८ वैशाख २०८१ शनिबार
राजनीति

ब्रिटिस सेनामा नेपाली नागरिकको भर्ना बन्द गर्नुपर्छः नेता नेपाल

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल ब्रिटिस सेनामा नेपाली नागरिकलाई भर्ना लिने कामको विपक्षमा उभिएका छन्।

पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले कुनै पनि मुलुकको दासको रुपमा सेनामा भर्ना हुने कुरा नेपाललाई मान्य नहुने चेतावनी पनि दिए। गोर्खा भूतपूर्व सैनिकहरुको राष्ट्रिय गोष्ठीलाई सोमबार काठमाडौंमा उद्घाटन गर्दै उनले भूतपूर्व गोर्खा सैनिकहरुले विगतमा भोग्दै आएका विभेदको अन्त्य हुने गरी ब्रिटिस सरकारसँग वार्तामा बस्न पनि नेपाल सरकारको ध्यानाकर्षण गराए। संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य समेत रहेका नेता नेपालले भुतपूर्व गोर्खा सैनिकहरुले व्रिटिस सरकारबाट भोग्दै आएका विभेदकारी नीतिको अन्त्य गर्न सम्बन्धित सबै पक्षले एकतावद्ध भएर मुकाविला गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए।

पूर्व प्रधानमन्त्री एवम् नेकपाकै अर्का वरिष्ठ नेता झलनाथ खनालले भूतपूर्व गोर्खा सैनिकहरुमाथि हुँदै आएको विभेद अन्त्य हुने गरी व्रिटिस सरकारसँग निर्णायक वार्ता गर्न सरकारसँग माग गरे। उनले मुलुक शान्ति र समृद्धिको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै अव सरकारले कुनै पनि नागरिकलाई सम्मानजनक ढंगले राष्ट्र भित्रै रोजगारीको अवसर सृजना गर्नुपर्ने पनि बताए।

कार्यक्रममा बोल्दै मन्त्रिपरिषदका तत्कालीन अध्यक्ष खिलराज रेग्मीले मानव अधिकार र कानुनी दुवै दृष्टिले भूतपूर्व गोर्खा सैनिकहरुमाथि गरिएको विभेदपूर्ण व्यवहार अन्त्य हुने गरी ब्रिटिस सरकारसँग वार्ता गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए। नेपालले व्रिटिस सरकारसँग कूटनीतिक पहल गरी भूतपूर्व गोर्खा सैनिकहरुको समस्या समाधान गर्नुपर्ने उनको भनाई थियो।

कार्यक्रममा भूतपूर्व गोर्खा सैनिकका नेताहरुले पेन्सन दिने कुरामा समेत व्रिटिस सरकारले आफूहरुमाथि विभेद गर्ने गरेको उल्लेख गर्दै ती समस्या समाधानका लागि पहल गरी दिन नेपाल सरकार र यहाँका राजनीतिक पार्टीहरुको गम्भिर ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: १८ कार्तिक २०७६ १२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App