coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

अनुमानअनुसार धान उत्पादन नहुने

सुनसरी बराह क्षेत्र वडा नं. ५ का किसान गणेशकुमार सेन्चुउरीको फौजी किराले सखाप पारेको धान हेर्दै कृषि ज्ञान केन्द्रको टोली। तस्बिर : नागरिक

इटहरी – अनुकूल मौसमका कारण यस वर्ष सुनसरी र मोरङमा धान उत्पादनले नयाँ रेकर्ड राख्ने अनुमान गरिए पनि फौजी किराले सोचेअनुसार परिणाम नआउने भएको छ। धान उत्पादनको उर्वर भूमि मानिएको यी दुई जिल्लामा पछिल्ला वर्षमध्ये यो वर्ष सबैभन्दा बढी धान फल्ने प्रक्षेपण गरिए पनि अगौटे धानमा किरा लागेकाले सोचेअनुरुप नहुने भएको हो।

यद्यपि, समग्रमा अघिल्लो वर्षभन्दा केही हदसम्म उत्पादन बढ्ने अनुमान गरएको छ। कृषि ज्ञान केन्द्र सुनसरी–मोरङ कार्यालयका अनुसार विगतका वर्षमा भन्दा यस वर्ष धान उत्पादन तुलनात्मक हिसाबले कतिपय स्थानमा दोब्बर भएको छ। यस आधारमा धान उत्पादनले यो वर्ष नयाँ रेकर्ड राख्ने अनुमान गरिएको थियो। तर, कतिपय स्थानमा भने फौजी किराको प्रकोपले गर्दा उत्पादनमा कमी आउने देखिएको छ।

कृषि ज्ञान केन्द्रका सुनसरी–मोरङका प्रमुख नुनुलाल उरावले भने, ‘अगौटे धान फौजी किराले सखाप नपारेको भए यस वर्ष धानले नयाँ रेकर्ड कायम राख्थ्यो। तर पनि अघिल्लो वर्षभन्दा समग्रमा पाँचदेखि १० प्रतिशतसम्म बढ्ने आशा छ।’ दुवै जिल्लाका किसानले पम्पसेट तथा केही निश्चित सिचाइँ सुविधा भएको स्थानमा असारको दोस्रो सातासम्म रोपाईं गरिसकेका थिए। उक्त धान फौजी किराले सखाप पारेको छ। तर, पछौटे धानमा भने फौजी किरा नलागेको उनले जानकारी दिए। 

सुनसरीको बराह क्षेत्र र धरान क्षेत्रमा फौजी किराले पाक्नै लागेको धान सखाप पारेको छ। कृषि ज्ञान केन्द्र मोरङ सम्पर्क कार्यालयका रामदेव सिंहका अनुसार रंगेली, उर्लाबारी, रतुवामाई, सुनवर्षी, केराबारी क्षेत्रमा बढी मात्रमा फौजी किरानले धान नष्ट गरेको छ। 

धान पाक्न लागेका बेला फौजी किरा लागेपछि कतिपय किसानले धान काटिसकेकाले बचेको छ। ‘राम्रोसँग पाकेपछि मात्र काट्ने योजना साचेर बसेकाको पूरै धान नोक्सान भएको छ,’ ज्ञान केन्द्र सुनसरी–मोरङ प्रमुख उरावले भने।

सुनसरीकै बराहक्षेत्र वडा नं. ५ का गणेशकुमार सेन्चुउरीको आठ कट्ठामा लगाएको धान फौजी किराले पूरै नष्ट गरेको छ। बराह क्षेत्रस्थित करिब ३० बिघामा फौजी किरानले धान नष्ट गरेको छ। बराह क्षेत्र र धरानबाहेक अन्य स्थानमा भने धान उत्पादन सोचेभन्दा बढी भएको छ। 

कोशी गाउँपालिका वडा नं. ५ का साह बुदिनले यस वर्ष दुई बिघामा धान रोप्दा प्रतिकट्ठा ६ मनसम्म फलेको छ। यो जमिन २०६५ भदौ २ मा आएको बाढीले बालुवाले पुरिएर पूरै मरुभूमिमा परिणत भएको थियो। किसानले सोही जग्गामा बालुवा पन्छाएर अघिल्लो वर्ष एक बिघा र यो वर्ष थप एक बिघामा धान लगाएका थिए। ‘सिँचाइ सुविधा नहुँदा मनसुन र बोरिङको भरमा पनि धान उत्पादन राम्रो भएको छ,’ उनले भने। 

प्रदेश १ अन्तर्गत पर्ने तराईंका सुनसरी, मोरङ र झापा धानका लागि पकेट क्षेत्र मानिन्छ। त्यसमा पनि सुनसरी र मोरङ सिँचाइ सुविधा भएको क्षेत्र मानिन्छ। पहिला पहिला लोकल जातको धान लगाउने गरेकामा अचेल हाइब्रिड बीउको प्रयोग बढ्नाले पनि धान उत्पादन बढ्ने गरेको केन्द्र प्रमुख उरावले बताए। यद्यपि, किरा नलागेको भए उत्पादन सोचे अनुसारकै हुने उनले दाबी छ। 

सुनसरीमा यो वर्ष  ५५ हजार हेक्टर क्षेत्रमध्ये ९७ प्रतिशत क्षेत्रफलमा धान लगाइएको छ। मोरङमा ७८ हेक्टर क्षेत्रमध्ये ९८ प्रतिशतमा धान  लगाइएको छ। सुनसरीमा आर्थिक वर्ष ०७५/७६ मा ५३ हजार नौ सय हेक्टरमा धान खेती लगाउँदा तीन लाख ३२ हजार एक सय ८० मेट्रिक टन उत्पादन भएको थियो।  
आव ०७४/७५ मा भने ५३ हजार पाँच सय हेक्टरमा धान खेती लगाउँदा एक लाख ८६ हजार एक सय ८० मेट्रिक टन उत्पादन भएको थियो।

यस्तै, मोरङमा आव ०७५/७६ मा ८१ हजार ६ सय ३४ हेक्टरमा तीन लाख ५२ हजार ६५८.८८ मेट्रिक टन उत्पादन भएको थियो। यस्तै, आव ०७४/७५ मा ८३ हजार तीन सय हेक्टरमा धान लगाउँदा तीन लाख २० हजार नौ सय १६ मेट्रिक टन धान उत्पादन भएको थियो। अघिल्लो वर्ष प्रतिहेक्टर ४.३२ मेट्रिक टन धान उत्पादन भएको थियो। यस वर्ष किराले नष्ट नगरेको स्थानमा प्रतिहेक्टर ६ मेट्रिक टनसम्म धान उत्पादन भएको  छ।

प्रकाशित: १७ कार्तिक २०७६ ०१:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App