coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपाल भ्रमण वर्षमा होटल र होमस्टेमा विशेष छुट

काठमाडौं – पर्यटकलाई अतिथि सत्कार सेवा प्रदान गरिरहेका होटलहरूको संस्था एसोसिएसन अफ नेपाल (हान) र होमस्टे एसोसिएसन अफ नेपालले सेवा शुल्कमा छुट योजना सार्वजनिक गरेका छन्।

भ्रमण वर्ष २०२० भर पर्यटक भित्र्याउने राष्ट्रको लक्ष्यमा सहयोग पु-याउन उनीहरूले छुट दिने जनाएका हुन्। होटल एसोसिएसन अफ नेपालले पर्यटन वर्षभर लागू हुने गरी देशभर हानको सदस्यता लिएका होटलमा छुट दिइने घोषणा गरेको दोस्रो दिन घरबास कार्यक्रमले पनि आफ्नो सेवामा छुट दिने बताएको छ।

हानले उक्त अवधिमा होटल कोठाको मूल्यमा ३० प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने जनाएको छ। हानका प्रथम उपाध्यक्ष विनायक शाहका अनुसार काठमाडौं, चितवन, पोखरा लगायत पर्यटकिय क्षेत्रमा हानका सदस्य होटल रहेको र ती होटलबाट पर्यटकले तोकिएको छुट पाउने जानकारी गराए।

‘पर्यटकस्तरीयदेखि पाँचतारेसम्मका झण्डै दुई हजार होटल अहिले हानमा सदस्य छन्,’ उनले भने, ‘राष्ट्रको २० लाख पर्यटक भित्र्याउने अभियानमा सहयोग पु-याउन सदस्य होटलमा छुट योजना सार्वजनिक गरेका हौं।’

हानको निर्णय जस्तै पर्यटनको क्षेत्रमा क्रियाशील अन्य संघ–संस्थाले पनि प्याकेज घोषणा गर्न आवश्यक रहेको उनको भनाइ छ। उनले भ्रमण वर्ष सफल बनाउनु सबैको दायित्व भएको बताए।

होटलले दिँदै आएको सेवा, सुविधालाई ध्यानमा राख्दै हानको पछिल्लो निणर्यले आन्तरिक तथा विदेशी पाहुनाका लागि छुट योजना सार्वजनिक गरेको उनले बताए। उनले भने, ‘नेपाल आउने पर्यटकले नेपाली होटलमा पाउने आतिथ्यलाई मन पराउने गरेका छन्। जारी छुट योजनाबाट पर्यटकको बसाइ लम्बिने अपेक्षा गरिएको छ।’ नेपाल आउने पर्यटकको भिसा शुल्क घटाइएपछि नेपाल आउन चाहनेको संख्या बढेको जनाउँदै उनले विभिन्न विमान कम्पनी, ट्राभल एजेन्सी, गाइड, तथा पर्यटकीय क्षेत्र प्रवेशमा पर्यटकले तिर्दै आएको शुल्क लगायत क्षेत्रले पनि भ्रमण वर्षको अवसरमा कुनै योजना सार्वजनिक गरे लक्ष्यभन्दा बढी पर्यटक नेपाल आउने उनले बताए।

आफ्ना सदस्य होटलहरूमा छुट दिन आग्रह गरिसकेको जानकारी दिँदै उनले हाल हान अन्तर्गत १५ च्याप्टर रहेको र अहिलेकै अवस्थामा पनि २० लाख पर्यटकलाई बस्न पुग्ने पूर्वाधार तयार रहेको बताए।

नेपाल आउने पर्यटकलाई होटलको अभाव नहुने उनको भनाइ छ। उनले आन्तरिक पर्यटनलाई पनि आकर्षित गर्न छुट योजना कोशेढुंगा साबित हुने बताए। ‘पाहुनालाई भ्रमण वर्षमा केही सहुलियत दिने सोचसहित छुट घोषणा गरेका हौं,’ उनले नागरिकसँग भने। संसारका पर्यटन व्यवसायीबीच आफ्नो देशमा पर्यटक भित्र्याउन प्रतिस्पर्धा भइरहको बेला हानको निणर्यले अन्तर्राष्ट्रिय समुदायमा राम्रो सूचना प्रवाह हुनेमा उनले जोड दिए।

त्यस्तै, होमस्टे एसोसियसन अफ नेपालले पनि आफ्नो सेवा–सुविधामा २० प्रतिशत छुट दिने घोषणा गरेको छ। होसानका अध्यक्ष केशवप्रसाद बडालले होमस्टेमा बस्न आउने पर्यटकलाई देशभर रहेका होमस्टेको प्याकेजमा छुट दिने निर्णय गरेको जानकारी गराए।

हाल देशका ५७ जिल्लामा ६ सयभन्दा बढी निजी तथा सामुदायिक घरबास सञ्चालनमा रहेको जनाउँदै उनले पछिल्लो समय गाउँ आउने पर्यटकले संख्या बढाउन र स्थानीयको जीवनस्तरमा पनि सुधार ल्याउन भूमिका खेलेको बताए। अहिले सञ्चालनमा रहेका होमस्टेसँग १० लाख पर्यटक थेग्न सक्ने क्षमता रहेको उनको भनाइ छ। ‘संस्थाको केन्द्रीय समिति बैठकबाटै आन्तरिक तथा बाह्य पर्यटकलाई छुट दिने योजना ल्याइएको हो,’ उनले भने, ‘हरेक होमस्टेको आफ्नै दर रेटको प्याकेज रहे पनि सबै खाले पर्यटकले उक्त प्याकेजमा २० प्रतिशत छुट दिने छन।’ हाल नेपाली र विदेशीले होमस्टेमा बस्दा फरक–फरक मूल्य तिर्दै आएका छन्।

होसानले छुट योजना मात्रै नभएर प्रदेश अन्तर्गत रहेका कार्यसमितिलाई नयाँ पर्यटकीय गन्तव्यको पहिचान तथा प्रवद्र्धनमा समेत काम गर्न सूचना जारी गरिसकेकोे उनको भनाइ छ। भ्रमण वर्षलाई मध्यनजर गर्दै होमस्टेतर्फ पर्यटकीय पूर्वाधार विकास र सेवा स्तरीकरणलाई विशेष ध्यान दिइएको उनले बताए।

विश्वभर रहेका नेपालीलाई आफू कार्यरत देशबाट प्रत्येक एकजनालाई नेपालमा पर्यटक पठाउन विभिन्न माध्ययमबाट होसानले आग्रह गरिरहेको समेत उनले जानकारी दिए। पछिल्लो समय पर्यटन विभागले प्रदेशलाई होमस्टे दर्ता तथा नवीकरणसम्बन्धी अधिकार दिए पनि प्रदेश अन्तर्गत कार्यविधि नबनेका कारण होमस्टे दर्ता तथा नवीकरण हुन नसकेको समेत उनको गुनासो छ।

प्रकाशित: १८ कार्तिक २०७६ ०१:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App