८ वैशाख २०८१ शनिबार
समाज

मन्दिरको भेटीले शिक्षकलाई तलबदेखी रोजगारी सम्म

रात्रिकालिन समयमा सुपादेउराली मन्दिर। तस्विर : नागरिक

अर्घाखाँची- सन्धिखर्क नगरपालिकाको खाँचीकोटमा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिरलाई आस्थाको केन्द्र मानिन्छ। जहाँ विभिन्न ठाउँबाट दर्शन गर्न आउने दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ। सुपा देउराली मन्दिर समुद्र सतहदेखि करिब ४ हजार ५ सय फिटको उँचाइमा रहेको छ। बाइसे चौबिसे शाहवंशीय राजाहरुको पालामा निर्माण भएको यस मन्दिरमा २०४० सालदेखि नियमित पूजा अर्चना गर्न थालिएको हो।

अर्घाखाँची, गुल्मी र प्युठानका पायक पर्ने गाउँबाट कपिलवस्तुको पथ्थरकोटमा नुन बोक्ने ढाक्रे आवतजावत गर्दा सुपा देउरालीमै बास बस्थे।

पहाडको खेपीजस्तोमा देउता भेटिएपछि २०४० सालदेखि त्यहीं पूजा गर्न थालिएको थियो। नर्तनाञ्चल पहाडको बीचबाट सदरमुकाम जोडन पूर्वपश्चिम राजमार्गको गोरुसिंगे–सन्धिखर्क सडक निर्माण भएपछि पुजागर्ने ठाउँलाई तलबाट माथि बाटोको छेउमै सारियो। खाँचीकोट र नरपानीका स्थानीयवासिले कच्ची मन्दिर बनाए। सुपादेउरालीमा जे माग्यो त्यही पुरा हुने धार्मिक विश्वास रहँदै आएको छ।

बिसं २०६४ सालमा बाबा गुरुको नाममा चिनिने नरनारायणले करिब ३ करोडको लगानीमा आधुनिक मन्दिर बनाएपछि भक्तजनको आर्कषण थपियो र आम्दानी पनि तेब्बर भएको छ। यो मन्दिर निर्माण गर्दा प्राचीन निर्माण सामाग्री प्रयोग गरिएको छ।

भाकल गर्नेले इच्छा पुरा भएको भन्दै बोका, पाठी, परेवा र भेटी चढाउने गर्छन्। आजभोलि यस क्षेत्रलाई बुटवल, पाल्पा, दाङ, सल्यान, प्युठान, भैरहवा, कपिलवस्तु लगायत जिल्लाका विद्यार्थीले शैक्षिक भ्रमणको केन्द्र पनि बनाएका छन्।

रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान लगायत भारतका लुम्बिनी दर्शन गर्न पुगेका केही पर्यटक यहाँसम्म दर्शन गर्न आउँछन्। सरकारले घोषणा गरेका १ सय उत्कृष्ट गन्तव्य सुचीमा सुपा देउराली मन्दिर पनि रहेको छ।

मन्दिरको भेटिबाट शिक्षकलाई तलब
सुपादेउराली मन्दिरमा संकलन हुने भेटीले जिल्लाका दुई वटा स्कुलका शिक्षकको तलब धानेको छ। मनको इच्छा पुरा हुने विश्वासले मन्दिरको दर्शन गर्न आउने भक्तजनले पूजा गरेपछि भेटी चढाउँछन्। त्यही भेटीबाट बिगत सत्ताइस वर्षदेखि सन्धिखर्क नगरपालिका–७, खाँचीकोटको आर्दश माध्यामिक विद्यालय र शितगंगा नगरपालिका–२, सितापुरको शान्ति आधारभुत विद्यालयका गरी १० जना शिक्षकले तलब खाई रहेका छन्। आर्दश माविका ६ शिक्षकको लागि एक लाख र शान्ति आविका ४ शिक्षकको लागि ६२ हजार रुपैयाँ मासिक उपलब्ध गराउँदै आएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष प्रितम थापाले जानकारी दिए। ‘बार्षिक ४५ देखी ६० लाख रुपैयाँ जम्मा हुन्छ, समिती अध्यक्ष थापाले भने,‘ प्रचारप्रसार भएपछी भक्तजन वर्षेनी बढिरहेका छन्। भेटीको पैसा पनि बढेकाले सजिलो भएको छ।’

