coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सेनाको सिन्डिकेटले १० किलोमिटरमा ५ सय भाडा तिर्न वाध्य

माछाखोला –सोती सडकमा चल्दै गरेको बोलेरो जिप। तस्विर/नागरिक

गोरखा–आरुघाट गाउँपालिकाको सोती देखि धार्चे गाउँपालिकाको केन्द्र माछाखोलासम्म १० किलोमिटर सडकको पाँच सय भाडा लिएपछि प्रहरीले ती सवारीलाई धामाधम कारवाही गरेको छ। बढी भाडा लिने सवारीलाई शुक्रवार दिनभर कारवाही गरेपछि शनिवार (आज) देखि भाडा तीन सय कायम भएको छ। 

ईलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको ट्राफिक प्रहरी सहितको प्रहरी टोलीले उक्त रुटमा चल्ने आठ वटा रातो प्लेटका जिपलाई प्रति साधन एक हजार जरिवाना गरेको हो। ‘भाडा महँगो भयो भन्ने गुनासो आएपछि हामीले कारवाही गरेका हौँ’ जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओमप्रसाद अधिकारीले भने ‘स्थानीय सँग सोधपुछ गर्दा तीन सय ठिकै हुन्छ भनेपछि तीन सय भन्दा धेरै नलिन निर्देशन गरेका छौँ।’

अब माछाखोला–सोती चल्ने साना सवारी साधन जिपले तीन सय भन्दाबढि भाडा लिएमा गाडी नम्बर सहित ईलाका प्रहरी कार्यालय, जिप्रका वा प्रशासनमा खबर गर्न पनि प्रहरीले यात्रुलाई अनुरोध गरेको छ। 

महँगो भाडा लिएर रातो प्लेटका जिप चलाउने १५ भन्दा बढि साधनले यात्रु ठगेको गुनासोपछि शुक्रवार प्रहरीले दिनभर उक्त सडक खण्डमा चेकजाँच गरेको थियो। त्यहाँ चल्ने सबै रातो प्लेटको सवारी साधनले यात्रु बोकेको पाइएको चेकजाँचमा खटिएका ट्राफिक प्रहरी सुमन गुरुङले बताए। ‘आठ हजार राजस्व संकलन भएको छ, हामी जाँदा हावाडाँडा देखि माथि गाडी रोकिएकाले अरु गाडी भेटिएन’ उनले भने। रातो प्लेटका सवारीलाई भाडाको यात्रु नबोक्न र भाडामा चल्ने भए कालो प्लेट बनाउन ट्राफिक प्रहरीले निर्देशन गरेको उनले बताए। 

भाडा पाँच सय लिन नपाएपछि केही जिपधनी र ट्रर्याक खोल्दै गरेको हावाडाँडा स्थित नेपाली सेनाको मिलेमतोमा सिमित सवारी साधनलाई मात्रै माछाखोला जान दिइएको छ। काम भईरहेको बाहना बनाउँदै सेनाले माछाखोला सम्मको सडकमा निकट रहेका केही स्थानीयको साधन मात्रै छाड्ने गरेको छ। ‘सेनासँग उठबस भएका, निकटका, उनीहरुको सामग्री लगिदिने जिपलाई सहजै जान दिन्छन’ धार्चे ७ लापुका सोमकाजी गुरुङले भने ‘बिरामी बोक्ने बाहना बनाएर पनि केही जाने गर्छन, तर सर्वसाधारण र स्थानीयलाई सेनाले रोक्छ।’

त्यहाँ रोकिएपछि त्यसमाथि चल्ने सवारीले बाध्यतामा महँगो भाडा लिने, जोखिमको यात्रा गराउने गरेका छन्। नेपाली सेनाले उक्त सडक निर्माण पुरा नभएको, जोखिम रहेको भन्दै सबै सवारी साधन जान दिन नसक्ने बताउँदै आएको छ। यसबारे बुझन खोज्दा त्यहाँ कार्यरत मेजर इन्जिनियर निशान्त क्षेत्री सम्पर्कमा आउँदैनन् भने क्याम्पमा रहेका सेना मिडियामा बोल्न चहाँदैनन्। यस अघि सेनाले उक्त सडकको पुरै भाग निर्माण सम्पन्न भएपछि सरकारलाई हस्तान्तरण गरेर मात्रै सवारी चल्न दिने बताएको थियो।

धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले माछाखोला सम्म सडक पुरा भएकाले सबै सवारीलाई जान दिनुपर्ने बताए। ‘मन परेकालाई जान दिने, नपरेकालाई नदिने गर्न भएन, रातो प्लेटको जिपले मान्छे बोक्दा जोखिम नहुने अरु सवारी चल्दा जोखिम हुने हुन्छ?’ उनले भने ‘जिल्लाका सरोकारवाला बसेर एउटा निर्णय गरेर सवारी चलाउनुपर्छ।’ उक्त सडक जनताका लागि भएको बताउँदै उनले बनेको सडक स्थानीयले सहज प्रयोग गर्न पाउनुपर्नेमा जोड दिए।

प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले आरुघाट र धार्चे गाउँपालिकाका प्रमुख सँग समन्वय गरेर अघि बढ्ने बताएका छन्। सेनाले अहिले लार्केतर्फ सडक ट्रर्याक खोलिरहेको छ। माछोखोला सम्म सहजै सवारी चल्न सक्ने सडक छ। तर पनि सेनाले सिमित गाडीलाई मात्र आउजाउ गर्न दिँदा सिण्डिकेट धारीले प्रश्रय पाएका छन्। मिलेमतोमा सेनाले सिण्डिकेट लगाएको आरोप स्थानीयको छ। 

 

 

प्रकाशित: १६ कार्तिक २०७६ ०४:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App