coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पोखरामा सुरुङ इन्जिनियरिङ

पोखरा – पोखरामा सुरुङ (टनेल) इन्जिनियरिङ विषयको अध्यापन सुरु गरिने भएको छ। पोखरा लामाचौरमा रहेको पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थानले चट्टान सुरुङ इन्जिनियरिङ विषयको अध्यापन सुरु गर्ने तयारी गरेको हो। स्नातकोत्तर तहमा अध्यापन गर्ने तयारी स्वरूप पाठ्यक्रम तयार गर्न सुरु गरिएको छ।

सुरुङ इन्जिनियरिङ विषयको अध्यापन सुरु भए यो विषय नेपालमै पहिलो हुनेछ। नेपालमा ब्याचलर अफ सिभिल इन्जिनियरिङको कोर्समा टनेल इन्जिनियरिङ विषय अध्यापन हुने भए पनि स्नातकोत्तर तहमा पहिलो हो।

गण्डकी प्रदेश सरकार र नर्वेको युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी (एनटिएनयू) विश्वविद्यालयको सहयोगमा आगामी शैक्षिक सत्रदेखि अध्यापन गर्ने तयारी गरिएको पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थान लामाचौर पोखराका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए। चट्टान सुरुङ इन्जिनियरिङ विषय अध्यापनका लागि पाठ्यक्रमसमेत तयार पारिसकिएको उनले बताए।

पाठ्यक्रम तयार गर्नका लागि क्याम्पसले विज्ञ टोलीसँग छलफल गरिरहेको छ। क्याम्पसले शुक्रबार र शनिबार दुई दिन यस विषयमा विशेषज्ञता हासिल गरेका प्राज्ञ र वैज्ञानिकको सम्मेलन आयोजना गरी सुझाव लिएको छ। सोही सुझावका आधारमा पाठ्यक्रमको ढाँचा तयार गरिएको र यसलाई अन्तिम रूप दिने तयारी भइरहेको क्याम्पस प्रमुख पौडेलले बताए। प्रस्तावित पाठ्यक्रममा भौगोलिक अवस्थाको अन्वेषण, टनेल डिजाइन, कन्स्ट्रक्सन, सञ्चालन, मर्मत तथा सुरक्षालगायत परिच्छेद समेटिएको बताइन्छ। तयार पारिएको ढाँचालाई क्याम्पसले स्वीकृत गरिसकेकाले पठनपाठनका लागि बाटो खुला भएको इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत सिभिल इन्जिनियरिङ विषय समितिका संयोजक प्राध्यापक डाक्टर नरेन्द्रमान शाक्यले बताए।

शाक्यका अनुसार प्रारम्भमा पोखरासहित काठमाडौँको पुलचोक इन्जिनियरिङ क्याम्पसमा पहिलो ब्याचमा २०÷२० जना विद्यार्थी राखेर टनेल इन्जिनियरिङ विषय अध्यापन गराइनेछ। एनटिएनयूका प्राडा कृष्णकान्त पन्थीले आफूहरुले इन्जिनियरिङ अध्ययन संस्थानसँग सहकार्य गरेर कार्यक्रम अघि बढाउन चाहेको र त्यसका लागि पाठ्यक्रम निर्माण, कक्षा तथा प्रयोगशाला स्थापनालगायत पक्षमा सहयोग गरिने बताए।

पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थानका प्रमुख पौडेलले सुरुङ इन्जिनियरिङको अध्यापन देशका लागि आवश्यक भएको बताउँदै नेपालमै आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यले यो विषय अध्यापन गर्ने तयारी गरिएको बताए। सुरुङ मार्ग निर्माणलाई सरकारले प्राथमिकताका साथ अघि सारे पनि देशभित्र यसका लागि आवश्यक जनशक्तिको अभाव देखिएकाले यो विषय रोजिएको उनको भनाइ छ।

गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा टनेल इन्जिनियरिङ विषय अध्यापनका लागि पाठ्यक्रम तयार गर्ने उद्देश्यले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। सो बजेटबाटै सुरुङ इन्जिनियरिङ विषय अध्यापनका लागि सहयोग गरिने बताइएको छ।

प्रकाशित: १८ कार्तिक २०७६ ०४:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App