६ वैशाख २०८१ बिहीबार
अन्य

बसमा निदाएर अर्कै देश पुग्दा

ईश्वर रौनियार

तपाईंहरुलाई यात्राका बेला गाडीमा निदाउने बानी छ कि ? कहिलेकाहीँ निद्राको तालमा ओर्लने ठाउँ कटेर पर पुग्नुभएको छ कि छैन ? मलाई भने यस्तो धेरैपटक भएको छ। एकपटक त म निदाएर एउटा देशै कटेर अर्को देश पुगेको छु।
कुरो एक वर्ष अघिको हो।
एउटा फोटो प्रतियोगितामा फाइनलमा पुगेकाले ‘अवार्ड’ लिन मलाई बेल्जियमको राजधानी ब्रसेल्स बोलाइयो। उत्साहका साथ म त्यहाँ पुगेँ।

केही समय बाँकी भएकाले मित्र (मुकुन्द नेपाल)को सुझाव मान्दै म फ्रान्सको पेरिस सहरतिर हानिएँ। चार–पाँच घण्टाको यात्रापछि पेरिस पुगेँ। एफिल टावरमा केहीबेर झुम्मिएँ, सेल्फी लिएँ।
बेलुका बस चढेर ब्रसेल्सतिर फर्किएँ।

आनन्दको यात्रा, मज्जाका सडक र दृश्यहरु। रात पर्दै गयो। बाहिरका दृश्य धमिलिँदै गए। बसभित्र बलेको बत्तीले ध्यान तान्दै गयो। मान्छेहरु कोही चढ्दै गए, कोही ओर्लंदै। त्यसबीचमा मलाई निद्राले च्याप्दै लग्यो। सम्हालिँदै ब्युँझन खोज्थेँ, फेरि झुकिहाल्थेँ। निदाउने र ब्युँझिने गर्दागर्दै कतिबेला निदाउन पुगेँछु, त्यसपछि के भयो थाहा भएन।
मध्यरातमा ‘पासपोर्ट प्लिज’ भन्दै एक हतियारधारी सुरक्षाकर्मीले ब्युँझायो।

झसंग भएर उठेँ। घडी हेरेको त १ बजिसकेको रहेछ। मैले मेरा मित्रले भनेको कुरा सम्झिएँ, ‘बस साढे ११ सम्म पुग्छ है।’

फेरि सोचेँ, केही ढिला भयो होला, या कतै जाममा परियो कि ! त्यो सुरक्षाकर्मीलाई पासपोर्ट बुझाएँ  ‘नेपलिज ?’ भन्यो र फिर्ता दियो।

पेरिसबाट ब्रसेल्सतिर आउँदै थिएँ। आनन्दको यात्रा, मज्जाका सडक र दृश्यहरु। रात पर्दै गयो। मलाई निद्राले च्याप्दै लग्यो र निदाएँछु। मध्यरातमा ‘पासपोर्ट प्लिज’ भन्दै एक हतियारधारी सुरक्षाकर्मीले ब्युँझायो। म त जर्मनी आइपुगेको रहेछु।

अरु तीन–चारजनालाई केहीबेर तल झा-यो, खोइ के ग-यो, १५–२० मिनेटपछि भित्र पठायो। अनि गाडी हुँइकियो– उही रफ्तार, उही मज्जाका सडकहरू।
मलाई शंका लाग्यो र नजिकैको सिटमा बसेका यात्रीलाई सोधेँ, ‘कहाँ आइपुगियो ?’

उसले भन्यो, ‘जर्मनी छिरिसकियो।’ मेरो त सातोपुत्लो उड्यो, अक्क न बक्क भएँ। हतारहतार सोधेँ, ‘यो बस त ब्रसेल्स जाने होइन र ?’ उनको उत्तर आयो। होइन, कोपनहेगन, डेनमार्कको राजधानी। त्यहाँसम्म आइपुग्दा मैले बेल्जियम मात्र कटेको रहेनछु। नेदेरल्यान्ड्स पनि पार गरेको रहेछु।

