५ वैशाख २०८१ बुधबार
अर्थ

जर्मनीले वैकल्पिक ऊर्जा प्रवर्द्धनमा डेढ अर्ब सहयोग गर्ने

काठमाडौं – दातृ निकाय जर्मन सरकारले नेपालको वैकल्पिक ऊर्जा प्रवद्र्धनको लागि डेढ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग नेपालका लागि जर्मन राजदूत रोलान्ड सेफरले उक्त जानकारी दिएका हुन्।

सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा भएको द्विपक्षीय भेटवार्तामा जर्मन राजदूत सेफरले ऊर्जा र वैकल्पिक ऊर्जाका साथै जलविद्युत क्षेत्रमा सहकार्य गर्न जर्मन सरकार इच्छुक रहेको बताउँदै वैकल्पिक ऊर्जाका लागि डेढ अर्ब रुपैयाँबराबर सहयोग दिने तयारीमा जर्मन सरकार रहेको जानकारी दिए।

भेटमा मन्त्री पुनले राजदूतसँगको भेटमा आपसी हित र सहयोगका विषयमा छलफल भएको बताए। मन्त्री पुनले जर्मन सरकारले ऊर्जा, प्रसारण लाइन र वैकल्पिक ऊर्जाको क्षेत्रमा गरेको सहयोगका लागि धन्यवाद दिएका थिए।

मन्त्री पुनले नेपालले सोलार र मिनी ग्रिड सरकारको प्राथमिकतामा रहेको भन्दै तीन वर्षभित्र करिब १२ प्रतिशत जनतामा नवीकरणीय ऊर्जाको माध्यमबाट स्वच्छ ऊर्जामा पहुँच पु¥याउने योजनामा सरकार रहेको जानकारी दिए।

‘सरकारले पूर्ण विद्युतीकरणको कार्यक्रम अघि सारेको छ, त्यसमा जर्मन सरकारले उपलब्ध गराउने सहयोग हामीलाई उपयोगी हुुन्छ,’ मन्त्री पुनले भने, ‘वैकल्पिक ऊर्जाको कामलाई अझ प्रभावकारी बनाउन सरकारले सातै प्रदेशमा कार्यालय विस्तार गर्ने योजनामा रहेका छौं।’

मन्त्री पुनले वैकल्पिक उर्जा र नेपाल विद्युत् प्राधिकरणले हिमाली र पहाडी क्षेत्रमा उक्त सहयोगलाई कार्यान्वयन गर्ने बताए। भेटमा जर्मन सरकारले वैकल्पिक ऊर्जामा गरेको सहयोग, तनहूँ जलविद्युत् परियोजनालगायत विषयमा समेत छलफल भएको थियो।

प्रकाशित: १९ कार्तिक २०७६ ०२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App