४ वैशाख २०८१ मंगलबार
अर्थ

कौडीको मूल्यमा उखु बेच्न बाध्य किसान

रौतहट – चिनी उद्योग सञ्चालनमा नआए पनि खाँडसारी उद्योगहरुले कौडीको मूल्यमा उखु किनिरहेका छन्। जिल्लामा सञ्चालित करिब दुई दर्जन खाँडसारी उद्योगले अत्यन्त न्यून मूल्यमा उखु खरिद गरिरहेका छन्।

रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुरमा सञ्चालित खाँडसारी उद्योगले प्रतिक्विन्टल दुई सय ५० देखि तीन सय रुपैयाँसम्ममा उखु किनिरहेका छन्। खुँटी उखु बेचेर खेत खाली भएपछि त्यसमा रबि बाली लगाउन पाउने भएकाले किसानले कौडीको मूल्यमा उखु बेच्न बाध्य भएका हुन।

चाडपर्वका बेला सख्खरबाट केही परिकार बनाइने भएकाले अहिले सख्खरको मूल्य प्रतिक्विन्टल पाँच हजार रुपैयाँका दरले बिक्री भइरहेको छ। १० क्विन्टल उखुमा एक क्विन्टल सख्खर तयार हुने गरे पनि सख्खरको मूल्यको तुलनामा उखुको मूल्य कौडी बराबर भएको किसानको गुनासो छ। उखु बेच्नु किसानको बाध्यता भएकाले खाँडसारी उद्योगीले अत्यन्त न्यून मूल्यमा उखु किनिरहेका छन्।

जिल्लास्थित श्रीराम सुगर मिल्स र बाबा बैजुनाथ सुगर मिल्स समयमा सञ्चालन हुन नसकेका कारण किसान सस्तोमा उखु बेच्न बाध्य भएको उखु किसान संघ रौतहटका सचिव सफीन्द्र प्रसाद यादवले बताए।

किसानले खुटी उखु निजी सख्खर उद्योगमा बेचेर गहुँ, दलहन, तेलहनलगायत बाली लगाउने तयारी गरिरहेको गढीमाई नपा–४ पर्साका अगुवा किसान नरेन्द्र ठाकुरले बताए। तीन बिघा खुटी उखु खाँडसारी उद्योगमा बेचिसकेको ठाकुरको भनाइ छ।
गरुडामा रहेको चिनी मिललाई गत वर्ष नै बिक्री गरेको उखुको मूल्य नपाएका कारण उखु सस्तोमा बेचिरहेको गम्हरीका अगुवा किसान रामदेव राउतले बताए। उनले ऋण लिएर छोरीको विवाह गरेको तर उखुको भुक्तानी नपाएकाले निजी सख्खर उद्योगमा दुई बिघाको खुटी उखु बेचिसकेको बताए।

खुटी उखु बेचेर खेत खाली भएपछि त्यसमा नयाँ बाली लगाएर किसानले उखुको मूल्यको भरपाइ गर्ने मनसाय बनाएका छन्। गत वर्ष चिनी उद्योगलाई बेचेको उखुको मूल्य अहिलेसम्म नपाएकाले किसानले क्रसर उद्योगलाई सस्तोमा बेचेर पनि पैसा निकाल्न सजिलो भएकाले सस्तो मूल्यमा बेच्न बाध्य छन्।

प्रकाशित: १९ कार्तिक २०७६ ०३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App