सेन्जेन भिसा भएकाले खासै समस्या थिएन, तर भोलिपल्ट ११ बजे कार्यक्रम थियो। त्यो कार्यक्रम, जसद्वारा मलाई टिकट खर्च, खानाबस्न सबैको व्यवस्था गरेर बोलाइएको थियो। उसलाई के जवाफ दिने ? कार्यक्रममा उपस्थित हुन सकिएन भने अन्तर्राष्ट्रियस्तरको बेइज्जत हुने भो भन्ने कुराले मन झन् पिरोलियो।

यता, फ्रान्सदेखि बेल्जियमसम्मको बसको टिकट काटिदिने मित्र नेपालमै थिए। उनलाई फोन म्यासेज गर्ने प्रयास गरेँ, सफल भइनँ।
पछि श्रीमतीलाई भनेँ, ‘म हराएँ, मुकुन्दलाई मलाई तुरुन्त म्यासेज गर्न भन्नु।’
 
उनी पनि आत्तिइन् क्यार ! त्यसपछि म्यासेजका म्यासेज आउन थाल्यो।
मोबाइलको ब्याट्री पनि ‘लो’ हुँदै गयो।

धन्न नजिकैका एक यात्रु अंग्रेजी बोल्दा रहेछन्। उनीसँग पावर बैंक पनि रहेछ। त्यही मागेर मोबाइल चार्ज गरेँ। आफू ब्रसेल्समै झर्नुपर्ने, तर निदाएर यहाँसम्म आइपुगेको उसलाई सुनाएँ। ती साथीले तत्काल ड्राइभरसँग कुरा गर्न सुझाए। मैले ड्राइभरसँग कुरा गरेँ। उसले मैले जति पनि अंग्रेजी बोल्न नजान्दो रहेछ, तर मेरो कुरो बुझ्यो र अलिकति रिसायो पनि। मैले भनिरहेँ, ‘आई एम सरी, इट्स माई फल्ट। बट आई निड टु रिच ब्रसेल्स बाई इलाभेन।’
यता साथीसँग पनि सम्पर्क भयो। मैले उसलाई भनेँ, ‘कुनै फ्लाइट, उबर, ट्रेन जे जे भए पनि खोज्दिनुस्।’

उनले कोसिस गरे, तर भेटेनन्। अन्तमा म्युनिस्टर भन्ने ठाउँमा ब्रसेल्सका लागि ट्रेन पाउने थाहा पाएँ। त्यतिबेलासम्म युरोपको समय अनुसार, झन्डै तीन बजिसकेको थियो। र, म्युनिस्टर पुग्न अझै तीन घन्टा यात्रा गर्नुपर्ने थियो। ड्राइभरसँग फेरि कुरा गरेँ, उसले पनि त्यहीँ झर्न सुझायो। मेरो अवस्था देखेर होला, उसले थप पैसा लिएन।

म्युनिस्टरबाट एउटा ट्रेन ६ः३५ मा ब्रसेल्स जाने बाटोतिर जाने रैछ, तर बीचमा अर्को ट्रेन फेर्नुपर्ने। काउन्टर बन्द थियो, ६ः३० बजे मात्र काउन्टर खुल्ने रहेछ। काउन्टर अगाडि मान्छेहरु लाइन लागिसकेका थिए।

यता नेपालका साथीको पनि अन्तर्राष्ट्रिय कार्डमा पैसा सकिएछ, अनलाइन टिकट काट्नलाई। पछि उनले अर्का साथीसँग पैसा मागेर टिकट काटेर पठाइदिए र मैले ट्रेन समातेँ।

बाटोमा जो–जो भेटिन्थे, सबैसँग मैले आफू हराएको कुरा गर्र्थें। त्यही यात्रामा एकजना फ्रेन्च भेटिए। संयोगले उनी म उत्रने ठाउँमै उत्रिएर ब्रसेल्स जाने ट्रेनमै फ्रान्स जाने रहेछन्। मन शान्त भयो। लामो श्वास फेरेँ। तर, समयमै पुगिने हो कि होइन भन्ने पीर थियो।
ती फ्रान्सेली मित्रले मेरो कुरा चाख मानेर सुने। उनले मैले खिचेका केही तस्बिर पनि हेरे, राम्रै कुरा भयो।

