coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

उदयपुरमा भुस्याहा कुकुर आतंकः ३ घण्टाभित्र १० जनालाई टोकेपछि..

उदयपुर– उदयपुर सदरमुकाम गाईघाटमा भुस्याहा कुकुरको आतंक फैलिएको छ। आइतबार ३ घण्टा हाराहारी अवधिमा एउटै कुकुरले १० जनालाई टोकेर घाईते बनाएपछि गाईघाट बजारमा ‘कुकुर आतंक’ मच्चिएको हो। 

दिउँसो ३ः०० देखि ६ः०० बजेभित्र गाईघाटमै १० जनालाई टोकेपछि भुस्याहा कुकुरको बजारमा आतंक मच्चिएको जिल्ला अस्पतालले जनाएको छ। त्रियुगा गनरपालिका ११ पुरानो गाईघाट (पिजी) चोकदेखि असारीरोड हुँदै लालीगुराँस स्कुलबीचको १ सय मिटर दूरीभित्र एउटै कुकुरले आधाघण्टाको अवधिमा ४ जनालाई टोकेर घाइते बनाएको पीडितभध्येका एक बिबेक राईले बताए। साँझ ५ः३० बजे असारी रोडस्थित रौता अस्पतालछेउको ग्यादरिङ होटलका सञ्चालक २५ वर्षीय राई कुकुरको टोकाईबाट घाइते भएर तत्काल ‘एन्टीरेविज भ्याक्सिन’ हाल्न जिल्ला अस्पताल पुग्दा अरु पनि उपचारको पर्खाईमा थिए। 

कुकुरले टोकेलगत्तै उपचारार्थ अस्पताल पुग्दा उनीजस्तै ६ जना कुकुरकै टोकाईले घाइते भएकाहरुलाई उपचार गर्न स्वास्थ्यकर्मीहरु तल्लिन थिए। रेबिजविरुद्धको सुई दिनुअघि उनको घाउमा साबुनपानीले धुने क्रम चल्दै गर्दा थप ३ जना घाइतेहरु आइपुगेको अस्पतालले जनायो। राईका अनुसार आफू पुग्दा अस्पतालको इमरजेन्सी कक्षमा भेटिएका प्रायः सबै विरामी कुकुरकै टोकाईबाट घाइते भएकाहरुले भरिएका थिए। 

उनीपछि गाईघाटका ५० वर्षीय माधव खतिवडा उपचारार्थ अस्पताल आइपुग्न नपाउँदै अर्का गाईघाटकै ३५ वर्षीय हुतराज मगर छटपटाउँै अस्पताल आइपुगे। पीडितहरुका अनुसार उनीहरु सबैलाई टोक्ने कुकुर एउटै हो। राईका अनुसार सुनौलो खैरो रंगको सामान्यजस्तो देखिने एउटै कुकुरले पालैपालो टोकेको हो। ‘होटलअगाडि सडकमा उभिरहेको थिएँ, एउटा सामान्य गोल्डेन खैरो रंगको कुकुर पूर्वतर्फबाट आइरहेको थियो, त्यसले एक्कासी मलाई टोक्यो’, उनले घट्ना सुनाए ‘म घाउ सुमसुम्याउन थालेँ कुुकुर भागिहाल्यो। ५० मिटर माथि नपुगी युनिभर्सल स्वीमिङ पुलनेर सडक छेउ मोटरसाइकलमा उभिएर गफिँदै गरेका माधव खतिवडालाई टोकेछ।’ 

अर्का घाईते मगरलाई स्वीमिङ पुलको झण्डै ३० मिटर पश्चिम भेराईटी मःम सेन्टरअगाडि टोक्ने पनि त्यहीँ कुकुर भएको प्रत्यक्षदर्शीले बताएका छन्। घाइतेहरुका अनुसार चारैजनालाई टोक्ने कुकुर एउटै हो। एउटै कुकुर सडकमा हिड्दै उभिरहेका चारै जनालाई टोक्दै भागेको घाइतेलाई उद्धृत गर्दै जिल्ला अस्पतालले जनाएको छ। अस्पतालका हेल्थ असिस्टेन्ट श्याम चौधरीका अनुसार आइतबार ३ः०० देखि ६ः०० बजेसम्म १० जना कुकुरले टोकेका विरामी रेविज सुई हान्न अस्पताल आएका छन्। 

सबै घाइतेको भनाईले टोक्ने कुकुर एउटै भएको र त्यो बहुलाएको हुनसक्ने चौधरीले बताए। घाइते सबैलाई रेविजविरुद्धको सुई दिएर उपचार थालिएको हुनाले सबै सुरक्षित रहेको उनको भनाई छ। जिल्ला अस्पतालमा एन्टीरेविज भ्याक्सिनको खाँचो नरहेकाले घाइतेहरु कोही पनि आत्तिनु नपर्ने परामर्श चौधरीले दिएका छन्। 

जिल्ला जनस्वास्थ्य अधिकृत मोहन सुबेदीका अनुसार बहुलाएको कुकुरले टोकेमा ५ वटा रेबिजविरुद्धको सुई दिनुपर्ने हुन्छ। कुकुरले टोकेको घाउमा राम्ररी साबुनपानीले सफा गर्ने र भ्याए तत्काल, नभ्याए २४ घण्टाभित्र पहिलो सुई दिनुपर्छ र २८ दिनभित्र ५ वटा दिईसक्नुपर्छ। पहिलो दिन, तेस्रो दिन, सातौं दिन, १४ औं दिन र २८ औं दिन गरी ५ पटक रेविजविरुद्ध सुई दिएपछि बहुलाहा कुकुरले टोकेको घाउ निको हुने र खतरामुक्त हुने अधिकृत सुबेदीले बताए।

प्रकाशित: १७ कार्तिक २०७६ १५:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App