८ वैशाख २०८१ शनिबार
समाज

बलियो नेपाल राष्ट्रिय पोषण अभियान सुरु

काठमाडौं – नेपालका बालबालिकामा रहेको कुपोषण र होचोपनामा कमी ल्याउने उद्देश्य बोकेको बलियो नेपाल राष्ट्रिय पोषण अभियान औपचारिक रूपमा सुरु गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त अभियानको उद्घाटन गर्दै कुपोषणविरुद्धको लडाइँमा सबैले मिलेर काम गर्नुपर्ने बताइन्।

‘सबै तहका सरकार, नागरिक समाज, समुदाय, विदेशी निकाय तथा वैज्ञानिक समुदायको साझा सहभागिताले कुपोषणविरुद्धको हाम्रो लडाइँ अझ बढी प्रभावकारी हुन्छ,’ उनले भनिन्। सञ्चारमाध्यममा प्रसारण हुने विज्ञापनले बालबालिकाको खाने आदत बदलिएको चर्चा गर्दै उनले यसमा सबैको ध्यान जानुपर्नेमा जोड दिइन्।

बलियो नेपालका अध्यक्ष स्वर्णिम वाग्लेले निजी क्षेत्र तथा नागरिक समाजको संयुक्त प्रयासमा कुपोषण र भोकमरी समस्या सम्बोधन गर्ने दिशामा आफ्नो संस्थाले नवीनतम कार्यक्रमहरू सञ्चालन गर्न लागेको बताए। उनले बलियो नेपाल अभियानअन्तर्गत निजी क्षेत्रका खाद्यवस्तु उत्पादकसँग सहकार्य गरिने र उत्पादित पोषणयुक्त खाद्य पदार्थको माग बढाउन सामाजिक मार्केटिङ र व्यवहार परिवर्तनसँग सम्बन्धित कार्यक्रमहरू पनि सञ्चालनमा ल्याइने जानकारी दिए।

नेपालले सहस्राब्दी लक्ष्यअनुसार बालबालिकामा हुने होचोपनको दरलाई १५ प्रतिशतमा झार्न हाल भएको प्रयासलाई दुगुना पार्नुपर्ने डा. वाग्लको भनाइ थियो। ‘हाल भइरहेको राष्ट्रिय लगानी र वैदेशिक सहयोगका स्थिति हेर्दा हामीले सन् २०३० मा हालको ३६ प्रतिशतलाई २३ मा मात्र झार्न सक्ने देखिन्छ,’ वाग्लेले भने, ‘यसैकारण पनि राज्यको यो प्रयासलाई सार्थक बनाउन निजी क्षेत्र तथा नागारिक समाजले पनि उत्तिकै महत्वपूर्ण भूमिका खेल्नुपर्दछ।’

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले निजी क्षेत्रको सक्रिय सहभागिता बलियो नेपालको प्रंशसायोग्य कार्य भएको बताए। आयोगले बहुक्षेत्रीय पोषण कार्यक्रमको कार्यान्वयनको अगुवाइ गरेको चर्चा गर्दै उनले कुपोषण घटाउने राष्ट्रिय लक्ष्यसँग निजी क्षेत्र एकाकार हुनु अत्यन्त महत्वपूर्ण भएको उल्लेख गरे।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अत्यावश्यक पोषणको मापदण्डलाई निजी क्षेत्रले आत्मसात् गर्नुपर्ने बताए। उनले बलियो नेपाल एउटा रचनात्मक प्रयास रहेको बताए। नेपालका परम्परागत खाद्य पदार्थहरू बढी पोषणयुक्त हुने चर्चा गर्दै उनले यसलाई स्थापित गर्न थप प्रयासहरू गरिनुपर्ने बताए।

विल गेट्स एन्ड मेलिन्दा फाउन्डेसनका प्रतिनिधि क्यामेल चिडाले बलियो नेपाललाई स्वचालित र दिगो राष्ट्रिय अभियान बनाउनुपर्ने बताए। यसैगरी बलियो नेपालका सञ्चालक समिति सदस्य निर्वाण चौधरी र अनिल शाहले यो पुनित अभियानमा सबैको सहकार्य र हातेमालो आवश्यक रहेको बताए। बलियो नेपालका अध्यक्षमा अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले छन् भने सदस्यहरूमा उद्योगपति निर्वाण चौधरी, बैंकर अनिल शाह, क्रिकेट खेलाडी पारस खड्का छन्।

चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीको विशेष पहलमा यो अभियान नेपालमा कार्यान्वयनमा आएको हो। चौधरीले विल एन्ड मेलिन्दा गेट्स फाउन्डेसनस“ग सहकार्य गर्ने गरि यो कार्यक्रमलाई नेपालमा कार्यान्वयन गर्न पहल गरेका थिए। पहिलो चरणमा यो अभियान प्रदेश नम्बर ५ मा लागू गरिएको छ।

प्रकाशित: १६ कार्तिक २०७६ ०३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App