८ वैशाख २०८१ शनिबार
अर्थ

८५ प्रतिशत निर्माण

रसुवा – माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजनाको निर्माणको समयसीमा सकिन दुई महिना बाँकी रहँदा ८५ प्रतिशत काम मात्रै सकिएको छ।

पछिल्लो पटक थपिएको समय सीमाअनुसार आउँदो डिसेम्बर अन्तिमसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने छ। गएको एक वर्षदेखि आयोजनाको कामले गति लिएको छ। गत वर्ष आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत थियो भने अहिले पनि त्यति नै छ।

प्रसारण लाइन निर्माण नहुँदा विद्युत् खेर जाने सम्भावना रहेकाले काम ढिलो भएको आयोजना प्रमुख जीतमान शेर्पाले बताए। ‘उत्पादन भएको विद्युत् लैजानका लागि प्रसारण लाइन बनिसकेको छैन,’ उनले भने, ‘यसकारण प्रसारण लाइन नबनेमा उत्पादन पनि ढिलो हुन्छ।’

आउँदो डिसेम्बर अन्तिममा काम सकाइसक्नु पर्ने समय सीमा भए पनि सकिने सम्भावना नभएको उनले बताए। चिसो सुरु भएपछि काम रोकिन्छ। हिउँ पर्ने समय, वर्षा र चाडपर्वको समयमा आयोजनामा काम हुँदैन।

रसुवा र धादिङको सीमा क्षेत्र सोमदाङमा २०६९ देखि आयोजना निर्माण सुरु भएको हो। भूकम्प, नाकाबन्दी, ठेकेदार परिवर्तन, वर्षा र हिउँ पर्ने समयमा काम हुन नसक्ने भएकाले गति लिन नसकेको हो।

तोकिएको समय सीमाभित्र निर्माण सम्पन्न हुन नसकेपछि हालसम्म तीन पटक म्याद थप भइसकेको छ। ६.४२ मेगावाट क्षमताको आयोजनाको २०६९ देखि निर्माण सुरु भएको थियो।

असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य पूरा हुन नसकेपछि दोस्रो पटक म्याद थप गरिएको थियो। असारदेखि भदौसम्म र पुसदेखि चैतसम्म दुई चरणमा निर्माण कार्य अवरुद्ध हुने गरेको छ।

यस वर्ष मनसुन छिटै सुरु भएका कारण निर्माण कार्य प्रभावित बनेको थियो। आयोजनाका अनुसार अहिले पावर हाउस निर्माण, प्रसारण लाइन निर्माण र पेनस्टक जोड्ने कार्य भइरहेको छ।

नौ सय ३० मिटरमध्ये करिब तीन सय मिटर पेनस्टक जोड्न बाँकी छ। हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिलको सबै सामग्री आइसकेको छ। आयोजना रन अफ रिभर प्रणालीमा निर्माण भइरहेको छ। आयोजनाले हिउँदको समयमा पनि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सक्ने बताइएको छ।

‘हिउँदको समयमा हिउँ पग्लने भएकाले आयोजनाको उत्पादन घट्दैन,’ प्रोेजेक्ट इन्चार्ज दुर्गासुमन जोशीले भने, ‘उत्पादित विद्युत् खेर जान नदिन प्रसारण लाइन निर्माणमा पनि काम भइरहेको छ।’

प्रकाशित: १९ कार्तिक २०७६ ०३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App