coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

देउवाको गृहजिल्लामा डा. केसीले शुरु गरे अनशन

डडेल्धुरा– चिकित्सा क्षेत्रको सुधारका लागि लड्दै आएका प्राडा गोविन्द केसीले डडेल्धुरामा अनशन सुरु गरेका छन्। डा केसीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा १७ औं अनशन सुरु गरेका हुन्। 

सोमबार बेलुकी ५ बजेदेखि सदरमुकामको तुफानडाँडामा अनशन सुरु गरेका डा. केसीले सात बुँदे माग अघि सारेका छन्। 

पूर्वघोषणा अनुसार डा. केसी अनशन बस्न सोमबारै कसैलाई जानकारी नदिई डडेल्धुरा पुगेका थिए।

अनशन बस्नुअघि डा. केसीले डडेल्धुरा अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षण समेत गराएका थिए। उनले रगतको नमूना समेत दिएका छन्। 

उनी डडेल्धुरा अस्पतालको एक सय मिटर दुरीमा रहेको निर्मल क्लिनिक फार्मेसी भएको घरमा अनशन बसेका छन्। अनशन बस्नुअघि डा. केसीले एक हाफ चाउमिन र ५० ग्राम मिठाई खाजा खाएका थिए। सरकारलाई सोमबार बेलुकासम्मको अल्टिमेटम दिएका डा केसीले आफूसँग भएका सम्झौता कार्यान्वयन गर्न आग्रह गरेका छन्।

यसभन्दा पहिला पनि डडेल्धुरा आएका बेला डा. केसीले पूर्वप्रधानमन्त्री देउवाको गृह जिल्लामा अस्पतालको अवस्था देखेपछि चिन्ता व्यक्त गरेका थिए। 

केसीका ७ बुँदे मागहरु

१) हामीसँग २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस्।

२) विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शिता ढंगले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस्।

३) आन्दोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असुल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस्। अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका संचालकहरु लाई फौजदारी कानुन बमोजिम कडाभन्दा कडा कारबाही गरियोस्।

४) संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा वृद्वि गर्ने सम्बन्धी लगायतको निर्णय तत्काल खारेज गरियोस्।

५) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबिबिएस कार्यक्रम संचालन गरियोस्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडिजिपी कार्यक्रम संचालन गर्ने अनुमति अनुचित ढंगले प्रधानमंत्री कार्यालयले अडकाएर राखेकाले त्यसलाई तुरुन्त स्वीकृति दिँदै शीघ्र एमबिबिएस कार्यक्रम संचालन गर्ने व्यवस्था गरियोस्। प्रदेश नं दुई र चार तथा डोटी र डडेल्धुरा, उदयपुर र इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस्।

६) क्यान्सर लगायत महंगा औषधिहरु भारत भन्दा ४–५ गुणा महंगो भएकाले सुपथ मुल्यमा उपलब्ध गराउने व्यवस्था गरियोस। कर्मचारी समायोजनका कारण सेवा नै अवरुद्ध भएको डडेल्धुरा अस्पताल लगायतका अस्पताल र स्वास्थ्य संस्थाहरुमा तत्काल दरबन्दी अनुसार चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गरियोस्। 

७) संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवंडाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गरियोस्।

प्रकाशित: १८ कार्तिक २०७६ ११:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App