कथा

पर्खाल

शनिबार, १६ कार्तिक २०७६, १० : ४६ नागरिक

विक्रमभक्त जोशी

‘खर्खर खर्खर’ आवाज सुनिन थाल्छ। घडी हेर्नैपर्दैन। साँझको ५ बजेको हुनुपर्छ। यति नै खेर, हरेक दिन, यही आवाजसंँगै उसको शिथिल यात्रा सुरु हुन्छ। कुनै अकुशल कालिगडले हतारमा ठोकठाक गरी बनाएको जस्तो काठको ठेला ठेल्दै ऊ हिँड्छ। त्यो ठेला, जुन उसको हिँडाइको सहारा हो। लाग्छ, त्यसका चार पाङ्ग्रा उसका लत्रिएका दुवै खुट्टाका प्रतिस्थापन हुन्। ठेलाको काठे फ्रेम उसको लुलो शरीरको आडभरोसा हो। जसको भरमा ऊ सीधा उभिन्छ। अनि हिँडाइलाई गति दिन्छ।

त्यो हिँडाइ, के हिँडाइ भन्नु ! झन्डै–झन्डै घिस्राइ। देव्रे खुट्टा अघि सा-यो, ठेलालाई घचेट्यो, अनि टेढो परेको दाहिने खुट्टा अघि सा-यो। टेक्न पाएको छैन, जिउ स्वाट्टै लच्किन्थ्यो, लच्केर बांगो परेको जिउले बल लगाएर ठेलालाई घचेट्यो। उही प्रक्रिया पुनरावृत्त ग-यो। ब्याट्रीले चलेको मेसिनसरि एउटै तालमा, एउटै लयमा उसको यात्रा चल्थ्यो, सुस्तसुस्त। अरुले १० पाइला चालिसक्दा ऊ दोस्रो पाइला चाल्दै हुन्थ्यो।

तर, कुनै अफसोस उसको देखिन्न मुहारमा। कसैले उसको अनुहार हे¥यो कि ऊ हाँसिहाल्छ, खरायोका जस्ता लामालामा दाँत छ्याङ्ग देखाउँदै, मुख थोरै बांगो पार्दै।
तिम्रो नाम के हो भनेर कसैले सोधे मुख बग्याउँदै भन्छ, ‘इयन।’

मिलन हो उसको नाम, उसले भनेको पनि त्यही हो, तर सुन्नेले ‘इयन’ सुन्छ, सुनिन्छ नै त्यस्तै। नाम उनको जेसुकै होस्, तर सबै उसलाई ‘बांगे’ भनेर चिन्थे। ऊ बांगिँदै जो हिँड्छ।।

ऊ जन्मिँदा मासुको थुप्रो जस्तो थियो रे, लल्याकलुलुक। अनौठा सन्तान काखमा लिएर उसकी आमा खुब रोएकी थिइन्। बाउ चैं मासुको थुप्रोमा छोरोको अनुहारको बान्की खोज्दै भक्कानिएका थिए। भगवान्ले सन्तान त दिए, तर कस्तो ? बाउ भाग्यलाई सराप्थे। आमा भने मातृमोहले ओतप्रोत भई आफ्नो छोरोको बान्की नपरेको अनुहार हेरेर त्यसैत्यसै पग्लिन्थी। बिचरा, यस्तो बन्नुमा यसको के दोष ?

सिमु कहिले आउँथी, कहिले आउँदिनथी। जुन दिन आउँथी, मिलनको हर्ष अनुहारैभरि पोतिन्थ्यो। सडक पारिबाट घाँटी तन्काइतन्काई गेट भित्रसम्म चियाइचियाई हेथ्र्यो। हिम्मतै गरेर पर्खालवारि ढेपिन पुग्थ्यो। उसलाई थाहा छ, पर्खालपारि कतै सिमु छे।

दुवै मिलेर साह्रै दुःखजिलो गरेर फरक क्षमताका छोरोलाई हुर्काए। वैद्य, डाक्टर, झारफुक के मात्र गरेनन् ? अनौठा–अनौठा तेलको मालिस, अनौठा–अनौठा थेरापी। सानो किराना पसलको आम्दानीले के भ्याउनु– गाउँतिरको जग्गाजमिन पनि बेचे। बाउ हुनुको कर्तव्य निभाए। आमा हुनुको धर्म निभाए। छोरालाई उनको कर्म दिए।

