७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अल्जेरियाको राष्ट्रपतीय निर्वाचनमा पाँच उम्मेदवार

अल्जियर्स (एजेन्सी)– अल्जेरियामा राष्ट्रपति पदका लागि हुने निर्वाचनमा दुई जना पूर्वप्रधानमन्त्रीसहित पाँच जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ। आमजनताको विरोधका कारण राष्ट्रपति अब्देलाजिज बौतेफ्लिकाले राजीनामा गरेपछि राष्ट्रपति पद रिक्त छ।

अल्जेरियाली चुनाव आयोगका प्रमुख मोहमद चार्फीले राष्ट्रपति पदका लागि २३ जनाले उम्मेदवारी दिएको तर तीमध्ये पाँच जनामात्र योग्य रहेको जानकारी दिएका छन्। संविधानअनुसार निर्वाचन आयोगले टुङ्ग्याएको नामलाई अन्तिम स्वीकृतिका लागि संवैधानिक परिषद् समक्ष प्रस्तुत गरिनेछ। चुनावी सर्वेक्षणका अनुसार पूर्व प्रधानमन्त्रीहरु अलि बेनफ्लिस र अब्देलमाजिद टेब्बोन भने अग्रपङ्क्तिमा रहेका छन्। करिब २० वर्ष शासन गरेका निर्वतमान राष्ट्रपति बौतेफ्लिकाविरुद्ध अल्जेरियाली जनताले तीव्र विरोध गरेपछि सेनाको दबाबमा उनले गत अप्रिलमा राजीनामा दिएका थिए।

राष्ट्रपति पदका लागि अन्य उम्मेदवारहरुमा बौतेफ्लिकाको सत्तारुढ गठबन्धनको डेमोक्र्याटिक नेसनल -याली पार्टीका नेता अजेडाइन मिलहौबी, पूर्व पर्यटनमन्त्री अब्देलकादेर बेनग्रिना र फ्रन्ट एल–मुस्तकाबेल पार्टीका अध्यक्ष अब्देलाजिज बेलाइद रहेका छन्।  अधिकारकर्मीले भने निर्वाचनसँग सम्बन्धित कानुनमा व्यापक सुधार गर्नुपर्ने माग गरिरहेका छन्।

अल्जेरियामा गत जुलाई ४ का लागि निर्वाचनको मिति तोकिएको थियो तर योग्य उम्मेदवारको अभाव देखाउँदै निर्वाचन नभएपछि अन्तरिम राष्ट्रपति अब्देलकादेर बेनसालाह सत्तामा रहँदै आएका छन्। आमजनताले अन्तरिम राष्ट्रपतिले जानाजान राष्ट्रपतिको निर्वाचन गर्न ढिलाइ गरेको आरोप लगाउँदै फेरि प्रदर्शन गरिरहेका छन्। सरकारले आगामी डिसेम्बर १२ मा निर्वाचन गर्नेगरी नयाँ मिति घोषणा गरेको छ। निर्वाचन कानुनमा सुधार नहुने अवस्थामा गरिएको चुनावले पनि अल्जेरियामा राजनीतिक स्थिरता नल्याउने भन्दै विरोध जारी छ।

प्रकाशित: १८ कार्तिक २०७६ ०५:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App