८ वैशाख २०८१ शनिबार
समाज

कर्मचारी समायोजन भएपनि बैतडीका ७२ वडा सचिवविहीन

वडा सचिवविहिन मेलौली नगरपालिकाको कार्यालय। तस्बिरः बिरा/नागरिक

बैतडी- स्थानीय तहमा जनप्रतिनिधि आएको दुई वर्षभन्दा बढी समय भए पनि बैतडीका ८४ वडामध्ये ७२ वडामा सचिव छैनन्। सचिव नहुँदा स्थानीय तहबाट प्रवाह हुने सेवा सर्वसाधारणले सहज रुपमा पाउन सकेका छैनन्। जिल्लाका १० स्थानीय तहका अधिकांश वडा सचिव विहिन छन्। स्थानीय तहमा दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको स्थानीय तहले जनाएका छन्। जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र सिगास गाउँपालिकाका एक वडामा पनि सचिव छैनन्।

चार स्थानीय तहमा एक जना पनि सचिव छैनन्

ती सबै स्थानीय तहले प्राविधिक सहायक, कार्यालय सहायक र सामाजिक परिचालक मार्फत वडाको काम गराउँदै आएका छन्। पाटन नगरपालिका १० वडामध्ये ७ वडा सचिवविहिन रहेको नगरपालिकाले जनाएको छ। यस्तै डिलाशैनी गाउँपालिका ७ वडामध्ये एक वडामा मात्रै सचिव रहेका गाउँपालिकाका प्रवक्ता अक्कल रानाले बताए। दोगडाकेदार गाउँपालिका ८ वडा मध्ये २ वडामा मात्रै सचिव रहेको कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए।

पुरचौंडी नगरपालिकाका १० वडा मध्ये एक वडामा मात्रै सचिव रहेका र अन्य वडामा प्राविधिक सहायकले काम सञ्चालन गरिरहेका नगरपालिकाका उपप्रमुख जानकी बमले बताइन्। वडामा सचिव नहुँदा वडाबाट समयमै सेवा प्रवाहमा कठिनाइ आएको छ। सबै वडामा सचिव नभएपछि नगरपालिकामा रहेका कर्मचारीलाई काम गर्न भ्याइनभ्याइ भएको उपप्रमुख बमले बताइन्। सुर्नया गाउँपालिकाका ८ वडामध्ये एक वडामा पनि सचिव नरहेको गाउँपालिकाका नासु धनबहादुर चन्दले जानकारी दिए। जिल्लाको पुरानो नगरपालिकाको रुपमा रहेको दशरथचन्द नगरपालिकामा पनि ११ वडा मध्ये ७ वडा सचिव विहीन छन्।

वडा कार्यालयहरुमा सचिव नहुँदा वडामै हुने कामका लागि गाउँपालिका तथा नगरपालिकाका केन्द्रसम्म धाउन बाध्य भएको स्थानीय बताउँछन्। स्थानीय तहमा जनप्रतिनिधि आएपछि काम गर्न सजिलो होला भन्ने आसा गरेका नागरिक निराश हुन थालेका छन्।

कर्मचारीको अभावमा वडाहरुमा सेवा नपाउँदा उनीहरु खिन्न भएका हुन्। कर्मचारी समायोजन भएपछि वडा कार्यालय कर्मचारी विहीन भएका हुन्। ‘प्राविधिक सहायकले समान्य पञ्जीकरण, सिफारिस गर्दै आएका छन्,’ सुर्नयाँ गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टले भने, ‘केही प्राविधिक सहायकलाई जानकारी नहुँदा वडाले कार्यसम्पादन गर्ने काममा कठिनाइ आएको छ।’ आफ्नो र सचिव दुवैको जिम्मेवारी निभाउन उनीहरुलाई समस्या हुने गरेको हो।

पुर्नसंरचनापछि पहिलेको तुलनामा वडामा बढी जिम्मेवारी थपिएकाले समस्या हुने गरेको पुर्चौडी नगरपालिका–१ का प्राविधिक सहायक वकिलबहादुर धानुकले बताए। बिगत डेढ वर्षदेखि उनले वडामा सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन्। अनुभव भएकाहरुलाई सहज भए पनि दोहोरो जिम्मेवारी निभाउन कठिन भएको उनले बताए। अधिकार सम्पन्न स्थानीय तहमा आवश्यक कर्मचारी नहुँदा समस्या उत्पन्न भएको हो। सचिव सरह प्राविधिक सहायक दक्ष नहुँदा वडाबाट प्रवाह हुने सेवा प्रभावित भएका छन्।

वडामा सचिव नहुँदा स्थानीयले चाहेअनुसारको सेवा पाउन नसकेको नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले बताए। वडाका लागि वडा सचिव खटाउने सरकारले निर्णय गरे पनि अहिलेसम्म कर्मचारी व्यवस्थापन हुन सकेको छैन। वडाको संख्याका आधारमा सचिव नआए पछि एक जनाले धेरै वडाको काम गर्नुपर्दा कार्यबोझ थपिएको नगर प्रमुख नायकले बताए।

प्राविधिकले आफ्नो जिम्मेवारी निभाउने की सचिवको कठिन भएको प्राविधिक सहायक बताउँछन्। कर्मचारी अभावमा यहाँका स्थानीय तहमा कामकाजमा समस्या भएको र सरकारसँग कर्मचारी पठाउन पटकपटक आग्रह गरेको भए पनि हालसम्म पनि पदपूर्ति हुन नसकेको जिल्ला समन्वय प्रमुख सिद्धराज भट्टले बताए। ‘पहिलेको संरचनामा पनि जिल्लामा सचिवको कमी थियो,’ उनले भने ‘त्यो बेला एउटै सचिवले तीन चार गाविस हेथ्र्ये, अहिले वडाको जिम्मेवारी पहिलेभन्दा थपिएको छ, आवश्यक अनुसार कर्मचारी छैनन्।’ जिल्लामा भएका केही कर्मचारीलाई व्यवस्थापन गरिए पनि जिल्लाका अधिकांश स्थानीय तहमा समस्या देखिएको जिल्ला समन्वय प्रमुख भट्टले बताए।

सिंहदरबारको अधिकार गाउँमै दिने भन्दै संघीय संरचना कार्यान्वयनमा आए पनि सर्वसाधारणले सोचे अनुरुप सरकारी सेवा पाउन सकेका छैनन्। कर्मचारी अभाव र भौतिक संरचनाकै कमीले स्थानीय तहको कार्यसम्पादन पनि सन्तोशजनक हुन नसकेको स्थानीय तहले बताएका छन्। स्थानीय तहमा आवश्यक मात्रामा कर्मचारी नहुँदा सेवाप्रवाहदेखि योजना बनाउन समस्या हुने गरेको छ।

स्थानीय तहमा सचिव मात्र होइन अन्य कर्मचारीको पनि अभाव छ। विषयगत शाखाहरुमा पनि कर्मचारी छैनन्। ‘सबै जिम्मेवारी स्थानीय तहलाई थुपारिएको छ,’ अधिवक्ता लक्ष्मीदत्त पाण्डेयले भने, ‘तर आवश्यक कर्मचारी व्यवस्थापन नहुँदा समस्या उत्पन्न भएको छ।’

जिल्लाका केही स्थानीय तहमा नासुले प्रमुख प्रशासकीयको जिम्मेवारी निभाउँदै आएका छन्। अधिकृतस्तरको कर्मचारी बस्नु पर्ने स्थानीय तहसमेत निमिक्तको भरमा चल्दै आएका छन्।

प्रकाशित: १६ कार्तिक २०७६ ११:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App