पुस्तक

सुकन्याले सम्हालेका पारिजातका पत्र

शनिबार, १६ कार्तिक २०७६, ११ : १० नीरज लवजू

पारिजातले उपचारका क्रममा भारतको नयाँ दिल्ली र बनारस छँदा पठाएका पत्र बहिनी सुकन्याले सम्हालेर राखेकी रहिछिन्। आफ्नो नजिकको मान्छेले पठाएका पत्र जतिसुकै अक्षरका भए पनि निकै प्यारो लाग्नु स्वाभाविक हो। त्यस्ता प्यारा पत्रलाई सबैले सकेसम्म जतनका साथ राखेका हुन्छन्। सुकन्या पारिजातको जीवनको सबभन्दा नजिकको मानिस, पारिजात पनि सुकन्याको सबभन्दा नजिकको मानिस। त्यसैले पनि पारिजातले लेखेका प्रत्येक अक्षरसँग सुकन्याको भावनात्मक सम्बन्ध जोडिएको हुनुपर्छ।

सुकन्याले जतन गरेका तिनै पत्र आज पुस्तकको रूपमा प्रकाशित भएको छ। पुस्तकको नाम जुराइएको छ– अपराजिता, पारिजातका चिठीहरू।

पारिजातलाई कुँजोपनाको शारीरिक समस्या थियो। त्यही रोगको उपचारका लागि उनी भारतको नयाँदिल्ली पुगेकी थिइन्। भारत बसाइका क्रममा बहिनीलाई लेखिएको चिठी नै ‘अपराजिता’मा संकलन गरिएका छन्। पत्रहरू सायद कुनै बेला प्रकाशन गर्ने मनसायले लेखिएका थिएनन्। नितान्त व्यक्तिगत पत्रहरू हुन्। आफ्नो हालखबर र अवस्था सम्प्रेषण गर्न, परिवारको हालखबर बुझ्न, सूचना सम्प्रेषण गर्न ती पत्रहरू लेखिएका थिए।

साझा प्रकाशनप्रति उनी रिस पोख्छिन्, ‘साझाबाट म्यानुस्क्रिप्ट ल्याएर थपक्क राख्नू। कागजको महँगीभन्दा पनि चार–पाँच वटा कथाको विचारको महँगी भएको हो। पैसा भए आफैँ छपाउनुपर्ला।’

पारिजात आज नेपाली साहित्यका मुर्धन्य साहित्यकारमध्ये पर्छिन्। पारिजात आज सार्वजनिक व्यक्तित्व हुन्। त्यसकारण उनले आफ्नो व्यक्तिगत विषयमा लेखेका कतिपय कुरा सार्वजनिक चासो र रुचिको विषय बनेका छन्। यस्ता कतिपय पत्रले पारिजातका विभिन्न साहित्यमा आएका पात्र निर्माणका पृष्ठभूमि बुझ्न अध्येतालाई सहज हुनसक्छ। सङ्कलित पत्रहरू पारिजातका व्यक्तिगत जीवनका अनौपचारिक मसिना कुरा केलाउने माध्यम हुन सक्छन्।

सन् १९७३ को फेब्रुअरी ३ देखि सन् १९७५ फेब्रुअरी १३ सम्म दुई वर्षको अवधिमा पारिजातले लेखेका ५० वटा पत्र पुस्तकमा संकलित छन्। दुई वर्षको अवधिमा मानिसको जीवनमा धेरै खालका परिवर्तन र विषयवस्तु आउने गर्छन्। मानिसका मनमा असंख्य कुरा खेलिसकेका हुन्छन् र असंख्य मनोभावनाको विकास भइसकेको हुन्छ। उपचारका लागि विदेशमा बसेकी कवि मनकी पारिजातमा पनि यो अवधिमा धेरै कुरा खेलेको उनले बहिनीलाई लेखेका पत्रमा देखिन्छ। उनले हरेक दिन आफूले उपचारका क्रममा भोग्नुपरेका समस्या र अनमन्यस्क भाव पत्रमा लेखेकी छिन्। सुरु–सुरुका पत्रमा पारिजात आफ्नो रोगले निकै हतासिएको महसुस हुन्छ। उपचारका लागि गर्नुपरेको दौडधूपबाट उनी आजित भएकी हुन्छिन्। कतिबेला उनी आफ्नो बहिनीलाई भावनात्मक कुरा गरेर मन सम्हाल्ने कोसिस गर्छिन् त, कतिबेला बहिनीलाई धेरै दुःख दिएकामा क्षमा माग्छिन्। सन् १९७३ को भाइटीकाको दिन उनी लेख्छिन्, ‘गृहस्थी तिमीहरू दुई जनाको हो। (पारिजातले यहाँ सुकन्याका श्रीमानलाई संकेत गरेकी छिन्) तिमीहरू दुईजना त्यस गृहस्थीका प्रमुख हौ। म तेरो गृहस्थीको धड होइन, ऐंजेरु हुँ, जसलाई तिमीहरूले मलजल पु-याउनुपर्छ अर्थात् पु-याइराखेका छौ। यति भन्दा त“त फेरि चित्त दुखाउँछेस् नि’

