coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्कुल पढ्दै आमाहरू

काठमाडौं – ‘रमाको घरमा भँगेराको गुँड थियो। गुँडमा भँगेराका बच्चा पनि थिए...।५८ वर्षीया रमा भारद्धाज कक्षाकोठामा पढाउँदैछिन्। नेपाली विषयको ‘माउ र बचेरा’ शीर्षकको पाठमा उनीसँगै स्वर मिलाउँदैछन् कक्षाकोठाका १६ विद्यार्थी।

‘छोटो खालको प्रश्नमा तपाईहरूलाई यो कुरा सोध्न सक्छ है, अलि ध्यान दिनुस्।’ पढाउँदै गर्दा रमाले विद्यार्थीको ध्यानाकर्षण गरिन्। र, केही समयपछि विद्यार्थीलाई पाठ पढ्न लगाइन्। गोमा जिसीले पढ्न सुरु गरिन्। र, अरुले स्वरमा स्वर मिलाए।

ललितपुरको सातदोबाटोस्थित प्रेरणा महिला माध्यमिक विद्यालयको कक्षा १ मा पुग्दा देखिएको दृश्य हो यो। रमाले पढाउने विद्यार्थी स–साना बालबालिका भने होइनन्, पाका उमेरका महिला हुन्।

प्रेरणा महिला माध्यमिक विद्यालय आमाहरूकै विद्यालय हो भन्दा हुन्छ। करिब ६ सय महिला पढ्ने यो विद्यालयका अधिकांश विद्यार्थी पाका उमेरका छन्। ती विद्यार्थी चस्मा लगाएर पुस्तकमा ध्यान दिइरहेका भेटिन्छन्।

त्यही कक्षामा पढ्दै गरेकी ५५ वर्षीया भेषकुमारी डंगोल साउन २ गते स्कुल भर्ना भएकी हुन्। घरमा नातिनातिना खेलाउँदै दिन बिताइरहेकी उनी आफ्नै उमेरका साथीले पढ्दैछन् भन्ने थाहा पाएपछि विद्यालय भर्ना भएकी हुन्। त्यसपछि उनी निरन्तर विद्यालय आउन थालेकी हुन्। विद्यालय आएपछि अहिले अक्षर चिन्न सक्ने भएको उनी बताउँछिन्। ‘अहिले घरमा आएका निमन्त्रणा कार्ड पढ्न र फोन डायल गर्न सजिलो भएको छ,’ उनले खुसी व्यक्त गरिन्, ‘मैलै पढेको देख्दा घरमा सबै खुसी छन्।’

गत वैशाखमा कक्षा १ मा भर्ना भएकी ५० वर्षीया शोभा सञ्जेललाई स्कुल जानुअघि अंग्रेजी वर्ण (ए बी सी डी...)बारे जानकारी थिएन। पढ्न थालेपछि उनी अहिले सरर्र ए बी सी डी... भन्न र लेख्न सक्छिन्। आफूलाई अंग्रेजी विषयप्रति रुचि भएकाले विद्यालय आउन थालेको उनी बताउँछिन्। छोराले आफूलाई पढाइमा सहयोग गरेको उनको भनाइ छ। ‘मेरो ६ वर्षको नाति छ, उसको र मेरो पाठ्यक्रम मिल्छ,’ शोभाले हाँस्दै नाति सम्झिइन्, ‘म सर हो, हजुर विद्यार्थी हो भनेर जिस्काउँदै पढाउँछ।’ घरमा खाली बस्नुभन्दा अक्षर चिन्नका लागि विद्यालय भर्ना भएको उनले बताइन्।

ललितपुरको इमाडोलमा बस्दै आएकी ५५ वर्षीया शोभा थापालाई पाँच वर्षअघि स्कुल पढ्न जाँदा ‘मर्ने बेलामा हरियो काँक्रो’ भन्दै थुप्रैले व्यंग्य गर्थे। तर, उनले त्यसलाई परवाह गरिनन्। र, पढाइलाई निरन्तरता दिइन्। फलस्वरूप उनी पाँच वर्षदेखि लगातार कक्षामा पहिलो भइरहेकी छन्। उनी कक्षा ७ की प्रथम विद्यार्थी हुन्। पढाईमा अब्बल भएकाले नै उनी कक्षा १ पास गरेर कक्षा ३ पढ्न पाइन्।

