coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आर्मीलाई मनमोहन दुहवी गोल्डकपको उपाधि

अमर खड्का/चुमन बस्नेत

दुहबी- गोलरक्षक विकेश कुथुको नायकत्वमा विभागीय टोली त्रिभुवन आर्मी क्लब शनिबार मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ। आर्मीले शनिबार फाइनलमा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरी उपाधि जितेको हो। स्थानीय दुहबी रंगशालामा शनिबार सडन डेथका आधारमा आर्मीले मनाङमाथि जित पाएको थियो।

विकेशले दुई पेनाल्टी बचाउनुका साथै सडन डेथमा निर्णायक गोल गर्दै टोलीलाई उपाधि दिलाएका थिए।

जितसँगै आर्मीले ३ लाख १ हजार १ सय ११ रुपैयाँसहित सिल्ड जित्यो। निर्धारित समयमा गोलरहित भएपछि खेल सिधै पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टीमा ३–३ को बराबरी भएपछि सडन डेथका आधारमा निर्णय लिइएको हो। आर्मीले मनाङलाई दोस्रोपटक फाइनलमा हराएको हो।

पेनाल्टी सुटआउटमा आर्मीका जितेन्द्र कार्की, दीपक गुरुङ र टेकबहादुर बुढाथोकीले गोल गरेका थिए। नवयुग श्रेष्ठको प्रहार विपक्षी गोलरक्षक किरण चेम्जोङले बचाए भने हिरण्य मगरको प्रहार पोस्ट माथिबाट आकासियो। सडनडेथमा गोलरक्षक विकेश कुथुले गोल गर्दै आर्मीलाई उपाधि दिलाए। उनी नै खेलको म्यान अफ दी म्याच भए। उनले ५ हजार रुपैयाँ पाए।

मनाङबाट कमल श्रेष्ठ, हेमन गुरुङ र सुजल श्रेष्ठले गोल गरे। सिसकोकोे प्रहार गोलरक्षक हातमा लाग्दै पोेस्टमा ठोक्किएर बाहिरियो। विमल घर्तीमगरको प्रहार  गोलरक्षक विकेशले सहजै बचाए। सडनडेथमा विश्वास श्रेष्ठको प्रहार कुथुले नै समाते।

उपविजेता हुँदै मनाङले  एक लाख ५० हजारमा चित बुझाउनुपर्‍यो।

मध्यान्तरसम्म मनाङले दबाब राखे पनि गोल गर्न भने सकेन। आर्मीका खेलाडीले मनाङको तुलनामा खासै पोस्ट आक्रमणको अवसर पाएनन्।  पाएका एक–दुई अवसर चुकाउँदा पेनाल्टीसम्म कुर्नुपर्‍यो। मध्यान्तरपछि आर्मी मनाङमाथि हाबी भएजस्तो देखिए पनि गोल अवसर बनाउन सकेन।

खेलको १० औै मिनेटमा मनाङका हेमन गुरुङले कर्नर छेउबाट गरेको क्रस प्रहार समाउन खोज्दा गोलरक्षक लडेपछि ओलावालेले गरेको प्रहार आर्मीका खेलाडीले हेड गर्दै संकट टारे। २० औं मिनेटमा ओलावालेले बक्सभित्रबाट गरेको प्रहारलाई गोलरक्षकले उत्कृष्ट ढंगमा बचाउ गरे। २५ औं मिनेटमा आर्मीले डी बक्सअगाडि प्राप्त फ्रिकिकमा सुमन अर्यालले गरेको प्रहार बारमा लाग्दै बाहिरियो। खेलको ३७ औं मिनेटमा मनाङका विमल घर्तीमगरले २५ यार्ड नजिकबाट गरेको  प्रहार गोलरक्षकको हातमा लाग्दै बाहिरियो। ४८ औं मिनेटमा विमलको प्रहार गोल सकेन। लगत्तै उनको पासमा अनिल गुरुङले बक्सभित्रबाट गरेको प्रहार पोस्टको माथिल्लो बारमा लाग्दै रिबाउन्ड भयो। ५२ औं मिनेटमा आर्मीका भरत खवासले मिलाइदिएको पासमा दीप लामाले फितलो प्रहार गर्दा गोल हुन सकेन। ६३ औं मिनेटमा मनाङका सिसकोले गरेको लामो पासमा ओलावाले हेडिङबाट गर्न चुके। ७९ औं मिनेटमा हेमन गुरुङले ३० यार्डबाट गरेको फ्रिकिक प्रहारमा ओलावालेले गरेको हेड सिधै गोलरक्षकको हातमा पुग्यो।

विजेता आर्मीका प्रशिक्षक नवीन न्यौपानेले गोलरक्षकका कारण उपाधि जित सम्भव भएको बताए।

'दुवै टिमको ५०–५० अवसर पाए पनि कसैले पनि त्यसको सदुपयोग गर्न सकेनौं,' उनले भने, 'अन्तिममा जितका लागि पेनाल्टीमै जानुपर्‍यो। त्यसमा हाम्रा गोलकिपर सफल भए।'

मनाङका प्रशिक्षक हेमन्त आलेमगरले भने पेनाल्टी भनेको ५०–५० को अवसर भएकाले गर्दा आर्मीले जित्न सफल भएको बताए।

'सबैले पेनाल्टीलाई सहज र सजिलो रूपमा लिन्छन्। पेनाल्टी हान्न झन गाह्रो हो,' उनले भने, 'खेल खेलाडीले सन्तुष्ट हुनेगरी नै खेलेका हुन्। निर्धारित समयको खेलमा भने पाएको मौका गुमाउनुपर्‍यो।'

एलेभन एरोज क्लब दुहबी र मनमोहन प्रतिष्ठानको संयुक्त आयोजना गरेको गोल्डकपमा सर्वाधिक गोलकर्ता आर्मीका टेकबहादुर बुढाथोकी भए। उनले १५ हजार पाए।

म्यान अफ दी सिरिजको उपाधि मनाङका सुजल श्रेष्ठले जिते। उनले २५ हजार पुरस्कार पाए। आयोजकले दुहबीका मनिष अधिकारीलाई उदीयमान खेलाडी घोषणा गर्दै ५ हजार प्रदान गर्‍यो।

विजेता खेलाडीलाई मनमोहन प्रतिष्ठानका अध्यक्ष भरतमोहन अधिकारी, एन्फाका उपाध्यक्ष किशोर राई, सन्तोष बानियाँ लगायतले पुरस्कार वितरण गरे।

प्रकाशित: १९ मंसिर २०७३ ०३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App