कुनै पत्रमा उनी आफ्नो अकर्मण्यताप्रति खेद पोख्छिन्। भन्छिन्, ‘जीवनको ट्रकड्राइभर मै हुँ भनेको म त स्टेरिङ मात्र समात्दोरहेछु, मोड अरुले नै काट्दो रहेछ।’

कुनै पत्रमा उनी आफ्नो अकर्मण्यताप्रति खेद पोख्छिन्। भन्छिन्, ‘जीवनको ट्रकड्राइभर मै हुँ भनेको त म त स्टेरिङ मात्र समात्दोरहेछु, मोड त अरुले नै काट्दो रहेछ।’

पारिजातले पत्रहरूमा आफूले सोचेभन्दा लामो समय भारतमा उपचारका लागि बस्नुपरेको विस्मात पोखेकी छिन्। केही चिकित्सकप्रति उनी कृतज्ञता व्यक्त गर्छिन् भने कतिबेला कोही चिकित्सकको व्यवहारबाट उनी आजित हुन्छिन्। कतिबेला पारिजात घरमा पालिएका कुकुरहरूको चिन्ता गर्छिन् भने कतिबेला बारीमा के कस्ता सागसब्जी फलेको छ भन्ने विषयमा चासो राख्छिन्।

पारिजात कुनै पत्रमा कोही भारतीय नागरिकको व्यवहारबाट वाक्क भएर रिस पोख्छिन्। लेख्छिन्– सामन्तवाद उन्मूलन भयो रे यहाँ। तर, पुँजीपतिको धाकवाद कम खतरनाक रहेनछ। जनता पनि फेरि लिसो नै रहेछ। बुढोले हिजो मलाई ‘किस बिरादरीकी है ? किस जातिकी है ?’ भनेर सोध्यो। यस्तो रिस उठेको थियो तर विदेशमा सहनु पर्दोरहेछ। आइमाई देखेर हेप्न खोज्छ, धोती  मेरो त रगत उम्लिन्छ। चोर भाते बूढाको धर्मशालाको विरुद्ध यस्ता नराम्रो लेखेर म टाइम्स अफ इन्डियालाई दिन्छु। पछि आउने नेपालीहरूले यहा“ बस्न नपाऊलान् भन्ने डरले मात्र हो नत्र ’

भारतका सरकारी अस्पतालको अवस्थाको विषयमा उनी आफ्ना अटेसमटेस गुनासा पत्रमा पोख्छिन्। उनलाई अस्पताल ‘प्लेटफर्म जस्तो’ र बिरामीहरू पनि ‘आवारा जस्ता’ लागेको पत्रमा लेखेकी छिन्।

पुस्तकमा संकलित सुरु–सुरुका पत्रहरूमा पारिजातले बढी व्यक्तिगत कुरा, हालखबर बताउने र सोध्ने गरेकी छिन्। तर, पछिल्ला पत्रहरू केही लामा छन् र उनले व्यक्तिगत कुराबाहेक अरु विषयमा पनि आफ्ना धारणा पोखेकी छिन्। उनले आईबी राईका साहित्य, भारतका नक्सलवादी आन्दोलन, भारतका सहरमा अपराध र धर्मको नाममा बढिरहेको विकृतिका कुरा आदि लेखेकी छिन्। उनले आफ्ना कृति प्रकाशन गर्ने जिम्मा लिएर पनि नछापेकामा साहित्यिक संस्थाहरूप्रति आक्रोश पोखेकी छिन्। जस्तोः साझा प्रकाशनप्रति उनी रिस पोख्छिन्, ‘साझाबाट म्यानुस्क्रिप्ट ल्याएर थपक्क राख्नू। कागजको महँगीभन्दा पनि चार–पा“च वटा कथाको विचारको मह“गी भएको हो। पैसा भए आफै“ छपाउनुपर्ला।’