वर्षौंसम्म यिनीहरूले आफ्नो छोरोको स्थितिलाई डाक्टरहरूले दिएको नाम ठीक तरिकाले उच्चारणसम्म गर्न जानेनन्।

‘खै ! के जाति हो, अटे प-या भन्छन् कि के पो भन्छन्। पढ्या–लेख्या छैनौँ। के बुझ्नु ? भगवान्ले यिनलाई ठगेछन्। यतिसम्म बुझ्छौं।’ कसैले आफ्नो छोरोबारे सोधे बाउले दिने जवाफ यस्तै हो।

मिलनको रोग– अटिस्टिक स्पेक्ट्रम डिसअर्डर, छोटकरीमा एएसडी, चलनचल्तीमा अटिजम। उसको बाउआमाले बुझेको– ‘अटे प-या’।

भैंसेपाटी आवास क्षेत्रको मगरगाउँ नजिकैको खुला ठाउँ। साँझपख यो ठाउँबाट पश्चिमतिर फर्केर हेर्ने हो भने देखिने दृश्य कुनै चित्रकारको चित्रभन्दा भिन्न देखिन्न। चम्पादेवी डाँडाको बगलमा भष्मासुर डाँडा, त्यसको पछाडि छेलिएर रहेको वाणासुर डाँडा, यी दुईको दाहिनेतिर भालेश्वर मन्दिर रहेको डाँडा। केवलकारको माथिल्लो स्टेसनको देव्रेतिर डाँडाको टुप्पोमा भालेश्वर मन्दिर हुँदो हो। साँझ झमक्कै परेपछि झिलिमिली बत्ती बल्दा भने टड्कारै खुट्ट्याउन सकिन्छ– त्यसको मुनि नयाँ बनेको भालेश्वर रिसोर्ट। त्योभन्दा तल थोरै देब्रे बोसन डाँडा। अनि दाहिनेतिर चोभार। यी दुई डाँडाबीचको पृष्ठभूमिमा बाड भञ्ज्याङको मास्तिर रक्तिम रङले पोतिएको पश्चिमी क्षितिजमा सूर्यास्त हुने गर्छ।

जब सूर्य अस्त हुने तर्खरमा पश्चिम दिशातर्र्फ सुस्त–सुस्त ओरालो लाग्छ, पश्चिम दिशाबाट खर्खर आवाज सँगै मिलन खरायोका जस्ता लामा–लामा दाँत देखिने गरी फिस्स हाँस्दै, सुस्तसुस्त चाल चल्दै आइपुग्छन्, काठको ठेला ठेल्दै।

