८ वैशाख २०८१ शनिबार
समाज

ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने पक्राउ

चितवन – ज्ञानेन्द्र शाहीमाथि आक्रमण गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एकजनालाई पक्राउ गरेको छ। प्रहरीले भरतपुर महानगरपालिका–११ का ३३ वर्षीय अविरल पोखरेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलले जानकारी दिए। शाहीमाथि गएको असोज ११ गते भरतपुरको चौबिसकोठीमा आक्रमण भएको थियो।

भरतपुरमा आयोजना गर्न लागिएको ‘नेपालका लागि नेपाली अभियान’ कार्यक्रममा सहभागी हुन आएका उनीमाथि चौबिसकोठीस्थित ग्लोबल होटलको गेटभित्रै प्रवेश गरी केही व्यक्तिले गाडीभित्रै कुटपिट गरेका थिए। शाही आएका बा३ख ८४५८ नम्बरको माइक्रोबसमा तोडफोड गरेर आक्रमणकारीले सबै सिसा फुटाएका थिए। उनलाई चितवनमा प्राथमिक उपचार गरेर सोही दिन उपचारका लागि काठमाडौं पठाइएको थियो।

शाहीमाथि आक्रमणको आरोपमा एक साताअघि चितवन प्रहरीमा जाहेरी परेको थियो। जाहेरीका आधारमा प्रहरीले आक्रमणमा संलग्नहरूको खोजी गरिरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। पक्राउ परेका पोखरेललाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ।
 

प्रकाशित: १९ कार्तिक २०७६ ०१:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App