८ वैशाख २०८१ शनिबार
समाज

सुरुङभित्र फसेका चार मजदुर मध्ये दुईको शव भेटियो, दुई अझै बेपत्ता

बझाङ- कालङ्गा आयोजनाको सुरुङभित्र थुनिएका चार मजदुर मध्ये दुईको शव फेला परेको छ। अन्य दुई सम्पर्क विहिन भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

सुरुङ भित्र सास फेर्न नसकेका कारण मजदुरहरुले ज्यान गुमाएको प्रहरीको अनुमान छ। दैलेखको गुराँस गाउँपालिका–३ का कर्ण बहादुर शाही र बुङ्गल नगरपालिका–१ का शेरसिंह धामीको शव उद्दार टोलीले बाहिर निकालिसकेको छ भने दैलेखको गुराँस गाउँपालिका–३ का महेन्द्र बहादुर शाही र अछामको तुर्माखाँद गाउँपालिका–६ का महेन्द्र साउँद अझै हराई रहेका छन्।

बुँङ्गल क्षेत्रमा निर्माण भइरहेको कालङ्गा जलविद्युत आयोजनामा काम गर्ने चार मजदुर आइतबार दिउँसोदेखि सुरुङभित्र थुनिएका थिए। चौध सय मिटर लामो सुरुङ भएकाले अक्सिजनको मात्रा कम भएका कारण चारैजना बेहोस भएको प्रहरीले जनाएको छ। उनीहरुसँगै सुरुङभित्र गएका अन्य दुई मजदुर भने बाहिर निस्किन सफल भएका थिए।
मजदुरहरु सुरुङमा सम्पर्कविहिन भएपछि काठमाडौबाट सैनिक हेलिकप्टर सहितको उद्दार टोली गएकाे थियाे। बझाङ प्रहरीका अनुसार अक्सिजनको कमीका कारण उद्दार टोली सुरुङभित्र जना नसकेको अवस्था छ।   

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेसहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्दारमा खटिएका छन्। पाँच वर्षदेखि निर्माणाधिन ६५ मेगावाट क्षमताको कालङ्गा आयोजनाको हाल सुरुङ खन्ने काम भइरहेको छ।

प्रकाशित: १८ कार्तिक २०७६ १३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App