८ वैशाख २०८१ शनिबार
खेल

एमसिसीको विजयी सुरुआत

काठमाडौ – लिगेसी टुरअन्तर्गत नेपाल भ्रमणमा रहेको विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले आइतबार विजयी सुरुआत गरेको छ।

भ्रमणको पहिलो खेलमा एमसिसीले नेपालको यु–१९ टोलीमाथि ३८ रनको जितसहित नेपाल भ्रमणमा सुखद सुरुआत गरेको हो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा एमसिसिीले प्रस्तुत गरेको ३ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९६ रन मात्र जोड्न सक्यो।

नेपालका लागि विकेटकिपर ब्याट्सम्यान हरिबहादुर चौहानले सर्वाधिक ५२ रनको योगदान गर्दा कप्तान तथा ओपनर रित गौतमले ४५ रन बनाएका थिए। पहिलो विकेटका लागि ओपनर रित र लोकेशबहादुर बमले ३.१ ओभरमा २७ रनको साझेदारी गर्दा नेपाललाई राम्रो सुरुआतको संकेत गरेका थिए। आक्रामक देखिएका लोकेशले १३ बलमा १८ रन बनाए।

चौथो ओभरको दोस्रो बलमा क्रिस राइटको बलमा यासिर अराफातबाट क्याच हुनुअघि लोकेशले चार चौका प्रहार गरेका थिए। तर, रितले दोस्रो विकेटका लागि खडकबहादुर बोहोरासँग ५६ रनको अर्धशतकीय साझेदारीका साथ नेपालको इनिङ उकासे। १९औं ओभरको अन्तिम बलमा रित पवेलियन फर्किएसँगै नेपालको रन गतिमा केही कमी आएको थियो।

ओभिलर हानोन डाल्बेको बलमा एड योङबाट क्याच हुनुअघि रितले ५८ बलमा ३ चौका र एक  छक्का प्रहार गरे। १४२–४ मा ब्याटिङका लागि आएका अरुण ऐरीसँग हरिबहादुरले पाँचौं विकेटका लागि ६१ रनको साझेदारी गर्दै नेपालको इनिङ उकास्ने प्रयास गरेका थिए। ४० बल खेलेका ऐरीले २ चौका र १ छक्का मद्दतबाट ३० रनको योगदान गर्दा हरिबहादुरले ६० बमा ५ चौका र १ छक्का प्रहार गरे।

त्यसपछि ब्याटिङका लागि आएका कुशल मल्ल र प्रतिश जिसीले भने सम्हालिएको प्रदर्शन गर्न सकेनन्। नवौं विकेटका लागि आकाश चन्द र शेर मल्लले ६० रनको साझेदारी गरे पनि त्यो नेपालको जितका लागि पर्याप्त बनेन। आकाशले २६ बलमा २ चौका र १ छक्का मद्दतबाट ३० रनको योगदान गर्दा शेर मल्ल २८ रनमा अविजित रहे। २४ बल खेलेका शेरको इनिङमा २ चौका समावेश थियो।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एमसिसीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३४ रनको विशाल योगफल खडा गरेको थियो। एमसिसीका विल्स रोड्सले सर्वाधिक ९३ रनको योगदान गर्दा टम बेट्ले र माइल्स हामोन्डले समान ६५ रनको योगदान गरे। नेपालका आकाश चन्द ३ विकेट लिँदा प्रतिश जिसी, सागर ढकाल र शेर मल्लले समान १ विकेट लिए।

नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुरअन्तर्गत एमसिसीको टोली नेपाल आएको हो। एमसिसीको टोलीले एक साता नेपालमा बिताउनेछ। एक साता बसाईमा एमसिसीको टोलीले नेपाली राष्ट्रिय टोलीसँग ट्वान्टी–२०, एकदिवसीय र प्रथम श्रेणी क्रिकेट खेल्ने तालिका रहेको छ। एमसिसीले सोमबार राष्ट्रिय टोलीसँग एकदिवसीय खेल खेल्नेछ।

भ्रमणको पहिलो खेलमा एमसिसीले नेपालको यु–१९ टोलीमाथि ३८ रनको जितसहित नेपाल भ्रमणमा सुखद सुरुआत गरेको छ। ३ सय ३५ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९६ रन मात्र जोड्न सक्यो।

 

प्रकाशित: १८ कार्तिक २०७६ ०६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App