आवास क्षेत्रको पश्चिमी छेउमा एकतले दुई–चारवटा घर छन्। वरिपरिका अत्याधुनिक भवनका माझ यी घर बकुल्लाका बीच कागहरू टुसुक्क बसेका जस्ता देखिन्छन्। तिनैमध्ये एक घर मिलनको हो। यहीँबाट सुरु हुन्छ, मिलन उर्फ बाङ्गेको साँझपखको फन्के यात्रा। आवास क्षेत्रको सडकै सडक खर्खर पार्दै एक फन्को मारेर घर फर्किने उनको समयसारिणीमा आजभोलि भने परिवर्तन आएको छ। भन्ने नै हो भने केही दिन भयो, मिलनको चालमा मदमस्ती छाएको छ। गतिमा पनि तेज छ। ऊ छिनछिनमा बिनसित्ति हाँस्छ, एक्लै आफैँसित। अनि, सकिनसकी सडकको पेटी उक्लेर छेउको पर्खालमा ढेपिन पुग्छ। झ्याङबाट थोरै आफू छेलिन्छ। होँचो परेको पर्खालपारि केही नियाल्छ र घन्टौँ त्यतै मूर्तिवत उभिन्छ।
०००
‘के मगाउँ ?’ मेनु खेलाउँदै रजनीले सोधी।
‘मलाई क्यापुचिनो एन्ड वन हवाइयन पिज्जा। मलाई त भोक ला’छ। सिङ्गै खान्छु। यु चुज वन फर योर सेल्फ।’ मोबाइलबाट आँखै नहटाईकन सिमुले जवाफ दिइन्।
रजनीले आफ्ना लागि एउटा मिल्क टी र क्लब स्यान्डविच मगाइन्।
‘ह्याऽऽ कति मोबाइल चलाइ’रा भन्या,’ रजनी झर्किई।
‘पख न, एउटा मेसेज पठाउँछु के।’
‘कल्लाई ? असीमलाई हो ?’ रजनी खिल्खिलाएर हाँसी।
‘छ्याऽऽ कोई नपाएर त्यो झारपात। जेपिटी।’
‘तेरो डाइहार्ट फ्यान हो त।’
‘भा’भै भो। त्यो त जसको नि डाइहार्ट फ्यान हो। केटी भने’सि हुरुक्कै हुनेको कुरै नगर। हिज् अ पर्वर्ट,’ मोबाइल टेबलमा राखेर सिमुले भनी।
‘त्यति सारो नि नभन न। ह्यान्सी छ नि केटो। अस्ति तेरो लागि बर्थडे गिफ्ट के दिम् भनेर मलाई सोध्दै थ्यो।’
‘कमन। गिमी अ ब्रेक। त्यसको गिफ्ट लिन्छु होला नि। हाउ डेयर ही ?’
‘लिने नि। मलाई दिया भए त हाउ स्विट भन्थेँ।’
‘तैँ राख् न त।’
‘अऽऽ आई विस।’
ब्याकग्राउन्डमा बु्रनो मार्सको गाना ‘द्याट्स ह्वाट आई लाइक’ बज्न थाल्यो। रजनी गानाको तालमा मुन्टो हल्लाउन थाली। अचानक उनको आँखा क्याफेको पर्खालमा प¥यो। कोही पर्खालपारि उभिएर यतै हेर्दै थियो।
‘ओई, हेर न, त्यहाँ को पो उभि’राछ।’
‘खै ? काँ ?’
‘ऊ, उता। उता हेर न उता, नक्कली !’
‘ए हो त, को रैछ हगि ? कोही माग्ने पो हो कि ?’
सिमुले वेटरसँग कम्प्लेन गर्छे, ‘त्यो को हो ? बारम्बार यता हेरिरहेको छ।’ एकछिनमा क्याफेका गार्डले हप्कीदप्की गरेको सुनियो। त्यसपछि खर्खर आवाज निकाल्दै मिलन काठको ठेला ठेल्दै पश्चिमतिर लाग्यो।
‘सरी म्याम। यतैको लोकल हो। डिसेबल्ड। यतै घुमिबस्छ। हार्मलेस छ। केही गर्दैन।’
‘हाउ स्केरी !’ आँखा पर्लक्क पारेर रजनीले स्वाङ पारी।
‘ह्याऽऽ ओभर रियाक्ट नगर् न। कति न तँलाई झम्टिनै आको जस्तो। हेरेकै न हो। के नै ग¥या छ र ! खा छिटो। आज दिज्यु आइसिन्छ। घर छिटो पुग्नु छ।’
आज मिलन पनि अरु बेला भन्दा छिटै घर पुग्यो।
०००

शारीरिक रूपमा विकास नभए पनि मिलनको उमेरले जवानीको संघार टेकिसकेको थियो। हेर्दा सानै देखिए पनि मनमा जवानीले काउकुती हाल्न थालिसकेको थियो।

उसले जबदेखि सिमुलाई देख्यो, उसको मन अनौठो भावनाले ओतप्रोत हुन थालेको थियो। सिमुलाई उसले क्याफेको ढोकामा उभिएको देखेको थियो, तीन दिनअघि। अहिलेसम्म उसले यति सुन्दर अनुहार देखेकै थिएन। ठूलाठूला आँखाको कुना–कुनामा माछाको पुच्छर आकारमा सर्लक्क कोरेको गाजलले आँखाको सुन्दरता अझ बढाएको थियो। जब सिमुको कुमकुमसम्म झरेको हल्का खैरो कपाललाई हावाको मन्दमन्द झोँक्काले फिर्फिर हल्लाउँथ्यो, यस्तो लाग्थ्यो मानौँ पहाडको टुप्पोबाट झरेको झरना हावामा बत्तिँदै छ। उनको शरीरबाट निस्कने मगमाउँदो सुवासले मिलनलाई हजारौँ फूलहरूको आभास दिलाउँथ्यो। ऊ सानो छँदा आमाले सुनाउने कथाहरूमा बादल पारिबाट उड्दै आउने परी यस्तै त हुँदो हो, ऊ कल्पना गथ्र्यो।