तोकिएको समय अनुसार रेल पाए म ११ बजे ब्रसेल्स पुग्नेवाला थिएँ। म रेलबाट जहाँ ओर्लन्थेँ, त्यहाँबाट कार्यक्रम स्थलसम्मको दूरी ट्याक्सीमा १० देखि १५ मिनेट जतिको थियो। कार्यक्रम ठ्याक्कै ११ः३० मा सुरु हुँदै थियो। पहिलो वक्ता म नै थिएँ।

मैले आयोजकलाई आफू हराएर जर्मनी पुगेको र समयमै कार्यक्रम स्थल आउने गरी यात्रा गरिरहेको म्यासेज गरेँ। तर, उनीहरूको म्यासेजबाट रिसाएको अनुमान लगाउन सकिन्थ्यो। नरिसाऊन् पनि कसरी ! त्यत्रो खर्च गरी बोलाएका थिए।

सोच्दासोच्दै झर्ने ठाउँ आइपुग्यो। झरेको १० मिनेट जतिमा अर्को ट्रेन थियो। ती फ्रान्सेली नागरिकको पछि लागिरहेँ। नभन्दै १० मिनटमै ट्रेन आयो। अनि चढियो। अलि आस जागेर आयो, समयमा पुगिन्छ क्यारे।

मनभरि हुरी चलिरहेकै थियो। म किन फ्रान्स गएँ ? कार्यक्रम सकेर गएको भए पनि हुन्थ्यो ! गल्ती मेरै हो। त्यत्रो इफिल टावर घुमेर पनि रमाइलो महसुस गर्न सकिनँ। समयमै कार्यक्रममा पुगिनँ भने साथीहरुलाई के भन्ने, आफ्नै अफिसलाई के भन्ने ? आयोजकले के भन्ने हुन्। कार्यक्रममा नपुगेका कारण फर्कने टिकट दिएन भने के गर्ने ? यस्तै कुरा मनमा खेलिरहेका थिए।

सौभाग्यवश, ठ्याक्कै ११ बजे ब्रसेल्सको ट्रेन स्टेसन पुगियो। हतार–हतार ट्याक्सी खोजेँ। ट्याक्सी ड्राइभरलाई आफ्नो समस्या सुनाएँ। उसले ट्याक्सी अलि छिटो कुदायो।

लुगा हेरेको मैलो भइसकेको रहेछ। खासमा यही कार्यक्रममा अलि हिरो भएर जाऊँला भनेर एउटा कोट किनेको थिएँ, जुन ब्रसेल्सको होटलमा थियो, तर होटलसम्म जाने समय थिएन। सेतै फूलेको दारी काट्ने पनि समय भएन। धन्न आफूले काम गर्ने संस्थाको एउटा नयाँ टिसर्ट हाते झोलामै बोकेको रहेछु। ट्याक्सीमै चेन्ज गरेँ।

ठीक ११ः१५ मा कार्यक्रम स्थलमा पुगेर आयोजकलाई फोन गरेँ। उनी हतार–हतार बाहिर आए, सुरक्षा जाँचलाई सहज बनाउन।

११ः२५ तिर कार्यक्रम हुने ठाउँमा पुग्न सफल भएँ। त्यतिबेलासम्म म हराएको हल्ला फैलिइसकेको रहेछ। सबैजना मतिर हेरेर हाँस्न थाले। म फेरि हतार–हतार बाथरुम गएर हातमुख धोएँ। ब्रस गर्न भने भ्याइनँ।

कार्यक्रममा आफ्ना केही कुरा राखियो र लामो श्वास फेरियो। नेपालमा रहेका मुकुन्दलाई फोन गरेर धन्यवाद दिएँ, जसले मलाई ब्रसेल्ससम्म आउने सघाएका थिए।

अगुल्टोले हानेको कुकुर बिजुली देख्दा तर्सन्छ भनेझैँ अचेल म बस वा रेलमा यात्रा गर्दा अलि बढी नै चनाखो हुने गरेको छु।

प्रकाशित: १६ कार्तिक २०७६ ०५:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App