coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

व्यापार घाटा गत वर्षभन्दा ४२ अर्ब कम

काठमाडौं – मुलुकको वैदेशिक व्यापारमा सुधार आएपछि यो वर्ष व्यापार घाटा ४२ अर्ब रुपैयाँले घटेको छ। मासिक करिब खर्ब रुपैयाँको व्यापार घाटा रहे पनि पोहोर पहिलो तीन महिनाको तुलनामा यो १२.०२ प्रतिशतले घटेको हो। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष ०७६/७७ को साउनदेखि असोजसम्मको व्यापार घाटा तीन खर्ब सात अर्ब ७८ करोड रुपैयाँ छ। पोहोर सोही अवधिमा व्यापार घाटा तीन खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँ थियो।

विदेशबाट आयात घटेको र त्यसतर्फको निर्यात बढेकाले वैदेशिक व्यापार घाटामा सुधार आएको हो। असोजसम्ममा आयात १०.३४ प्रतिशतले घटेको र निर्यात १४.४१ प्रतिशतले वृद्धि भएको भन्सार विभागले जनाएको छ।

असोजसम्म तीन खर्ब ३४ अर्ब ९४ करोड रुपैयाँको सामान आयात भएको छ। पोहोर सोही अवधिमा तीन खर्ब ७३ अर्ब ५८ करोड रुपैयाँको सामान आयात भएको थियो। गत वर्षभन्दा करिब ३९ अर्ब रुपैयाँ कम मूल्यको सामान आयात भएको छ।

गत वर्षभन्दा निर्यात १४.४१ प्रतिशतले बढेर २७ अर्ब १६ करोड ६७ लाख रुपैयाँ पुगेको छ। पोहोर सोही अवधिमा २३ अर्ब ७४ करोड ४९ लाख रुपैयाँका सामान निर्यात भएको थियो। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२.५ प्रतिशत र निर्यातको ७.५ प्रतिशत छ। कुल वैदेशिक व्यापार ८.८६ प्रतिशतले घटेको छ। यो वर्ष तीन खर्ब ६२ अर्ब ११ करोड रुपैयाँको व्यापार भएको छ। गत वर्ष सोही अवधिमा तीन खर्ब ९७ अर्ब ३३ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो। 

विगत वर्षमा दसैं–तिहार, छठ पर्वलक्षित आयात बढ्ने गरे पनि यो वर्ष कम देखिएको छ। मुलुकमा दैनिक उपभोग्य वस्तुदेखि औद्योगिक कच्चा पदार्थसम्म विदेशबाट आयात हुने गरेको छ। सरकारले चालु आर्थिक वर्ष ०७६/७७ को बजेटमार्फत आयात प्रतिस्थापन गर्दै निर्यातलाई प्रोत्साहन गर्ने नीति लिएको छ। 

नेपालको एक सयभन्दा बढी मुलुकसँग व्यापार घाटा छ। सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग छ।भारतसँगको व्यापार घाटा एक खर्ब ८९ अर्ब ५४ करोड रुपैयाँ रहेको छ। भारतबाट तीन महिनामा दुई खर्ब सात अर्ब ४१ करोड रुपैयाँको सामान आयात भएको छ भने १७ अर्ब ८७ करोड रुपैयाँको निर्यात भएको छ। चीनसँगको व्यापार घाटा ५८ अर्ब ८१ करोड रुपैयाँ छ। चीनबाट ५९ अर्ब २६ करोड रुपैयाँको सामान आयात र चार अर्ब ५१ करोड रुपैयाँको निर्यात भएको छ।

नेपालले व्यापार गर्ने मुख्य देशमा भारत, चीन, फ्रान्स, जर्मनी, बेलायत, अमेरिका, युएईलगायत छन्। उद्योगधन्दाका लागि कच्चा पदार्थ, पेट्रोलियम पदार्थलगायत सामग्री आयात हुन स्वाभाविक भए पनि यहाँ किसानले फलाउन सक्ने तरकारी, फलफूल, खाद्यान्नलगायत वस्तुमा पनि विदेशीको भर पर्नुपर्ने अवस्था छ। 

औद्योगिक विकासका लागि चाहिने कच्चा पदार्थ वा मेसिनरी पार्टपुर्जा आयात स्वाभाविक भए पनि कृषिजन्य वस्तुको समेत आयात भइरहेको छ। व्यापार घाटा न्यूनीकरण गर्न सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। आयात प्रतिस्थापन गर्न सरकारले आत्मनिर्भर भएका वस्तुको आयातमा कडाइ गरेको छ।

चालु आर्थिक वर्षको बजेटमा चिया, कफी, दुग्ध पदार्थ, घिउ, कुखुराको मासु, केराउ, बदाम, आलु चिप्स, बिस्कुट, चाउचाउ, आइसक्रिम, जुस, मिनरल वाटर, चिनी तथा सक्खर चकलेट, चुइङगम, पास्ता, जस्तापाता, जुत्ता चप्पल, धागो र त्रिपाल लगायत वस्तुको आयातमा भन्सार दर बढाएको छ। 

प्रकाशित: १७ कार्तिक २०७६ ००:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App