coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

‘जितपछि टोलीमा खुसी फर्कियो’

नयाँ दिल्ली – ट्वान्टी–२० क्रिकेटमा भारतमाथि पहिलोपटक जित निकालेपछि बंगलादेशको सफलतामा म्यान अफ दी म्याच घोषित मुस्फिकर रहिमले आफ्नो टोलीमा खुसी फर्किएको बताएका छन्।

बंगलादेशका महत्वपूर्ण खेलाडी सकिब अल हसन भ्रष्टचारको आरोपमा दुई वर्षको प्रतिबन्ध परेपछि दुःखी बनेको आफ्नो टोलीमा आइतबार भारतमाथि सात विकेटको जितपछि खुसी फर्किएको रहिमले बताएका हुन्। भेट्रान विकेटकिपर ब्याट्सम्यान रहिमले अविजित ६० रनको योगदान दिएपछि पाहुना टोली बंगलादेशले दिल्लीमा भारतले प्रस्तुत गरेको १ सय ४९ रनको लक्ष्य तीन बल अगावै पूरा गरेको थियो।

प्रदुषणले प्रभावित दिल्लीमा कप्तान मेहमुदुल्लाह रियादले अन्तिम ओभरमा छक्का प्रहार गर्दै बंगलादेशलाई सफलता दिलाए। त्यससँगै बंगलादेशले भारतविरुद्ध ट्वान्टी–२० क्रिकेटमा पहिलो सफलता निकाल्दै तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ।

भारतीय भूमी जित निकालेसँगै बंगलादेशका खेलाडीले प्रदुषणले घेरिएको मैदानमा खुसी मनाएका थिए। सो अवसर रहिमले पूर्वकप्तान सकिबमाथि दुई वर्षको प्रतिबन्ध लाग्नु आफ्नो खेल करियरकै कठिन समय भएको प्रतिक्रिया दिएका छन्।

भ्रष्टचारसम्बन्धि प्रस्ताव लुकाएको आरोपमा सकिबमाथि उक्त प्रतिबन्ध लागेको थियो। साथै पछिल्लो हप्ता नै बंगलादेशका क्रिकेटरले आफ्नो क्रिकेट बोर्डविरुद्ध तलब वृद्धिको विषयलाई लिएर आन्दोलन चर्काएका थिए। ‘१५ वर्षको क्रिकेट करियरमा पछिल्ला २/३ हप्ता मेरो लागि निकै कठिन समय रह्यो,’मुस्फिकरले भने,‘त्यसैले बंगलादेशबाट निक्लिनुअघि खेल जित्यौं भने मात्र सही लयमा फर्किन्छौं भन्ने मलाई विश्वास थियो।’ 

आफ्नो टोली र देशमा खुसी फर्काउन हालको जित आवश्यक रहेको पनि रहिमले औंल्याए। उनले यो सफलतालाई निरन्तरता दिने प्रयास रहेको विश्वास प्रकट गरेका छन्। अर्का महत्वपूर्ण खेलाडी तमिम एकबलबिना उत्रिएको बंगलादेशका कप्तान मेहमुदुल्लाहले टस जितपछि फिल्डिङ गर्ने निर्णय गरेका थिए। मेहमुदुल्लाहको रणनीतिलाई बलरले सही साबित गर्दै भारतलाई ६ विकेटको क्षतिमा १ सय ४८ रनमा रोक्न सफल भए।

जवाफी ब्याटिङमा बंगलादेशले पहिलो ओभरमा ओपनर लिटन दासलाई ७ रनमा गुमाउनुको बाबजुत मुस्फिकरले उत्कृष्ट साथ दिएपछि सफलता प्राप्त गर्‍यो। मुस्फिकरले तेस्रो विकेटका लागि सौम्य सरकारसँग ६० रनको साझेदारी गरेका थिए। खलिल अहमको बलमा क्लिन बोल्ड हुनुअघि सौम्यले ३९ रन बनाए। सौम्यको इनिङमा दुई छक्का र एक चौका समावेश थियो। 

मुस्फकरले चौथो विकेटका लागि कप्तानसँग अविजित साझेदारी सफलता दिलाए।  कप्तान मेहमुल्लाहले सात बलमा समान १/१ चौका र छक्का हिर्काए। मुस्फिकरले ४३ बलमा खेल्दा ८ चौका र एक छक्का प्रहार गरेका थिए। जितपछि मुस्फिकरले आफ्ना युवा क्रिकेटरले उत्कृष्ट प्रदर्शन गरेको बताए। 

नियमित कप्तान विराट कोहलीबिना उत्रिएको भारतको खासै राम्रो सुरुआत हुन सकेन। कप्तान एवम् ओपनर रोहित शर्मा १० रनमै पहिलो विकेटका रूपमा आउट भए। भारतका लागि शेखर धवनले सर्वाधिक ४१ रन बनाउँदा ४२ बलमा तीन चौका र एक छक्का प्रहार गरेका थिए। 

अन्य कुनै पनि ब्याट्सम्यानले भारतको इनिङमा ठूलो योगफल बनाउन सकेनन्। बंगलादेशका बलिङमा सफिउल इस्लाम र अमिनुल इस्लामले समान २/२ विकेट लिए। बंगलालेशका बलर हाबी भएपछि भारतले खासै ठूलो योगफल बनाउन सकेनन्। भारतका कप्तान शर्माले सम्मानजनक योगफल बनाए पनि फिल्डिङमा राम्रो गर्न नसक्दा हार बेहोरेको बताए। भारतले दोस्रो टेस्ट आगामी बिहीबार राजकोटमा खेल्नेछ। एएफपी

प्रकाशित: १९ कार्तिक २०७६ ०१:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App