

दराजको ११.११ ले तोड्यो सबैै रेकर्ड

दराजको ११.११ ले तोड्यो सबैै रेकर्ड

नेपालको बृहत् अनलाइन सपिङ साइट दराजले संसारकै सबैभन्दा ठूलो सेल ११.११ सफलतापूर्वक पूरा गरेको जनाएको छ । ...

Ncell Footer Ad