७ वैशाख २०८१ शुक्रबार
समाज

प्रशोधन केन्द्रले किसानलाई राहत

तेह्रथुम – लालीगुराँस नगरपालिकाको सोल्लामा जिल्लाकै हालसम्मको ठूलो क्षमताको चिया प्रशोधन केन्द्र सञ्चालनमा आएपछि कृषकलाई राहत भएको छ। स्थानीय सिंहदेवी चिया उत्पादक सहकारी संस्थाले यो प्रशोधन केन्द्र सञ्चालनमा ल्याएपछि हरियो चियापत्ती जिल्ला बाहिरका उद्योगलाई बेच्ने समस्या टरेको छ।

यसअघि जिल्लामा उत्पादित चियापत्ती गुराँसे टी–स्टेट हिले धनकुटालाई बिक्री गर्दै आएको चिया कृषक बालकुमारी मगरले बताइन्। कारखाना सञ्चालनमा आएपछि स्थानीयलाई आर्थिक पाटोमा समेत टेवा पुगेको मगरको भनाइ छ।

चिया उत्पादन तथा प्रशोधनमा जिल्लालाई नै आत्मनिर्भर बनाउने उद्देश्यले संस्थाले उन्नति परियोजनाको सहकार्यमा तीन करोडभन्दा बढीको लगानीमा चिया प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको हो। यहाँबाट ब्लाक, ग्रीन, ह्वाइट, गोल्डेन, रेड, अर्थोडक्स, स्मोक टी लगायतका चियाहरू तयार हुन्छन्।

चिया बगानदेखि उद्योगसम्मको विभिन्न काममा दुई सय ५० जनाले रोजगारी पाएका छन् भने १० देखि १२ जनासम्म दक्ष कालीगढहरू प्रशोधन केन्द्रमा काम कार्यरत छन्। उद्योग सञ्चालनमा आएपछि बेरोजगारीले समेत रोजगार पाएको अर्का चिया कृषक मञ्जु पोखरेले बताइन्।

यहाँ उत्पादन भएको अर्गानिक चिया केही स्थानीय बजारमा, ३० प्रतिशत नेपाली बजार तथा २५ देखि ३० प्रतिशत भारतीय बजार र ३० प्रतिशतसम्म तेस्रो मुलुकमा निर्यात गर्ने लक्ष्य रहेको सहकारीका प्रबन्धक शंकर खनालले बताए।

उद्योगले खेर गइरहेको पत्ती प्रयोगमा आएको र यहाँबाट तयार हुने चियालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनका लागि अर्गानिक प्रमाणीकरणका लागि प्रक्रिया अगाडि बढाएको प्राविधिक वीरबहादुर बस्नेतले बताए। प्रशोधन कारखाना सञ्चालनमा आएपछि चिया कृषकहरूलाई राहत पुगेको छ। जिल्लाको सोल्मा र सुङनाममा मात्रै अहिले १४ सयभन्दा बढी रोपनी क्षेत्रफलमा चिया खेती हुँदै आएको छ।

यहाँका दुई सयभन्दा बढी घरधुरीले व्यावसायिक रूपमा चियाखेती गर्दै आएका छन्। जिल्लाका सोल्मा, सुङ्नाम, जिरिखिम्ती, मोराहाङ, श्रीजुङ, हमुरजुङ, पञ्चकन्या, आङदिमलगायतको स्थानमा व्यावसायिक चियाखेती हुँदै आएको छ। जिल्लाभरमा भने ३८ सय रोपनीभन्दा बढी क्षेत्रफलमा चियाखेती भइरहेको चिया उत्पादक सहकारी संघको तथ्यांकमा उल्लेख छ।

प्रकाशित: १६ कार्तिक २०७६ ०४:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App