१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विनोदको अर्धशतकप्रेरित नेपाल विजयी

काठमाडौं – विनोद भण्डारीको अर्धशतकीय इनिङप्रेरित नेपालले विश्व क्रिकेटको सबैभन्दा पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)माथि सोमबार जित हात पारेको छ। किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपालले भ्रमणकारी टोली एमसिसीविरुद्ध ५ विकेटको जित निकालेको हो।

पूर्णरूपमा कप्तान बनेपछि ज्ञानेन्द्र मल्लले नेपाललाई पहिलो जित दिलाउन सफल भए। नियमित कप्तान पारस खड्काले राजीनामा दिएपछि नेपाल क्रिकेट संघ(क्यान)ले गत साताको बुधबार मल्ललाई कप्तानको जिम्मेवारी सुम्पिएको थियो। 

टस जितेर पहिले ब्याटिङ गर्दै एमसिसीले प्रस्तुत गरेको २ सय २ रनको लक्ष्य नेपालले ३७.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्दा नेपाललाई सुखद नजिता हात लागेको हो। नेपालको जित सुनिश्चित गर्न विकेटकिपर तथा ब्याट्सम्यान विनोद भण्डारीले अविजित ५२ रनको अर्धशतकीय इनिङ खेले। ६४ बलको सामना गरेको विनोदले ३ चौका र २ छक्का प्रहार गरे। 

उनलाई साथ दिएको पवन सर्राफ ३८ रनमा अविजित रहे। २५ बलको सामना गरेका पवनले ४ चौका र २ छक्का प्रहार गरे। नेपाल १८ रन जोड्दा २ विकेटको नाजुक अवस्थामा थियो। तर, तेस्रो विकेटका लागि शरद भेषवाकर र दीपेन्द्रसिंह ऐरीले ६७ रनको साझेदारी गर्दै नेपालको इनिङलाई उकासे। शरद २४ रनमा आउट हुँदा दीपेन्द्रले २३ रनको योगदान दिए।

कप्तान ज्ञानेन्द्र मल्ल १०, आरिफ शेख २३ र इशान पाण्डेले ४ रन बनाएर आउट भए। खराब सुरुआत भए पनि मध्यक्रमका ब्याट्सम्यानले इनिङ सम्हाल्दा नेपालको जित सम्भव भएको थियो। बलिङतर्पm एमसिसीका यासिर अराफतले सर्वाधिक ३ विकेट हात पार्दा एलेक्स थम्पसनले २ विकेट निकाले। यसअघि पहिले ब्याटिङ गरेको एमसिसीले ३९.२ ओभरमा सबै विकेट गुमाएर २ सय १ रन जोड्न सफल भएको थियो। 

एमसिसीका लागि ओपनरद्वय विल रोड्स र विली गोडलम्यानले अर्धशतकीय इनिङ खेले। ७१ बलको सामना गरेका रोड्सले ५ चौकाको मद्दतमा ५४ रन जोड्दा गोडलम्यानले विस्फोटक इनिङ खेले। ३८ बलको सामना गरेका गोडलम्यानले ८ चौका २ छक्काको मद्दतबाट ५२ रन जोड्न सफल भए। विल भेन्डेस्पर ३६ तथा कालम ज्याक्सन र एलेक्स थोम्पसन समान ११ रन बनाउँदै पवेलियन फर्किंदा चार खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

एमसिसीको इनिङलाई सस्तैमा समेट्ने क्रममा नेपालका पवन सर्राफ र ललितनारायण राजवंशीले समान ४/४ विकेट हात पार्दा करण केसी र अविनास बोहराले १/१ विकेट आफ्नो नाममा लेखाए। अब नेपालले एमसिसीसँग तीन दिवसीय खेल खेल्नेछ। तीन दिवसीय बुधबारबाट सुरु हुनेछ। यसअघि आइतबार एमसिसीले नेपाली यु–१९ टोलीलाई ३८ रनले पराजित गरेको थियो।

प्रकाशित: १९ कार्तिक २०७६ ०१:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App