coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

कात्तिक नाचको रौनक

काठमाडौं – साँझको बेला मञ्चन गरिने ऐतिहासिक कात्तिक नाचले पाटन दरबार क्षेत्रमा रौनकता थपेको छ। साँझ पर्नेबित्तिकै सुरु हुने नाच हेर्न विदेशी पयर्टक बढी आर्कषित देखिएका छन्। नाच मञ्चन गर्दा भगवानको भेषमा पात्र प्रयोग गरिन्छ। त्यसरी सजिएका भगवानरूपी पात्रले कम्मर मर्काउन थाल्छन्। यो दृश्य हेर्न आउनेहरूले डबली भरिभराउ हुन्छ।

श्ुाक्रबारदेखि सुरु भएको नाचको पहिलो दिन ‘सुदामा प्याखँ नाच’ मञ्चन गरिएको थियो। यस नाचमा भगवान श्रीकृष्ण र उनको मिल्ने साथी सुदामाको बाल्यकालीन अवस्थालाई चित्रण गरिएको थियो। कात्तिक नाच संरक्षण समितिले तयार पारेको कथा अनुसार सुदामा र श्रीकृष्ण बाल्यकालदेखिका मिल्ने साथी हुन्। उनीहरूलाई एउटै गुरुले पढाउँछन्।

एकदिन पढ्न गएको बेला कुटीमा बसेकी गुरुआमाले उनीहरूलाई दाउरा टिप्न पठाउँछिन्। उनीहरू खुरुखुरु जंगल जान्छन्। जंगल गएपछि सुदामा हराउँछन्। एक्लै भएपछि श्रीकृष्ण घर फर्कन्छन्। धेरै दिनको अन्तरालमा सुदामा दरिद्रको रूपमा गुरुकहाँ पुग्छन्। त्यसपछि गुरुआमा छक्क पर्छिन् र कृष्णलाई बोलाएर बाल्यकालदेखिको साथी भनेर सम्झाउँछिन्। श्रीकृष्णले अतीत याद गर्छन्। अन्तमा आफ्नो साथी सुदामा भएको पत्तो पाउँछन्।

समिति अध्यक्ष किरण चित्रकारले ऐतिहासिक नाचको कथा लिखित रूपमै रहेकाले त्यसलाई ध्यान दिएर मञ्चन गरिएको जानकारी दिए। ‘पहिलो दिन देखाइने नाचमा हामीले रोचक प्रसंगसँग जोडिएको नाचलाई रोज्छौँ, दोस्रो दिन देखाइएको ‘सुरदास प्याखँ’ पनि भगवानकै कथामा आधारित छ, ’ चित्रकारले भने, ‘कात्तिक नाचमा समेटिएका सबैजसो कथाले देवी–देवताको पालाको तत्कालीन समाज र उनीहरूको अवस्थालाई चित्रण गरेको छ।’

हरेक वर्ष कात्तिक महिनामा मञ्चन गरिने यस नाचमा रोचक कथा समावेश हुन्छन्। पौराणिक कथावस्तुमा आधारित नाचलाई कलाकारद्वारा मञ्चन गरिन्छ। कात्तिक २६ गते सकिने नाचमा १२ वटा ऐतिहासिक नाच समावेश छन्। तालिका अनुसार १६ गते ‘भक्त सुरदास प्याखँ’ देखाइयो। १७ गते बाथः प्याखँभित्रका माकसी मियेगु, १८ गते सोही नाचभित्रको तिखिकाँ, छ्योँ, ध्वग्गी र सति बनेगु प्रस्तुत गरिनेछ। १९ गते वाथः प्याखँ अन्र्तगतकै रोचक प्रसंग र देवीदेवताका उच्छृंखल स्वभाव समेटिएको (महामूर्ख) नाच मञ्चन हुनेछ। यो नाच यस वर्ष तीन दिनसम्म मञ्चन गर्ने तयारी समितिले गरेको छ।

त्यस्तै, कात्तिक २० गते युद्ध कला, २१ गते देवी नृत्य, २२ गते जलशयण, २३ गते वराह अवतार, २४ गते नृसिंह अवतार, २५ गते वस्त्रहरण लीला र २६ गते दधि लिला प्रस्तुत गरिने छ।

१२ दिनसम्म चल्ने कात्तिक नाचका लागि सय कलाकारको टिम तयार पारिएको छ। शृंगारमा आधारित नाच भएकाले सबैभन्दा बढी कलाकार आवश्यक हुने समितिले जनाएको छ। ‘आर्थिक र श्रमका हिसाबले पनि यो नाच निकै खर्चिलो छ, ठूलो टिम तयार पारेर धेरै दिनसम्म प्रदर्शन गर्न कठिन हुन्छ,’ चित्रकारले भने, ‘तर, सरोकारवाला निकायले यति महत्वपूर्ण नाच सञ्चालनका लागि त्यति सहयोग गरेका छैनन्।’

उनका अनुसार कात्तिक नाचको पूरा प्रसंग र कथाहरू सञ्चालन गर्न १५ लाखभन्दा बढी रकमको खाँचो पर्छ। तर, यो वर्ष ललितपुर महानगरले चार लाख मात्रै आर्थिक सहयोग गरेको छ। समितिले कम रकममा सामान्य तयारी गरेर भए पनि नाच प्रस्तुत गर्दै आइरहेको छ। ‘पहिले–पहिले धेरै नाच देखाइथ्यो, अहिले आर्थिक अभावमा धेरै नाच हराइसके,’ समिति अध्यक्ष किरण चित्रकारले भने।