त्यसपछिका हरेक रात उसलाई सपनीमा तिनै सिमुको रूप धरेकी परीले पछ्याउन थालेकी थिई। उड्दै उड्दै परी उसको घरको आँगनमा आउँथी, राजहंसको जस्तै सेतो फराकिलो पखेटा फिँजाएर। उसको आँगन कुनै दरबारको पटाङ्गिनीमा बदलिन्थ्यो। ऊ आफूलाई कुनै देशको राजकुमारका रूपमा पाउँथ्यो। गमक्क फुलेर राजकीय ठाँटसित सिंहासनमा पसारिएका हुन्थ्यो। परीले उसलाई आफ्नो न्यानो अँगालोमा बेर्थी। अलौकिक आनन्दमा रम्दारम्दै ऊ आधाउधीमै निद्राबाट ब्युँझिन्थ्यो, अनि आफ्नो अँगालोमा सोहोरिएको सिरकको डल्लो देखेर आफैँ फिस्स हाँस्थ्यो।

आज क्याफेको गार्डले देखाएको रुखो व्यवहारले बाङ्गेलाई अप्ठेरो पा-यो। मन दुखेको थियो नै, त्योभन्दा बेसी उसको झल्को नपाउने पिरलोले गाँज्यो। पहिलोपटक उसलाई आफ्नो कुँजोपनमाथि, ठेल्दै हिँड्नुपर्ने ठेलाप्रति रिस उठ्यो। यो ठेलाले गर्दा कतै छेलिन, लुक्न पनि नमिल्ने, घाँडो। उसले आफूलाई साह्रै असहाय महसुस ग-यो।
अब बाङ्गेको फन्के घुमाई त्यही क्याफेको वरिपरि सीमित रहन थाल्यो। उसलाई थाहा थियो, साँझतिर प्रायः सिमु यही क्याफेमा आउने गर्छे। उसको एक झल्को पाउन ऊ बाटोभरि आँखा बिछ्याएर बस्थ्यो, घन्टौँ घन्टा। कहिले आउँथी, कहिले आउँदिनथी। जुन दिन आउँथी, उसको हर्ष अनुहारैभरि पोतिन्थ्यो। सडक पारिबाट घाँटी तन्काइतन्काई गेट भित्रसम्म चियाइचियाई हेथ्र्यो। हिम्मतै गरेर पर्खालवारि ढेपिन पुग्थ्यो। उसलाई थाहा छ, पर्खालपारि कतै सिमु छे। सिमुको एक झल्को पाउँदा पनि बाङ्गेको मन हरहराउँथ्यो।

सिमुका साथीले बोलाएको सुनेरै उसले नाम ‘सिमु’ भन्ने थाहा पाएको थियो। ऊ आफूले मात्र सुन्ने गरी फुस्फुसाउँथ्यो– इमु। यति सुस्तरी फुस्फुसाउँथ्यो कि मानौँ नामलाई सुमसुम्याउँदै छ।

उभिँदा उभिँदा थाकेर छिनमा बायाँ खुट्टामा उभिन्थ्यो, छिनमा दाहिनेमा। खुट्टा थाके पनि आँखा थाक्दैनथे। अब अर्कोेपल्ट कहिले देख्न पाउने होला ? यही सोचेर आँखाहरू थाक्नै मान्दैनथे।

दिन बित्दै गए। दिनचर्या उस्तै रहे, माहोल उही, क्याफेको पर्खाल उही। त्यो पर्खालमा ढेपिएर उभिने बाङ्गे उही। पर्खालपारिको कुनै टेबलमा क्यापुचिनोको चुस्की लिँदै गरेकी सिमु पनि उही। सम्बन्धहरू भने बदलिँदै गए। सिमुसँगै आउने साथीहरू बदलिए। आजकल हरेकपटक एउटा अग्लो खाइलाग्दो केटाले सिमुलाई साथ दिन थालेको थियो। सिमुसँगै त्यो केटा टाँस्सिएर बसेको उसलाई पटक्कै मन पर्दैनथ्यो। त्योभन्दा पनि दुवैले एउटै कपबाट कफी खाएको, सिमुले उसको अनुहार एकटकले हेरेर मुस्काएको, त्यो केटाले कपाल सुमसुम्याइदिएको आदि–इत्यादि झनै मन पराउँदैनथ्यो। उसलाई औडाहा हुन्थ्यो, छटपटी लाग्थ्यो। ऊ के नै गर्न सक्थ्यो र ? ऊ त सिमुका लागि एक अपरिचित पात्र थियो, कुनै भिखारी थियो।

