७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

प्रशासन जिम्मेवारीबाट भागेको आरोप

नयाँ दिल्ली – बढ्दो प्रदूषण रोक्नका लागि राज्य सरकारहरु असफल भएको र आफ्नो जिम्मेवारीबाट भागेको भारतको सर्वोच्च अदालतले आरोप लगाएको छ। प्रशासनहरु प्रदूषणको तह घटाउने ठोस कदम चाल्नेभन्दा पनि अनावश्यक प्रचारप्रसारमा मात्रै रमाइरहेको आरोप पनि देशको सर्वोच्च अदालतले लगाएको छ। 

पिएम २.५ भनिने खतरनाक कणहरु अझै पनि राजधानी दिल्लीमा पाइने हावामा दश गुणा बढी रहेको बताइएको छ। ‘प्रत्येक वर्ष दिल्लीमा प्रदूषणको तह बढिरहेको छ तर हामी केही पनि गर्न सकिरहेका छैनौं,’ सर्वोच्च अदालतका न्यायाधीश अरुण मिश्रलाई उद्धृत गर्दैै बिबिसीले जनाएको छ। 

‘राज्यका संयन्त्रहरुले काम गरिरहेका छैनन्, उनीहरुले आफ्नो जिम्मेवारी एकअर्कातर्फ सारिरहेका छन्। सबैजना सस्तो प्रचारबाजी र निर्वाचनतर्फ मात्रै केन्द्रित भइरहेका छन्,’ उनले बताए। यसैबीच, भारतको राजधानी नयाँ दिल्लीमा बढ्दो वायु प्रदूषणका कारण जनजीवन थप अप्ठेरोमा परेको विवरण सार्वजनिक भइरहेका छन्।

आइतबारजस्तै सोमबार पनि वातावरण प्रदूषणको मात्रा झन् बढेकोले विद्यालय बन्द गरिए भने सडकमा पर्याप्त मात्रामा सवारी साधन पनि सञ्चालनमा आएनन्। जसका कारण दिल्ली वरपरको बस्तीमा समेत समस्या देखिन थालेको छ। निर्माण कार्यहरु ठप्प छन् भने अन्य दैनिक आवश्यकताका वस्तुहरुको परिपूर्तिका लागि समेत अप्ठेरो परेको समाचार बाहिरिएका छन्। 

हरेक चिसो मौसमको सुरुमा जस्तै यस वर्ष पनि नयाँ दिल्लीको आकासको मौसममा खराबी देखिन आएको हो। नयाँ दिल्लीको वायु प्रदूषित भएकोले केही दिनदेखि विद्यालय बन्द गरिएको छ। नयाँ दिल्लीको आकासमा देखिने तुवाँलोका कारण बालबालिकाको फोक्सोमा असर पार्ने भन्दै विद्यालय बन्द गरिएका हुन्। त्यसैगरी सर्वसाधारण नागरिक पनि अत्यावश्यकताका आधारमा मात्र सडक बजारमा निस्किएका छन्। 

यस वर्षको प्रदूषणको मात्रा गएको तीन वर्षयताकै सबैभन्दा खतरनाक अवस्थामा देखिएको बताइएको छ। नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले यस प्रदूषणका कारण परिस्थिति अत्यन्तै खतरनाक भएको भन्दै यसको मापनका आधार निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। 

‘परिस्थिति एकदमै खतरनाक छ। बालबालिका मात्र नभएर सबै सर्वसाधारण नागरिकले पनि निकै अप्ठेरो महसुस गरिरहेका छन्, सबैले सहजै सास फेर्न सकिरहेका छैनन्,’ आइतबार मुख्यमन्त्री केजरीवालले आफ्नो ट्विटर अकाउन्टमा भिडियो सन्देश राखेका छन्। 

प्रदूषण धेरै बढेपछि दिल्ली सरकारले हालैमात्र जनस्वास्थ्य संकटकाल नै लगाएको घोषणा गरेको थियो। यसका साथै दिल्लीका मुख्यमन्त्री केजरीवालको सरकारले दिल्लीका सबै विद्यालय ५ नोभेम्बरसम्मका लागि बन्द गरिएको घोषणा गरेका थिए। 

केही दिनअघि सकिएको दीपावलीपछि दिल्लीको हावाको गुणस्तर अत्यन्त खराब भएको र श्वासप्रश्वासमा नै समस्या हुन थालेको छ। चिसो र श्वासप्रश्वासका बिरामीले अस्पतालमा भीड हुन थालेको छ।

दिल्लीको हावामा प्रदूषित हावाका कणको स्तर विश्व स्वास्थ्य संगठनले बनाएको मानकभन्दा २० गुणा बढीसम्म भेटिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। विश्व स्वास्थ्य संगठनले बनाएको मानकभन्दा नयाँ दिल्लीको आकासमा बढी मात्रामा प्रदूषण हुन लागेको धेरै वर्ष भइसकेको छ।  

मौसमविद्हरुले त यहाँ सास फेर्न गाह्रो भएको भन्दै दिल्ली ‘ग्यास च्याम्बर’ बनेको बताएका छन्। प्रदूषण अत्यन्त बढेका कारण त्यहाँको जनजीवन निकै कष्टकर बन्दै गएको बताइएको छ। भारतीय राजधानी नयाँ दिल्ली संसारको सबैभन्दा प्रदूषित सहरमध्येको एक सहर भनेर निकै पहिलेदेखि नै चिनिँदै आएको थियो। उदासीन जनमानस साथै अदूरदर्शी सरकारका कारण भारतीय राजधानीका बासिन्दाको आयु वर्षेनी कम हँदै गएको हालै मात्र गरिएका अध्ययनहरुले देखाएका छन्।

नयाँ दिल्लीमा आगामी वर्षको शुरुआतमै राज्य सभाको निर्वाचन हुँदै छ। तर त्यस समयका लागि चुनावी अजेन्डा नै नयाँ दिल्लीको प्रदूषणको विषय उठ्न सक्ने बताइएको छ। अहिले पनि नयाँ दिल्लीमा औद्योगीकरणको मात्रा निकै बढेको भन्दै यस प्रदूषणका लागि राजनीतिक दल र सरकारले नै एक अर्कालाई दोषणारोपण गरिरहेका छन्। 

हावर्ड विश्वविद्यालयका पर्यावरणीय अर्थशास्त्रीहरुले संयुक्त रूपमा गरेको उक्त अध्ययनअनुसार देशका यस्ता सम्पूर्ण क्षेत्रमा प्रदूषण कम गर्दै वायुको गुणस्तर कायम गर्नसके करोडौं बासिन्दाको औसत आयु ३ दशमलव २ वर्षले बढ्ने जनाइएको छ। 

यस विषयलाई गम्भीर रूपमा लिन र आवश्यक सुधारका लागि काम गर्न सोमबार केही वातावरणविद्हरुको समूहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका बताइएको छ। सवारीसाधन र उद्योगबाट निस्कने धुँवा दिल्ली प्रदूषणका प्रमुख कारण हुन्। त्यसैगरी फोहोरमैला जलाउँदा निस्कने धुँवाले पनि नयाँ दिल्लीको आकासको हावा बढी मात्रामा जोखिमपूर्ण बनाएको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले जनाएको छ। 

नयाँ दिल्लीको जनसंख्या चार करोड ५० लाख छ। भारतीय राजधानी सहर नयाँ दिल्लीको प्रदूषण नियन्त्रण गर्न सरकारलाई निकै सकस परिरहेको छ। नयाँ दिल्ली सरकारले तिहारमा पटाका पड्काउन प्रतिबन्ध गरेको थियो। गत वर्षका प्रतिवेदनहरुमा पटाका पड्काउँदा दिल्लीको आकासको हावा प्रदूषित भएको बताएका थिए। यस वर्ष पटाका पड्काउन नदिए पनि कुनै प्रभाव नपरेको बताइएको छ। एजेन्सी

प्रकाशित: १९ कार्तिक २०७६ ०१:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App