उनी आफ्नो सम्पूर्ण घरधन्दा सकेर विद्यालय जान्छिन्। पढ्न पाउनु गौरव भएको उनी बताउँछिन्। सानै उमेरदेखिको पढ्ने रहर ५० वर्ष कटेपछि भएकोमा उनी खुसी देखिन्छन्। ‘म स्कुल गएको देख्दा दिदीबहिनीले स्कुल गएर के गर्छाैं भनिरहन्थे,’ पाँच वर्षअघिका दिन पल्टाउँदै शोभा भन्छिन्, ‘म पढ्ने रहर पूरा गर्न विद्यालय जान्छु भन्ने जवाफ फर्काउँथे।’

गणित विषय मनपरे पनि अंग्रेजी विषय भने बुझ्न अलि गाह्रो हुने उनी बताउँछिन्। तर, मेहनत र आँट ग¥यो भने पढाइमा सफलता पाइने उनको अनुभव छ। विद्यालय जानुअघि उनको दिउँसो सुत्ने बानी थियो। तर, अहिले उनको त्यो बानी छैन। ‘बिहान–बेलुका काम त अहिले पनि उति नै छ। तर, दिउँसो निद्रा लाग्दैन। पढ्न त सकिने रहेछ,’ उनले भनिन्।

पढ्न चाहेर पनि उमेरमा पढ्न नपाएकोमा उनलाई गुनासो छ। ‘छोरी भएर जन्मेकोमा होइन, पढ्न नपाएकोमा मलाई पछुतो छ,’ शोभाले अनुहार मलिन बनाइन्। कक्षा ७ देखि १० सम्म अर्थशास्त्र विषय पढाउँदै आएका शिक्षक शंम्भुप्रसाद अर्याल भन्छन्, ‘आमाहरूले व्यवहारिक विषय छिटो बुझ्नुहुन्छ। तर, अंग्रेजी, गणित र विज्ञान विषय बुझाउन गाह्रो नै पर्छ।’

पढाउने क्रममा गृहकार्य थोरै तर कक्षाकार्य धेरै दिएर पढाउने गरेको उनको भनाइ छ। पाठ्यक्रम बालमनोविज्ञानमा बनेको तर पढाउँदा प्रौढ मनोविज्ञानमा आधारित भएर फरक तरिकाले पढाउनुपर्ने शिक्षकका लागि समस्याको विषय भएको शिक्षक ढुंगेल बताउँछन्। विद्यालयमा प्रौढ मनोविज्ञान आवश्यक हुनाले पाठ्यक्रम परिर्वतन र सरकारको सहयोगको खाँचो रहको उनको बुझाइ छ।

१५ वर्षदेखि नेपाली, विज्ञान, स्वास्थ्यलगायत विषय पढाउँदै आएकी शिक्षिका रमा भारद्धाज उमेर बढी भएका आमाले किताब रट्न नसक्ने र पढेको कुरा छिटो बिर्सने गरेको बताउँछिन्। सामान्य कुरा आमाहरूलाई बढी थाहा हुने उनको भनाइ छ। २०५५ सालमा स्थापना भएको यो विद्यालय हरेक उमेर समूहका महिलालाई पढाउने पहिलो विद्यालय हो। अहिले यस्ता विद्यालय देशभर एक सय ९९ छन्।

विद्यालयबाट २०५९ सालमा पहिलो पटक एसएलसीमा (अहिलेको एसइई) सहभागी गराइएको थियो। विद्यालयबाट हालसम्म पाँच सय ५० विद्यार्थीले एसएलसी उत्तीर्ण गरेको विद्यालयमा रेकर्ड छ। २०६३ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेकी मोनिका राईले हाल आमसञ्चार विषयबाट पिएचडी गरेको विद्यालयले जनाएको छ। विद्यालयमा स्नातकोत्तर पूरा गरेका ३३ शिक्षक–शिक्षिकाले पठनपाठन गराउँदै आएका छन्। २५ महिला आमाबाट पठनपाठन सुरु भएको विद्यालय महिलाका लागि प्रेरणाको स्रोत बनेको छ।

प्रकाशित: १८ कार्तिक २०७६ ०४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App