coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जुवा खेल्दै, सम्पत्ति रित्याउँदै

काठमाडौं – ‘नखेल्नु है जुवा र तास, धनको नास, जीवनको वनबास।’
नेपाली समाजमा बेलावखत प्रयोग गरिने उखान हो यो। जुवातास खेल्दा पैसा र इज्जतको नास हुने भएकाले उहिलेदेखि नै बूढापाकाले जुवा खेल्नुलाई विकृतिको रूपमा लिँदै आएका थिए।

पोखरा पृथ्वीचोकमा सुनिल (नाम परिवर्तन)को जीवनसँग भने यो उखान मेल खाएको छ। उनले जुवा खेलेरै आफूसँग भएको सम्पत्ति स्वाहा पारेका छन्। उनले गत दसैंमा जुवाखालबाट दुईवटा गाडी र पाँचतोला सुन हारे। त्यसपछि परिवारसँग उनको सम्बन्ध टुट्यो। र, उनी काठमाडौं डेरामा बस्न थाले। परिवारका सदस्यलेले सोधिखोजी गर्दा जुवामा हारेर काठमाडौं डेरामा बस्न थालेको पत्ता लाग्यो। र, उनी प्रहरीको सहायतामा सुन्धाराको एक होटलमा युवतीसँग बसेको अवस्थामा फेला परे।

सुनिलले आफूसँगको पैसा र दुई गाडी जुवामा हारेको थाहापछि पत्नी सुनिता (नाम परिवर्तन)ले छोडपत्र मागिन्। तर, सुनिलले छोडपत्र दिन मानेनन्। बरु, जुवातास नखेल्ने कसम खाए। तर, सुनिलको बानी सुध्रिएन। यसपालि दसैंमा उनले फेरि जुवा खेले। यसपालिको दसैंमा उनी जुवातास खेल्न पोखराबाट ललितपुर पुगे। र, आफूसँग भएको सुन र पैसा सके। जुवामा हारेर घरसमेत लिलाम गरे। त्यसपछि सुनिताले जिल्ला प्रहरी कार्यालय, कास्की पतिविरुद्ध उजुरी दिइन्। र, प्रहरीले सुनिललाई पक्रियो र कारबाही अघि बढायो।

सातदोबाटोका राकेश (नाम परिवर्तन)ले पनि गत वैशाखमा जुवा खेलेर सवारीसाधन हारेका थिए। यसबारे परिवारका सदस्यले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले घटनाको पुष्टि गरेको थियो। पछिल्लो समय जुवातास खेलेर सम्पत्ति स्वाहा पारेको उजुरी पर्ने गरेको प्रहरी बताउँछ। महानगरीय प्रहरी परिसर, जावलाखेलका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले जुवातासबाट कतिपय परिवारको विचल्ली हुने गरेको बताउँछन्। ‘जुवाको ठूलो खालमा खेल्नेहरूमध्ये कतिपयले छिनभरमै आफूसँग भएको सम्पत्ति हार्छन्,’ उनले भने।

परिवारका सदस्यबाट भने जुवाखालमा सम्पत्ति हारेको उजुरी फाट्टफुट्ट मात्रै पर्ने गरेको उनी बताउँछन्। प्रहरीले कारवाही गर्न खोज्दा परिवारका सदस्यले नै जोगाउने गरेको उनको भनाइ छ। ‘कतिपयले लाजले प्रहरीकहाँ उजुरी दिन आउँदैनन्,’ उनले भने।

धनाढ्य व्यक्तिले सम्पत्ति नै रित्याउने गरी जुवा खेल्ने गरेको उनले बताए। उनका अनुसार पाँच वर्षअघि काठमाडौंको बालाजुका वीरेन्द्र श्रेष्ठले जुवाखालमा घर, गाडीलगायत सम्पत्ति हारेका थिए। त्यसपछि उनले छोरी ख्यातिको हत्या गरेका थिए। अहिले उनी थुनामा छन्। प्रहरीका अनुसार क्यासिनो जुवाको अखडा बन्ने गरेको छ। बाजी मार्ने होडमा धनी वर्गका मानिस क्यासिनोमा जुवा खेल्ने गरेका छन्।

 

प्रकाशित: १८ कार्तिक २०७६ ०४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App