राजा सिद्धिनरसिंह मल्लले सुरु गरेको यो नाच तीन सय ७६ वर्ष पुरानो मानिन्छ। सयौं वर्ष पुरानो भएकाले पनि युवा पुस्ताले यसलाई निकै अनौठो तरिकाले अवलोकन गरिरहेका हुन्छन्। देशमा विघ्न–बाधा नआओस्, शान्ति सुव्यवस्था कायम होस् र जनता सुखी होऊन् भन्ने हेतुले नाच सुरु गरेको किंवदन्ती छ।

संस्कृतिविद् हरिराम जोशीका अनुसार राजा सिद्धिनरसिंह मल्लका पालामा ललितपुरका बासिन्दा जोस–जाँगररहित भएपछि सिद्धिनरसिंहले ज्योतिषीसँग सल्लाह लिएका थिए। जोतिषीले राज्यमा ‘मघाह’ दोष परेकाले राज्य सञ्चालन कठिन हुन पुगेको बताए। दोष निवारण गर्न ज्योतिषले नरबलि दिन सुझाए। त्यसैबमोजिम राजाले नरबलि दिएपछि ललितपुरवासीमा जोस आयो। पछि सिद्धिनरसिंहले नरबलि अनुचित ठहर गर्दै मुकुट र हिरण्य पात्र बनाई कार्तिक नाच सुरु गरे। त्यसकारण अल्छी जनतालाई जगाउन राजाले यो नाच सुरु गरेको किंवदन्ती छ।
भगवानमा चरित्रमा ‘नृसिंह अवतार’

कात्तिक नाचभित्र समावेश रहेको नृसिंह अवतार नाच पनि चर्चित मानिन्छ। यस नाचमा भगवान विष्णु, ऋषिमुनि र दैत्य–दानवको उपस्थिति हुन्छ। कथा अनुसार दानव, ऋषिमुनि र भगवान विष्णु एकै स्थानमा भेला भइसकेपछि हिरण्यकश्यपुको छोरा प्रह्लादलाई पढाउन ऋषिमुनिको जिम्मा लगाउने निर्णय हुन्छ। निर्णयपश्चात् प्रह्लादलाई ऋषिमुनिको जिम्मा लगाइन्छ र उनीहरूले अध्यापन गराउन प्रह्लादलाई आफ्ना आश्रम लैजान्छन्। यो नाच नेपाल संवत ६७१ मा राजा सिंद्धिनरसिंह मल्लले सुरु गरेका थिए। अध्यक्ष चित्रकारका अनुसार यो नाच देवी देवता र दानवहरूबीचको सम्बन्धसँग सम्बन्धित छ।

श्रीकृष्णको लीलामा आधारित दधि लीला
ऐतिहासिक कात्तिक नाचमा समावेश दधि लीला नाच अन्य नाचभन्दा अलि भिन्न छ। यो नाच श्रीकृष्ण लीलामा आधारित छ। नाचमा भगवान श्रीकृष्णले युवावस्थामा गरेका लीला र उपध्रोलाई प्रस्तुत गरिन्छ। गत वर्षदेखि ३५ वर्षको अन्तरालमा ‘दधि लीला’ नाच देखाउन थालिएको हो।

समितिका अध्यक्ष किरण चित्रकारका अनुसार यस नाचमा कृष्ण युवा अवस्थामा हुँदा गोपिनीसँग जिस्कने र नजिकिने गरेको प्रसंगलाई रोचक तरिकाले मञ्चन गरिन्छ। कथा अनुसार एक दिन गोपिनीहरू दही लिन जाँदा बाटोमा कृष्णसँग जम्काभेट हुन्छ र कृष्णले गोपिनीलाई जिस्काउन थाल्छन्। त्यस क्रममा गोपिनीहरू जमुना नदी तर्न सक्दैनन्। नदीको छेउमा डुंगा लिएर कृष्ण भगवान बसेका हुन्छन्।

उनीहरू नदी तार्न कृष्णलाई गुहार्छन्। गोपिनीले नदी तार्न कृष्णसँग हारगुहार गरेपछि कृष्णले ज्याला माग्छन्। तर, ज्याला दिन गोपिनीसँग केही हुँदैन। त्यसपछि कृष्णले तिमीहरूसँग जे छ त्यै देउ भन्छन्। गोपिनीहरू त्यसमा राजी हुन्छन् र कृष्णले नदी तारिदिन्छन्। नदी तारिसकेपछि गोपिनीहरूले कृष्णलाई दही लिएर फर्कंदा ज्याला दिने विश्वास दिलाउँछन् र दही लिन अढाई भन्ने स्थानमा पुग्छन्।

उनीहरू दही लिएर फर्कंदा फेरि यमुनाका किनारमा पुग्छन्, जहाँ कृष्ण ढुुंगा तयार पारेर बसेका हुन्छन्। कृष्णले आफूलाई गोपिनीहरूले केही नदिउन्जेल नदी नतार्ने जिद्दी गर्छन्। गोपिनीहरू कसै गरे पनि कृष्णलाई दही दिन मान्दैनन्। कृष्ण र गोपिनीबीच दही खोसाखोस हुन्छ। खोसाखोसमा कृष्णले दहीको कहतारो फुटाइदिन्छन्। कहतारो फुटाएपछि कृष्णलाई सबै गोपिनीले घेर्छन् र जिस्काउँछन्। गोपिनीले केहीबेर कृष्णलाई जिस्काएपछि अन्त्यमा दुवै पक्षबीच मेलमिलाप हुन्छ। त्यसपछि कथा टुंगिन्छ।

प्रकाशित: १८ कार्तिक २०७६ ०४:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App