८ वैशाख २०८१ शनिबार
समाज

गढीमाई मेलाः सिडिओ र एसपीले गराए नगरपालिका र मन्दिर समितिबीच ७ बुँदे सहमति

पत्रकार सम्मेलनमा हात मिलाउँदै महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादव र गढीमाई संचालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साह लगायत दुबै पक्षका पदाधिकारी ।

बारा– बरियारपुरस्थित रहेको विश्वमै सबैभन्दा बढी एकैपटक पशु बलि दिइने मेलाको रुपमा रहेको गढीमाई पञ्चवर्षीय मेला भव्य र सभ्य बनाउने विषयमा महागढीमाई नगरपालिका र गढीमाई मन्दिर संचालन समितिबीच सहमति भएको छ।

मंसिर १ गते देखि एक महिना सम्म लाग्ने गढीमाई पञ्चवर्षीय मेला नजिकिँदै जाँदा नगरपालिका र गढीमाई मन्दिर संचालन तथा विकास समितिबीच मेला लगाउने विषयमा बढेको विवादले मेलालाई नै प्रभावित हुने भएपछि दुबै पक्ष मेलालाई भव्य र सभ्य लगाउनको लागि सहमति गरेको पत्रकार सम्मेलन गरी जानकारी गराएका छन्। 

बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल र प्रहरी उपरीक्षक विकासराज खनालको मध्यस्थकर्तामा महागढीमाई नगरपालिकाको कार्यालय बरियारपुरमा आइतबार रातभरि छलफल गरि दुबै पक्षले ७ बुँदे सहमति गरेको सोमबार महागढीमाई नगरपालिकाले गढीमाई मन्दिर परिसरमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ। 

महागढीमाई नगरपालिकाले वडा १ का वडाध्यक्ष सुदामा साह कानुको अध्यक्षतामा गठन गरेको पञ्चवर्षीय गढीमाई मेला मूल व्यवस्थापन समितिमा मन्दिर संचालन तथा विकास समितिबाट उपाध्यक्षमा दुई जनाको नाम समावेश गर्ने, मेलाबाट उठेको रकम व्यवस्थापन गर्न नगरपालिका र समितिको तर्फबाट दुई दुई जनाको नाममा संयक्त बैक खाता खोली सो खातामा मेलाबाट हुने आम्दानीको रकम राख्ने, मेला संचालनको लागि गठित विभिन्न उपसमिति मध्ये मनोरन्जन उपसमितिको गठन नगरपालकाको तर्फबाट जग्गा व्यवस्थापन उपसमितिको गठन सहमतिले गर्ने, लगायतको सात बुँदे सहमति भएको पत्रकार सम्मेलनमा जनाइएको छ।  

पत्रकार सम्मेलनमा महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र प्रसाद यादवले स्थानीय तहलाई पाएको अधिकारको बारेमा मन्दिर संचालन तथा विकास समितिका पदाधिकारीहरुलाई राम्रोसँग थाहा गराएपछि दुबै पक्ष मिलेर मेलालाई भव्य र सभ्य लगाउने सहमति भएको बताए। 

दुबै पक्षबीच चलेको छलफलपछि भएको सात बुँदे सहमतिबाट मेलाबाट हुने आम्दानीलाई खर्च नगरि यसको भौतिक पूर्वाधारमा खर्च गर्ने र मेलामा आउने श्रद्धालुहरुलाई खानेपानी, शौचालय लगायतको सेवा सुविधा दिने कार्यमा आ–आफनो क्षेत्रबाट लगानी गर्ने सहमति भएको पत्रकार सम्मेलनमा नगर प्रमुख यादवले बताए। 

गढीमाई मन्दिर संचालन तथा विकास समितिका पदाधिकारीहरु बाहिरी मान्छेहरुको उक्साहटमा लागेर महागढीमाई नगरपालिकाले गर्ने कार्यहरुको बारेमा राम्रोसँग जानकारी नभएर विवाद गर्न खोजेको तर दुबै पक्ष प्रमुख जिल्ला अधिकारीको मध्यस्थकर्तामा छलफल गर्दा विवाद गर्नुपर्ने औचित्य नदेखिएपछि सहमति भएको बताए। 

राजनीतिक स्वार्थ बोकेका बाहिरको मान्छेहरुले महागढीमाई नगरपालिकाको जनताबीच लडाउन खोजे पनि नगरपालिका र समितिका पदाधिकारीको कुरा बुझेर गढीमाई मेलालाई राम्रोसँग लगाउनको लागि एक ठाउँमा आएको नगर प्रमुख यादवले बताए। 

गढीमाई मन्दिर संचालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले यस वर्षको पञ्चवर्षीय गढीमाई मेलालाई अन्य वर्षको भन्दा सभ्य र मेलाको बारेमा राम्रो सन्देश दिनको लागि नगरपालिकासँग सहमति गरिएको बताए। 

दुबै पक्ष एक आपसमा मिलेर अगाडि नबढ्दा मेला विवादित हुने र त्यसले गढीमाईको मेलाको भविष्यलाई नै असर गर्ने भएकोले त्यसलाई ध्यानमा राखेर सात बुँदे सहमति गरी मेलामा समितिले सहयोग गर्न अघि बढेको अध्यक्ष साहले बताए। 
बाराका प्रमुख जिल्ला अधिकारी पोखरेलले महागढीमाई नगरपालिका र मन्दिर विकास समितिबीच मेला लगाउने विषयमा सहमति गराउन आफू देखावटी पात्र भ एपनि गढीमाइप्रति आस्था राख्ने धेरैजनाले यसमा निरन्तर सहयोग गरेको बताए। 

समिति र नगरपालिकाबीच गढीमाईको मेला एक भएर लगाउने सहमतिले मेलाको गरिमा थप बढेको र यसले मेलामा आउने श्रद्धालुहरुको सेवा सत्कारमा सहयोग मिल्ने विश्वास प्रजिअ पोखरेलले गरे। 

मंसिर १ गतेदेखि एक महिना लाग्ने पन्चवर्षिय गढीमाईको मेला ६० लाख श्रद्धालु आउने अनुमान गरिएको छ। मेलालाई व्यवस्थित गर्न महागढीमाई नगरपालिका दुई महिला पहिला देखि नै सक्रिय बनेको छ।

प्रकाशित: १८ कार्तिक २०७६ १०:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App