कुनै कुनै महिनामा ८ लाख सम्म भेटी उठ्ने गरेको मन्दिर व्यवस्थापन समितिका सदस्य प्रेमलाल थापाले बताए। उनका अनुसार प्रायः शनिबार भीडभाड हुने मन्दिरमा वैशाख, जेठ, असोज, कार्तिक र मंसिर महिनामा भक्तजनको घुँइचो हुन्छ। विसं २०५१ सालदेखीनै मन्दिरले विद्यालयलाई सहयोग रकम उपलब्ध गराउँदै आएको छ। आर्दश माविका प्रध्यानापक डिल्ली थापाले मन्दिरबाट पैसा आएपछि स्कुल सञ्चालन गर्न धेरै सहज भएको बताए। ‘मन्दिरबाट सहयोग नभएको भए कक्ष ९ र १० सञ्चालन गर्न संभव हुने थिएन, उनले भने,‘ ६ जना शिक्षकलाई तबल पुगेको छ।’  शान्तिमा दस शिक्षक मध्ये भेटीको पैसाले ४ जनालाई तलब दिन पुगेको छ।

मन्दिरको चहल–पहलले सयौं रोजगार
दर्शनार्थिको चहलपहलका कारण मन्दिर वरपर विभिन्न किसिमका व्यवसाय सञ्चालन भइरहेका छन्। मन्दिरमा भक्तजनको चहलपहल बढेसंगै सीतापुरदेखि नरपानीसम्म २ सय भन्दा व्यक्तिले व्यवसाय सञ्चालन गरिरहेका छन्। जसमध्ये फोटो स्टुडियो, पूजा सामग्री, मिष्ठान्न भन्डार तथा होटल व्यवासाय गरेकाहरुले राम्रै कमाइ गर्न सफल भएका छन्। सोही ठाउँमा पूजा सामाग्री पसल चलाउँदै आएका कपिलवस्तुका खिमलाल भुसाल पनि यसबाट सन्तुष्ट देखिन्छन्। ‘कमाई ठिकै छ, सन्तुष्ट नै छु’ उनले भने।

यस्तै अधिकांश दर्शनार्थीले पूजा सामाग्री लैजाने, मन्दिरको दृश्यसँगै फोटो खिचाउने र दर्शन पछी खाना खाने भएकाले त्यहाँका स्थानिय व्यापारिहरु राम्रै आम्दानी गर्न सफल छन्।

मन्दिरका पुजारीको आम्दनीको श्रोत
मन्दिर दर्शन गर्न आउने दर्शनार्थीले चढाएको भेटिबाट १८ जना पुजारीको परिवार पालिएका छन्। सन्धिखर्क र शितगंगाका १८ जना पुजारीले त्यहाँ काम गर्छन्। बिहान बेलुका आरती गर्न एक जना मुल पुजारी र बाँकी १७ जनाले भित्र बाहिर विभिन्न पुजन कार्य गर्ने गर्दछन्। एक दिनमा २ जनाको दरले त्यँहा पालो पर्छ।

‘ठिकै छ, गुजारा चलेकै छ, एक जना पुजारी राम प्रसाद भट्टराई भन्छन्,‘ ८–९ दिनमा एक दिन पालो पर्छ, त्यसैदिनको भेटीले निर्वाह गरेको छु।’ दानपेटिका बाहेकको पैसा त्यँहा पालो परेका पुजारीले बाँड्ने गरेका छन्। यस बाहेक उनीहरुले बलि चढाईने बोका र पाठीको टाउको बाटपनी राम्रै आम्दानी गरेका छन्। मन्दिरमा दैनिक औसतमा १८ देखी २२ वटा बली चढ्ने गर्छ। बली दिइएका बोका र पाठीको टाउको मन्दिरमै चढाउनु पर्ने प्रावधान छ।

मन्दिर सन्धिखर्क र शितगंगाको सीमानामा रहेकाले आम्दानी दुवै नगरपालिकाले बाँड्दै आएका छन्। अहिलेसम्म मन्दिरको आम्दानीले लाखौंको योजना सम्पन्न भएका छन्। भेटीको रकम सडक, खानेपानी, बिजुली, भवन निर्माण लगायतका काममा खर्च भइरहेको छ। सितापुरमा विजुली विस्तार, सितापुर–घुम्ती मोटरबाटो, देउराली–खर्‍यान–भुवनडाँडा मोटरबाटो, भूकम्प पीडितका लागि प्रधानमन्त्री राहत कोषमा १ लाख रुपैयाँ पठाएको लगायतका मुख्य काम आफुहरुले गरेको समितीका अध्यक्ष थापाले बताए।

यस स्थानको महिमा र महत्वबारे अझ बढी प्रचार गर्न सके थप रोजगार, आयआर्जन र पर्यटन व्यवसायको रुपमा विकास हुनेमा शंका छैन।


 
 

 

प्रकाशित: १८ कार्तिक २०७६ ०७:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App