coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

उपनिर्वाचनमा २ लाख ३३ हजार मतदाता

काठमाडौं - निर्वाचन आयोगले आगामी मंसिर १४ गते प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन हुने चार जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। आयोगले आइतबार प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुने कास्की र प्रदेशसभाको उपनिर्वाचन हुने बाग्लुङ, भक्तपुर र दाङ जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालयको स्थापना गरेको हो।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमका अनुसार स्थानीय तहको उपनिर्वाचन हुने ३३ जिल्लामा भने आगामी बुधवार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ। २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनपछि विभिन्न कारणले रिक्त भएका विभिन्न ५२ पदमा आगामी मंसिर १४ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ। जसमध्ये प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, उपमहानगरपालिकाको प्रमुख १, गाउँपालिकाको अध्यक्ष ३, गाउँपालिकाको उपाध्यक्ष १, वडाअध्यक्ष ४३ छन्।

यसअघि आयोगका कात्तिक ३ गतेको बैठकले न्यायपरिषद्को परामर्शमा ३७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरिसकेको छ।

आयोगका अनुसार उपनिर्वाचनमा २ लाख ३३ हजार ४ सय २ जना मतदाता रहेका छन्। जसमध्ये पुरुष २ लाख २० हजार ७ सय २० रहेका छन् भने महिला २ लाख ३३ हजार ४ सय २ र तेस्रोलिंगी २ जना रहेका छन्। मतदान केन्द्र २ सय ४७ र मतदान स्थल ५ सय ३७ रहने आयोगले जनाएको छ। आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि कात्तिक २१ गते र स्थानीय तहका लागि कात्तिक २७ गते उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ।
 

प्रकाशित: १८ कार्तिक २०७६ ०२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App