८ वैशाख २०८१ शनिबार
समाज

सेना–प्रहरीमा सेवा अवधि नपुग्दै जागिर छाड्ने प्रवृत्ति बढ्दो

काठमाडौं – ललितपुर, महालक्ष्मीका उत्तम थापा (नाम परिवर्तन)को बाल्यकालीन सपना थियो– प्रहरीमा जागिर खाएर देशको सेवा गर्ने। २०७१ सालमा उनको रहर पूरा भयो। उनी नेपाल प्रहरीमा ‘असई’ पदबाट जागिरे भए। सुरक्षा क्षेत्रमा जागिर पाउन सजिलो भने थिएन। प्रहरी जागरिप्रति व्यग्र रहर भएकाले उनले जागिरको सिलसिलामा आइपर्ने कष्ट सहजै भुलिदिए। जागिर सुरु गरेको चार वर्षजति रमाइलै गरी चल्यो। तर, जागिरे जीवन बिताउँदै गर्दा उनलाई पारिवारिक समस्याले भने अल्झाउन थाल्यो। प्रहरीको २३÷२४ हजार तलबले घरखर्च टार्न कठिन प¥यो।

घर व्यवहारले थिच्न थालेपछि उनी केही समय दोधारमा परे। अन्ततः पारिवारिक सल्लाहमा २०७४ वैशाखमा जागिर छाडिदिए। त्यसपछिको उनको पैसा कमाउने गन्तव्य बन्यो– खाडी मुलुक कतार। प्रहरीको जागिर छाडेर त्यहाँ उनी सेक्युरिटी गार्डको रूपमा काम गर्न गए। विदेश ओहोरदोहोर गर्न लागेको दुई वर्षजति बित्यो उनको। अहिले उनी दसैं–तिहार मनाउन घर फर्केका छन्। आर्थिक अभावमा स्थायी जागिर छाडेका थापाको मनमा अझै पनि देशको निम्ति केही गरौं भन्ने छ। रहर र पसिनाले खाएको प्रहरी जागिर छाड्नुपरेको पीडा उनी अझै बिर्सेका छैनन्। सरकारी जागिर छाडेर विदेशिनु पर्दाको पीडाले उनलाई बेलाबेलामा पिरोल्छ। तर, बाध्यताले गर्दा जागिर छाड्नुपरेको बताउँछन् उनी। ‘आफ्नो देशको सुरक्षा क्षेत्रमा बसेर काम गर्दा निकै रमाइलो लाग्थ्यो, अझ प्रदेशमा छँदा त घर परिवार र देशको यादले रुवाउँछ नै, के गर्नु आर्थिक अवस्था नाजुक भएपछि जस्तोसुकै रहर पनि मार्नुपर्दो रहेछ,’ उनले सुनाए।

उनका अनुसार अहिले आर्मी र प्रहरीको जागिर बीचैमा छाडेर कतारमा सेक्युरिटीमा काम गर्ने युवाको संख्या बढ्दो छ। विभिन्न व्यवसायिक कम्पनीले आर्मी र प्रहरीमा केही वर्ष काम गरेकाले प्राथमिकता दिने भएपछि नेपालको सरकारी जागिर पनि छाडेर विदेशिने गरेका हुन्। विदेश जाने चक्करमै भक्तपुर, कमलविनायकका बलराम भुजेलले पनि एक वर्षअघि प्रहरी हबल्दारको जागिर छाडिदिए। सरकारले दिएको सीमित तलवले घरखर्च चलाउन मुस्किल परेपछि उनले जागिर छाड्ने निधो गरेको थिए। तर, विदेश गएर अलि पैसा कमाउला भनेर हबल्दार पदबाट राजीनामा दिएका भुजेल यता न उता भए। विदेश जाँदा गरिने स्वास्थ्य परीक्षणमा फेल भएपछि उनको विदेश जाने सपना पूरा हुन पाएन। विदेश जाने दौडमा जागिर छाड्दा उनी अहिले बेरोजगार छन्। उनी भन्छन्, ‘विदेश जाने सोचमा हतार गरेर जागिर छाडिहाल्यो, लास्टमा विदेश जानै पाइएन, बुद्धि नपुग्दा भएको जागिर धरी खुस्कियो।’

भएको जागिर छाडेर विदेश जाने सुरमा लागेका केही पात्र र उनीहरूका भोगाई हुन् यी। पछिल्लो समय यसरी सरकारी जागिरै छाडेर विदेशिने दक्ष जनशक्तिको संख्या बढ्दो छ। नेपाल प्रहरी सेवामा तीन महिनामा विभिन्न तहमा कार्यरत ५ सयभन्दा बढी कर्मचारीले जागिर छाडेका छन्। तीन वर्षयता नेपाली सेनामा कार्यरत १ हजार ४ सय २ जना कर्मचारीले जागिर छाडेका छन्। यसरी बीचमै जागिर छाडेर विदेशिनेमा नेपाल प्रहरीका कर्मचारी बढी छन्। प्रहरी प्रधान कार्यालयको असारयताको तथ्यांक अनुसार ५ सय ५६ जनाले राजीनामा दिएका हुन्। यो तथ्यांक अहिलेसम्मकै उच्च रहेको प्रहरी अधिकारीको भनाइ छ।

महानगरीय प्रहरी प्रधान कार्यालयका एसपी चन्द्रकिशोर खापुङले सबैभन्दा बढी प्रहरी हबल्दारले राजीनामा दिएको बताए। उनले कतिपयले १६ वर्षमा पेन्सन बनाइसकेपछि विदेश पलायन हुने प्रलोभनमा जागिरै छाड्ने परम्परा बढेको जानकारी दिए। ‘अहिले प्रहरी संगठनमा यसरी राजीनामा दिने कर्मचारीको संख्या बढ्दो छ,’ उनले भने, ‘अन्त राम्रो अवसर पाएर व्यक्तिले जागिर छाड्नु स्वभाविकै भए पनि देशको निम्ति घाटाको विषय हो।’

उनका अनुसार जागिर सुरु गरेको नयाँ कर्मचारीलाई जागिरमा पोख्त बनाउन राज्यले ठूलो लगानी गरेको छ। तालिम, भ्रमण, अवलोकन लगायत विषयमा बढी खर्च भइरहेको हुन्छ। तर, त्यसलाई हेक्का नराखी कर्मचारीले आधा बाटोमै जागिर त्यागेपछि त्यसको असर देशको आय–व्ययमा पनि परेको छ। कर्मचारी नियुक्ति र अवकास प्रक्रिया नमिल्दा नेपाल प्रहरीमा ८ हजार कर्मचारी संख्या कम भइरहेको एसपी खापुङको भनाइ छ। ‘आम युवा जागिरको खोजीमा भौतारिरहेका छन्, कुनै सरकारी सेवामा रोजगारीको सूचना प्रकाशित हुनेबित्तिकै फाराम बुझाउन लस्कर लाग्छन्,’ उनले भने, ‘आम युवा जागिर खोज्दै दौडिरहेको बेला सुरक्षा क्षेत्रमा कार्यरत कर्मचारीमा भने भएको जागिर छाड्ने प्रवृत्ति बढेको छ, यो राम्रो होइन, यसबारे सरकारले पनि सोच्न आवश्यक देखिन्छ।’

तीन वर्षयताको तथ्यांकलाई हेर्दा यो वर्ष बीचमै जागिर छाड्नेको संख्या बढ्ने देखिएको छ। आर्थिक वर्ष ०७४÷०७५ मा २ हजार ६ सय ९१ जनाले प्रहरीको जागिर छाडेका थिए। आर्थिक वर्ष ०७५÷०७६ मा ३ हजार १ सय १८ जनाले राजीनामा दिएका छन् भने ०७६÷०७७ सुरु भएको तीन महिनामै ५ सय ५६ जनाले राजीनामा दिएका छन्। तीन महिनामै यतिधेरै संख्यामा राजीनामा दिएकाले एक वर्षमा यो दर बढ्न सक्ने प्रहरीको अनुमान छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)का एसएसपी श्याम ज्ञवालीले आधारभूत र उन्नत तालिमप्राप्त जनशक्तिले जागिर छाड्दा त्यसको घाटा देशलाई परिरहेको बताए। यस्तो प्रवृत्ति नरोक्ने उपाय निकाल्नुपर्छ, जागिर छाडेर विदेशिने प्रवृत्तिले सरकारी सेवाप्रति पनि वितृष्णा पैदा गर्नेे उनको भनाइ छ। ‘यहाँको यति सजिलो जागिर छाडेर खाडी मुलुक पुग्ने कर्मचारी धेरै छन्,’ उनले भने, ‘मुख्यतः पैसा कम भएकै कारण तल्लो दर्जाका कर्मचारीले जागिर छाडेर विदेश पलायन भएका हुन्, यसबारे माथिल्लो निकायले नै सोच्न आवश्यक छ।’ उनका अनुसार यसरी ‘ड्रपआउट’ गर्ने ट्रेन्ड बढ्नु राम्रो संकेत होइन। एकातिर राज्यलाई घाटा भइरहेको छ भने अर्कातिर जागिर छाड्नेहरू सस्तोमा श्रम बेचिरहेका छन्। अहिले नेपाल प्रहरीबाट बीचमै जागिर छाड्ने धेरैजसो युवा दुबई, कतार, मलेसियाजस्ता देशमा सेक्युरिटी गार्डको रूपमा काम गरिरहेका छन्।

प्रहरी सहायक निरीक्षक (असई), प्रहरी निरीक्षक (इन्सपेक्टर), प्रहरी नायब उपरीक्षक (डिएसपी), प्रहरी उपरीक्षक (एसपी)लगायत पदका कर्मचारीले पनि जागिर त्यागेर विदेश पलायन भएको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाएको छ। उपल्लो श्रेणीका कर्मचारी डिभी र पारिवारिक भिसामा अमेरिका, क्यानडा र अस्टे«लियातिर पलायन भइरहेका छन्।

त्यसो त जागिर छाड्नेमा तल्लो दर्जाका थोरै तलब खाने कर्मचारी मात्रै छैनन्। राम्रो तलब र भत्ता सुविधा भएका उपल्लो दर्जाका प्रहरी कर्मचारीले समेत जागिर छाडेका छन्। तीन वर्षयता जागिरे अवधि पूरा नभएका माथिल्लो श्रेणी प्रहरी नायब महानिरीक्षक पदबाट तीन जनाले जागिर छाडेका छन्। सोही अवधिमा एसपी पदबाट ७ जनाले जागिर त्यागेका छन्। त्यस्तैं, तीन वर्षकै अवधीमा १३ जना डिएसपी, २८ जना इन्सपेक्टरसहित अन्य तल्ला श्रेणीका गरी ७ हजार तीन सय ८० जना कर्मचारीले बीचमै जागिर छाडेका छन्।

नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले वैदेशिक रोजगारमा जाने कारण देखाएर धेरै कर्मचारीले जागिर छाड्न थालेको बताए। उनका अनुसार तीन वर्षयता १ हजार ४ सय २ जना कर्मचारीले नेपाली सेनाको जागिर छाडेर भागेका छन्। यसरी भाग्नेमा तल्लो दर्जाका कर्मचारी नै बढी देखिएका छन्। स्वीकृति लिएर भन्दा नलिइकन जागिर छाड्ने प्रवृत्ति बढेको उनको भनाई छ। ‘पछिल्लो दस वर्षको तथ्यांकलाई हेर्दा ६ हजार २ सय ३५ जनाले नेपाली सेनाको जागिर बीचमै छाडेका छन्। यसमध्ये धेरैजसो राजीनामाबिनै जागिरबाट बाहिरिएका छन्,’ उनले भने, ‘राज्यले लगानी गरेर तयार पारेको जनशक्तिले बीचमै जागिर छाडेर भाग्नु देशको लागि पनि घाटाको विषय हो।’

प्रकाशित: १७ कार्तिक २०७६ ०२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App