८ वैशाख २०८१ शनिबार
राजनीति

संशोधनविरुद्ध जाग्दै जनता

बुटवल- प्रदेश नम्बर ५ बाट पहाडी जिल्ला अलग गर्न सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयक फिर्ता लिन माग राखेर शनिबार पनि रुपन्देहीमा प्रदर्शन भएका छन्। रुपन्देही चार दिनदेखि आन्दोलित छ। चारदिनदेखि  बुटवल, भैरहवासहित ग्रामीण बजार पनि बन्द छन्।

नागरिक अगुवासहित विभिन्न संघ संस्थाले विरोध जुलुस निकालिरहेका छन्। शनिबार दिउँसो जेसीजचोकबाट निस्केको र्‍याली पुष्पलाल पार्कमा पुगेर कोणसभामा परिणत भयो।

जुलुसमा नागरिक समाजका अगुवा, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारकर्मी, विभिन्न पार्टीका नेता सहभागी भए।

नागरिक अगुवा संयुक्त संघर्ष समितिका संयोजक वरिष्ठ अधिवक्ता तेजप्रसाद कणेलले पा“च नम्बर प्रदेश विभाजन गर्नेगरी ल्याइएको संशोधन प्रस्ताव सिंगो राष्ट्रकै निम्ति घातक रहेकाले जनता सडकमा आएको बताए। नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष घनश्याम पन्तले पार्टीगत स्वार्थभन्दा राष्ट्रिय स्वार्थसँग जोडिएको विषय महत्वपूर्ण हुने भएकाले विधेयक फिर्ता लिन सरकारलाई दबाब दिन सबै एक हुनुपर्नेमा जोड दिए।

नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्वअध्यक्ष दीपक ज्ञवालीले सञ्चारकर्मीले तटस्थ रहेर समाचार सम्प्रेषण गर्नुपर्ने भए पनि राष्ट्रलाई अहित हुने विषयमा चुप लागेर बस्न नमिल्ने बताए।

त्यस्तै संशोधन प्रस्तावको विरोधमा भैरव समाजलेे मिलनचोकमा राष्ट्रिय गीत गाउँदै धर्ना दियो। पाल्पा भैरवस्थान घर भई यहाँ बस्दै आएकाले धर्ना आयोजना गरेका थिए।

शंकरनगरका युवाले पनि प्रधानमन्त्री पुष्पकमल दाहालको पुतलासहितको जुलुस निकालेर संशोधन प्रस्तावको विरोध गरे। जुलुसले बजार परिक्रमा गरेको थियो। साँझ पुष्पलाल पार्कमा केहीबेर आन्दोलनकारी र  प्रहरीबीच झडप भएको थियो।

यसैगरी शनिबार साँझ बसेको सर्वदलीय बैठकले आन्दोलनलाई मर्यादित र व्यवस्थित बनाउने निर्णय गरेको छ। सर्वदलीय बैठकले माग पूरा नहुनजेल बिहान ७ बजेदेखि साँझ ४ बजेसम्म बन्द कायम रहने निर्णय गरेको छ। हरेक दिन साँझ ४ बजेदेखि बिहान ७ बजेसम्म सबै खालका सवारी साधन चल्न दिने निर्णय भएको एमाले केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज लिला गिरीले जानकारी दिए।

अर्घाखाँचीमा दिनहुँ प्रदर्शन

यसैगरी ५ नम्बर प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीमा पनि संशोधनविरुद्ध जुलुस निकालिएको छ। सन्धिखर्कको शान्ति बगैंचाबाट निकालिएको जुलुुस बजार परिक्रमा गरी कोणसभामा परिणत भयो। विरोध जुलुसमा सहभागी हुन गाउँगाउँबाट सर्वसाधारण सदरमुकाम आएका थिए।

कोणसभालाई नेपाली कांग्रेसका सभापति तथा संयुक्त संघर्ष समितिका संयोजक विष्णु मुस्कान, राष्ट्रिय जनमोर्चाका अध्यक्ष झविलाल थापाले सम्बोधन गरे।

संशोधन प्रस्तावविरुद्ध अर्घाखाँची बुधबारदेखि आन्दोलित छ। विरोधमा पसल, उद्योग, कलकारखना, सवारी साधन, शिक्षण संस्था बन्द छन्। निजी विद्यालयको परीक्षास्थगित गरिएको छ।

संघर्ष समितिले आइतबार पनि जिल्ला बन्दको घोषणा गरेको छ। सोमबार जिल्लामा विशाल प्रदर्शन हुने कार्यक्रम तय भएको छ।

पाल्पामा चर्कंदै आन्दोलन

प्रदेश ५ का पहाडि जिल्ला ४ प्रदेशमा गाभ्ने विधेयकको विरोधमा शनिबार पाल्पाको सदरमुकाम तानसेनमा जुलुस निकालिएको छ। प्रस्तावित संशोधन विधेयकको विरोधमा आन्दोलन चर्काउन गठन गरिएको संयुक्त संघर्ष समितिको अगुवाइमा जुलुस निकालिएको हो। तानसेन बजार परिक्रमापछि  जुलुस कोणसभामा परिणत भएको थियो। जुलुसमा कुनै दलका झन्डा प्रयोग नगरी राष्ट्रिय झन्डा प्रदर्शन गरिएको थियो।

विद्यार्थी संगठनले अनिश्चितकालका लागि जिल्ला बन्दको आह्वान गरेका छन्। राजनीतिक दल, पाल्पा उद्योग वाणिज्य संघ र नागरिक समाजले शनिबार पाल्पा बन्दको आह्वान गरेका थिए।

यातायात बन्दका कारण तानसेनका विद्यालय, कलकारखाना, बजार, पसल ठप्प हुँदा जनजीवन प्रभावित बनेको छ। छोटो तथा लामो दूरीका सवारीसाधन नचल्दा यात्रु मर्कामा परेका छन्। तर जिल्लाकै दोस्रो ठूलो सहरको रुपमा परिचित रामपुरमा भने विरोधका कार्यक्रम भएका छैनन्।

जनजाति महासंघ पल्पाद्वारा स्वागत

नेपाल आदिवासी जनजाति महासंघ पाल्पाले सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावलाई सकारात्मक रुपमा लिँदै समर्थन गरेको छ। महासंघ पाल्पाका अध्यक्ष केहरसिंह राना र सचिव रामबहादुर गरम्जाद्वारा हस्ताक्षरित प्रेसविज्ञप्तिमा विधेयकको स्वागत गरिएको छ।

प्रकाशित: १९ मंसिर २०७३ ०२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App