साँझको ६ बज्नै लाग्दा सिमु र त्यो केटो हातमा हात गाँसेर क्याफेबाट बाहिरिए। केटोले के भनेछ, सिमुले उसको पाखुरामा प्याट्ट हानी र मुख छोपेर हाँस्दै बाटो काट्न लागी। केटो मन्द मुस्काउँदै पछि लाग्यो। आफूतिर आउँदै गरेका ती दुईलाई बाङ्गेले एकपटक पुलुक्क हे-यो। मन अमिलो भयो।

देव्रेतिरको चौरमा भुराभुरीहरू आ–आफ्नै तरिकाले खेलमा मस्त थिए। तिनका कल्याङमल्याङले शान्त वातावरण छिनछिनमा बिथोलिन्थ्यो। अस्ताउन लागेको घामले बाड भञ्ज्याङ माथिको आकाश विभिन्न रङले पोतिएर मनमोहक देखिएको थियो। त्यही बेला बाङ्गेको नजर अस्ताउँदो सूर्यको दिशाबाट बेतोडले हुइँकिँदै आएको बाइकमा प-योे, जुन सीधै सिमुतिर सोझिएको थियो। के गर्दैछु भन्ने सोच्न आवश्यकै परेन। कुँजिएको जिउमा अचानक शक्ति सञ्चार भयो। निमेषभर पनि समय नगुमाई उसले आफूले आफैँलाई बाइक र सिमुका बीचमा हुलिदियो।
०००

‘सिमु ! मलाई त आफू यसरी उड्न सक्छु जस्तो लागेकै थिएन। क्या रमाइलो हुने रहेछ हगि ? सेतो पंख फिँजाएर तिमी उडेको देख्दा मलाई पनि तिमीसँगै कति खेर उडुँ उडुँ जस्तो लाग्थ्यो।’

‘आउ न त, मिलन, मेरो हात समाऊ। म तिमीलाई आज बादलपारिको देश लैजान्छु। त्यहाँ केही कुराको पनि दुःख हुन्न।’
‘साँच्चि ? त्यहाँ म सहारा बिना आफ्नै खुट्टामा उभिन सक्छु ? हिँड्न सक्छु ? अरु जस्तै दौडिन सक्छु ?’
‘सक्छौ, मिलन !’
‘आहा ! हो र ? त्यहाँ हामीबीच कुनै पर्खाल पनि हुन्न ?’
‘पर्खाल हुन्न। कोही पर्खालवारिका, कोही पर्खालपारिका भन्ने नै हुन्न। सबै समान। समस्याको जड भन्नु नै पर्खाल हो, जुन त्यहाँ हुन्न।’

‘हो नि। पर्खाल पारिका साना, वारिका ठूला भन्ने कुराले न हो भेदभाव हुने। वारिको मेरो, पारिको तेरो भन्ने कुराले न हो एक–अर्का बीच वैमनस्यता बढ्ने। पर्खालै नभए पछि आनन्दै। मलाई त कहिले पुगुँ जस्तो लाग्यो– त्यो सुन्दर ठाउँ।’
‘पुग्छौँ, मिलन। अब छिटै पुग्छौँ।’
अनि त्यसपछि माथिमाथि, झन्झन् माथि उड्दैउड्दै बादलभित्र एउटा सेतो चरा सर्लक्क पस्यो।
०००







यसमा तपाईको मत

अन्य समाचार

जाडोका लागि सिजीको घरायसी सामग्री

जाडोका लागि सिजीको घरायसी सामग्री

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले नजिकिँदो जाडोलाई लक्षित गरी विभिन्न किसिमका घरायसी सामग्री बजारमा ल्याएको छ । ...

मन जित्दै सिटिजन शुभारम्भ जीवनबिमा योजना

मन जित्दै सिटिजन शुभारम्भ जीवनबिमा योजना

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालनमा ल्याएको सिटिजन शुभारम्भ जीवन बिमा योजनाले प्रचलनमा आएको केही दिनमै मन जित्न सफल भएको कम्पनीले...

सोल्टीमा पंजाबी फूड फेस्ट (भिडियो)

सोल्टीमा पंजाबी फूड फेस्ट (भिडियो)

फूड फेस्टिवलमा परम्परागत पंजाबी खाना सस्तो मूल्यमा शाकाहारी र मांसाहारी दुवै उपलब्ध छन् जुन सबै पंजाबको राजमार्ग ढाबाबाट प्रेरित छन्।

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad