coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाइकको एयर फिल्टरमा १० किलो सुन !

काठमाडौं- शुक्रबार राति साढे सात बजे। महानगरीय प्रहरी वृत्त बौद्धको क्विक रेस्पोन्स टिम (क्युआरटी) का प्रहरी हबलदार काजीकुमार रम्तेल एक जवानसहित ड्युटीमा निस्किएका थिए। क्युआरटी टिमको सेतो मोटरसाइकलमा बौद्ध क्षेत्र घुम्दै गरेका उनीहरू फूलबारी क्षेत्रतर्फ मोडिए। त्यहाँ दुई युवालाई मोटरसाइकलमा 'केही गर्दै गरेको' देखेपछि नजिकै पुगेर रम्तेलले सोधे, 'के गरेको?' जबाफ आयो, 'बाइक बिग्रेर बनाउँदै हो।' शंका लागेर रम्तेलले 'ब्लुबुक छ' भनी सोधे। जबाब दिनुको साटो ती युवा बाइक छाडेर कुलेलम ठोके।

प्रहरीले दुवै युवा भागेपछि बेवारिसे बनेको बाइक वृत्तमा ल्याए। बाइक चलाउँदा अनौठो आवाज आइरहेको थियो। वृत्तका डिएसपी विपीन रेग्मीसहित प्रहरी अधिकारी बाइक छाडेर युवा भाग्नुको रहस्य खोतल्न लागे। कसैले बाइक राम्ररी जाँच्ने प्रस्ताव राख्यो। बाइकका सबै पार्टपुर्जाको खानतलासी हुन थाल्यो। कहीं केही भेटिएन। अब बाँकी बाइकको एयर फिल्टर बक्स थियो। डिएसपी रेग्मीले त्यो पनि खोलेर हेर्न भने। खोल्दा भेटिए सुनका १० बिस्कुट, हरेकको तौल एक केजी।

'मोटरसाइकलको फिल्टर निकालेर सुन राखिएको रहेछ, १० थान बिस्कुट भेटिए, भागेका युवाको खोजतलास भइरहेको छ,' डिएसपी रेग्मीले भने। उनका अनुसार एक सय ५० सिसीको पल्सर मोटरसाइकलमा सुन फेला परेको हो। मोटरसाइकलको नम्बर बा५५प १७७२ भएको प्रहरीले जनाएको छ।

बौद्ध प्रहरीले घटनाबारे जानकारी गराएपछि महानगरीय प्रहरी परिसर काठमाडौंबाट समेत टोली तत्काल घटनास्थल पुगेको थियो। प्रहरीले आइतबार मोटरसाइकल धनीको नाम यातायात व्यवस्था कार्यालयबाट लिएर थप अनुसन्धान गर्ने जनाएको छ।

सुन तस्कर फेरि सक्रिय

भूकम्पले तातोपानी नाका अवरुद्ध गरेसँगै सुनको अवैध तस्करी रोकिएको अनुमान गरिए पनि शुक्रबार बरामद सुनको परिमाणले तस्कर फेरि सक्रिय भएको पुष्टि गरेको छ। बौद्ध प्रहरीले मंसिर १२ मा सोही क्षेत्रबाट सिन्धुपाल्चोक गुम्बा–३ घर भएका २३ वर्षीय विकास तामाङलाई एक केजी सुनसहित पक्राउ गरेको थियो। बौद्ध वृत्तबाट गस्तीमा खटिएको प्रहरी टोलीले जम्बुडाँडास्थित सडकमा बा७६प २८३७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सुन भेटेर बरामद गरेको थियो।

केन्द्रीय अनुसन्धान ब्युरोले २०७० असार २६ गते ३५ किलोग्राम सुनसहित ग्याम्जो लामा, मोहनकुमार अग्रवाल र नाङ्गेल भनिने ओमबहादुर बज्राचार्यलाई पक्रेको थियो। अनुसन्धानबाट सो सुन ग्याम्जोले मगाएको खुलेको थियो। अग्रवालले भारत लैजाने जिम्मा लिएका थिए भने बज्राचार्यले तस्करीका लागि सवारीसाधन उपलब्ध गराएका थिए।

'पहिला तस्करीको अरोपमा कानुनी कारबाही भोगेका व्यक्ति फेरि सक्रिय भएको सूचना पाएका छौं, शुक्रबार बरामद सुनधनीको पहिचान चाँडै हुन्छ,' काठमाडौं प्रहरी प्रमुख विक्रमसिंह थापाले भने। बौद्धमा बरामद सुन केरुङ नाका भएर भित्रिएको अनुमान प्रहरीको छ।

प्रहरीले २०६९ देखि २०७२ सम्म पटकपटक सुनसहित तस्कर पक्राउ गरेको थियो। भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि हङकङबाट हवाई मार्ग हुँदै सुन आउने गरेको अनुमान गरिएको थियो। तर अन्तर्राष्ट्रिय विमानस्थलमा समेत पछिल्लो समय उल्लेख्य परिमाणमा सुन बरामद भएको छैन।

प्रकाशित: १९ मंसिर २०७३ ०२:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App