७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

ट्रम्प निर्णयमा न्यायाधीशको अकुंश

डोनाल्ड ट्रम्प

वासिङ्टन (बिबिसी) – आप्रवासीलाई लिएर अमेरिकी राष्ट्रपतिले ल्याएको स्वास्थ्य बीमासम्बन्धी नियमलाई एक अमेरिकी न्यायाधीशले अस्थायी रूपमा रोकिदिएका छन्।

ट्रम्पले प्रस्ताव गरेको नयाँ नियमअनुसार सम्पूर्ण आप्रवासीले अमेरिका प्रवेश गरेको ३० दिनभित्र स्वास्थ्य बीमा हुन्छ भनेर पुष्टि गर्न आवश्यक थियो वा स्वास्थ्य हेरचाहका लागि खर्च उठाउन सक्छु भनेर प्रमाणित गर्न बाध्यकारी हुने थियो।

तर राष्ट्रपति ट्रम्पले ल्याउन लागेको सो प्रस्तावमाथि अरेगनस्थित एक जिल्ला न्यायाधीश माइकल साइमनले प्रारम्भिक निषेधाज्ञा जारी गरेका छन्।

सात अमेरिकी नागरिक र एउटा गैरसरकारी संस्थाले राष्ट्रपति ट्रम्पको प्रस्तावित नियमविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए। उनीहरुले ट्रम्पको प्रस्तावित कानुनले हजारौं कानुनी अप्रवासीलाई अमेरिका प्रवेश गर्न बन्देज गर्ने जिकिर गरेका थिए। उनीहरुले सरकारले ल्याउन लागेको कानुन लागू भयो भने त्यसले पारिवारिक प्रायोजनमा अमेरिका प्रवेश गर्ने कैयौं आप्रवासीको संख्यामा गिरावट आउने वा त्यस्ता व्यक्तिको संख्या हट्न सक्ने भन्दै सो मुद्दा दायर गरेका थिए।

ट्रम्पले प्रस्ताव गरेको नयाँ नियमअनुसार सम्पूर्ण आप्रवासीले अमेरिका प्रवेश गरेको ३० दिनभित्र स्वास्थ्य बीमा हुन्छ भनेर पुष्टि गर्न वा स्वास्थ्य हेरचाहका लागि खर्च उठाउन सक्छु भनेर प्रमाणित गर्न बाध्यकारी हुने थियो।

अमेरिकाभर लागू हुने यस प्रतिबन्धका कारण आप्रवासीका परिवारमाथि हुने सम्भावित क्षतिलाई रोक्ने पनि यो निषेधाज्ञा जारी गरिएको न्यायाधीश साइमनलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

‘सरकारको यो कानुनले आप्रवासीहरु आफ्ना परिवारका सदस्यबाट अलग हुने सम्भावित जोखिम र परिवारका सदस्यलाई भिसा लिनमा ढिलाइ हुनुसक्ने क्षति देखिएको छ,’ न्यायाधीश साइमनको कानुनी आदेशमा उल्लेख गरिएको छ।

आप्रवासीहरुले अमेरिकामा आफैं संघर्ष गर्न पर्ने भएकाले उनीहरुले बीमालाई धान्न निकै असहज हुने विश्लेषकहरु बताउँछन्। अमेरिकी स्वास्थ्योपचारको व्यवस्था अति नै जटिल छ र यसले अमेरिका आउँदै गरेका मानिसलाई समेट्न सक्दैन।  पछिल्लो नीति परिवार केन्द्रित अध्यागमन प्रणालीबाट अमेरिकालाई पर राख्न राष्ट्रपति ट्रम्पले ल्याएको प्रयासको एक हिस्सा भएको बताइएको छ।

न्यायाधीश साइमनले ट्रम्पले ल्याउन लागेको नयाँ नियम रोक्न दिएको २८ दिने अस्थायी आदेश संयमित आदेश भएको विश्लेषकहरुले बताएका छन्।

यस आदेशले आगामी नोभेम्बर ३ देखि लागू हुने नियमलाई रोक्नेछ, यद्यपि कानुनी लडाइँ भने जारी नै रहन सक्ने बताइएको छ।

अमेरिकी नागरिकभन्दा तीनगुणा बढी कानुनी आप्रवासीसँग स्वास्थ्य बीमा नभएको ट्रम्प प्रशासनको जिकिर रहँदै आएको छ। ट्रम्प प्रशासनले कर तिर्ने व्यक्तिले स्वास्थ्य खर्च बेहोर्न नहुने तर्क अघि सार्दै आइरहेको छ। यद्यपि अमेरिकी नीति विज्ञहरुको भनाइ भने ट्रम्प प्रशासनको भन्दा फरक छ। उनीहरुका अनुसार अमेरिकी नागरिकको तुलनामा आप्रवासीहरुले कम मात्रामा स्वास्थ्य सेवा प्रणालीको प्रयोग गर्न सक्ने सम्भावना रहेको छ।

प्रकाशित: १८ कार्तिक २०७६ ०४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App