७ डिसेम्बर १९७४ मा लेखेको एउटा पत्रमा पारिजातले लप्सीको अमिलोप्रतिको मोह यसरी व्यक्त गरेकी छिन्, ‘नो लप्सी, नो लाइफ। लप्सी पनि खान नपाएपछि त के बाँच्नु ?’ यस्ता शब्दहरूले पारिजातको स्वभावबारे पाठकलाई जानकार बनाउ“छ।

कतिबेला उनी निराशा पोख्छिन्, ‘शरीरप्रति मलाई त्यति मायामोह छैन, सुकन। मृत्युले के गर्छ र ? एउटा मीठो छुटकारा दिन्छ, शारीरिक यातनाहरूदेखि।’

फेरि सन् १९७५ को १३ फेब्रुअरीमा पारिजातले बनारसबाट लेखिन्, ‘जति धोका, विश्वासघातहरू भए, ती सबैले पनि मलाई सही मान्छे बनाउनमा मद्दत पु-याएका छन्। विगतलाई लिएर मसँग रतिभर गुनासो छैन। जे भए, राम्रै भए। सबैले मलाई सुमसुम्याएर काँधमा नचढाएका भए अथवा मसँग छलकपट पनि नचलेको भएदेखि सुकन्या, म त निकृष्ट नमुनाको फोसिल र ब्याक्टेरिया भइसक्थेँ।’

नयाँदिल्लीबाट १६ डिसेम्बर १९७४ मा लेखेको पत्रमा पारिजातले त्यहाँका विद्रोही नक्सलवादीहरूसँगको भेटबारे चर्चा गरेकी छिन्। उनले नक्सलवादी कार्यकर्ताको प्रशंसा गरेकी छिन्। नक्सलवादीहरूसँगको भेटपछि उनले लेखिन्, ‘हाम्राहरू त किताबी बडप्पन, कम्युनिस्ट हुँ भन्ने अतिरिक्त घमण्ड, कसैलाई कन्भिन्स गराउन परे ‘तिम्रो कुरा माक्र्सवादसँग मिलेन, तिम्रो त राजनीति नै भएन, तिमी केही पनि जान्दैनौ’ यस्तै–यस्तै भनीकन अरुलाई डाउन गर्ने प्रवृत्ति... बाबै ’

पारिजातको पत्र लेखनप्रतिको मोह भने अचम्मलाग्दो छ। कतिबेला दिनदिनैजसो पत्र लेखेकी छिन्। स–साना कुरा पनि सम्झेर लेखेकी छिन्। मानिसका सबै भावना–आक्रोश, माया, सद्भाव, प्रेम, दिक्दारी सबै शब्दमा पोखेकी छिन्। सायद आजभोलि यस्ता सबै भावना पोख्न मानिसले सामाजिक सञ्जालमा विभिन्न इमोजी प्रयोग गर्दा हुन्। पत्र–मञ्जुषाको धेरै भाग आज सञ्चारका आधुनिक प्रविधिका विभिन्न माध्यमबाट पूरा भइरहेका छन्। पत्र व्यवहार आजको पुस्ताका लागि अपरिचित बनिसकेको छ। चिन्ता त सुकन्याले जस्तै आजभोलिका पत्र व्यवहार जतन गरेर भविष्यमा प्रकाशित होला–नहोला। पत्र साहित्यको भविष्य कस्तो होला ?







यसमा तपाईको मत

अन्य समाचार

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

१९७४ एडीको "निरन्तरता" (भिडियो)

१९७४ एडीको "निरन्तरता" (भिडियो)

सांगीतिक रक ब्याण्ड १९७४ एडीका पुराना सदस्यहरु रियुनाइटेड भए लगतै सांगीतिक कार्यक्रममा जुटिरहेको छ। ...

यस्तो छ दराज ११.११ सेलको फाइदा

यस्तो छ दराज ११.११ सेलको फाइदा

नेपालको अनलाइन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११...

साओमीको सर्भिस सेन्टर थपिए

साओमीको सर्भिस सेन्टर थपिए

साओमीले नेपालका लागि थप आधिकारिक सर्भिस सेन्टर घोषणा गरेको छ । ...

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

नेपाल विज्ञापन संघ (आन) को आयोजना र सामाजिक सुरक्षा कोषको प्राविधिक सहयोगमा ‘सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ...

जनता बैंकको सहयोग

जनता बैंकको सहयोग

जनता बैंक नेपालले क्याम्पसलाई सहयोग गरेको छ । ...

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

ब्रिटिस कलेजले इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक क्याम्पस र इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकोे साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अन्तर्राष्ट्रिय...

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

प्रोसेसरको दौडमा इन्टेल पछि पर्दै ! ...

Ncell Footer Ad