८ वैशाख २०८१ शनिबार
राजनीति

नेकपाबाट मेयरमा तीनजना सिफारिस

धरान – धरान उपमहानगरपालिकामा मंसिर १४ गते हुने उपनिर्वाचनमा मेयर पदको उम्मेदवारका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एक महिलासहित तीनजनाको नाम माथिल्लो कमिटीमा सिफारिस गरेको छ। नेकपा धरान उपमहानगर कमिटीको शुक्रबार बसेको पूर्ण बैठकले मेयरको उम्मेदवारका लागि महिला नेत्री वेणु काफ्ले (खतिवडा), प्रकाश राई र फोक्वाहाङ सुब्बा (चोत्लुङ) को नाम सिफारिस गर्ने निर्णय गरेको हो। तीनैजना नेकपा सुनसरी जिल्ला कमिटीका सदस्य हुन्।

राई र काफ्ले तत्कालीन एमाले खेमाका हुन्। सुब्बा तत्कालीन माओवादी केन्द्र खेमाका हुन्। काफ्ले शिक्षिका पनि छन्। उनी नेकपा निकट शिक्षक संगठनको केन्द्रीय सदस्य पनि हुन्। उपमहाननगर कमिटीले सिफारिस गरेका ३ जनाको नाम जिल्ला कमिटीबाट प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पठाइने छ। केन्द्रले तीनजनाबाट एकलाई उम्मेदवार बनाउने छ। ‘पूर्ण बैठक बसेर ३ जनाको नाम नाम माथिल्लो कमिटीमा सिफारिस भएको छ,’ नेकपा धरान कमिटी अध्यक्ष नारायण सुवेदीले भने,‘अब पार्टी चुनावी अभियानमा लाग्छ।’

मेयरको उम्मेदवारका लागि नेकपाभित्र प्रदेश कमिटी सदस्य विजय राई, अइन्द्रबिक्रम बेघा, जिल्ला कमिटी सदस्य पदम इस्वो, अशोक राईलगायत पनि आकांक्षी थिए। सर्वसम्मत नाम पठाउन पहल भए पनि सहमति जुटाउन असफल भएपछि तीनजनाको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको हो।

बैठकले प्रदेश कमिटी सदस्य तथा जिल्ला सचिव रमेश बस्नेतलाई निर्वाचन परिचालन कमिटीको संयोजक बनाउने निर्णय गरेको नगर सचिव सुर्दशन श्रेष्ठले जानकारी दिए। समितिको सहसंयोजकमा जिल्ला कमिटी सदस्य चोेत्लुङ, अशोक राई र पदम इस्वो रहने छन् भने सदस्य सचिवमा नगर कमिटी अध्यक्ष नारायण सुवेदी रहने निर्णय गरिएको जानकारी सचिव श्रेष्ठले दिए। बैठकले २ हजार १ सदस्यीय निर्वाचन परिचालन मूल कमिटी र ३३ सदस्यीय सचिवालय बनाउने निर्णय गरेको छ।

प्रमुख प्रतिस्पर्धी दल नेपाली कांग्रेसको धरान नगर समितिले असोज २४ गते तिलक राईलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। धरान नगर समितिको निर्णयलाई शुक्रबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको छ।
यस्तै समाजवादी पार्टीले गजेन्द्र इस्वोलाई उम्मेदवार घोषणा गरिसकेको छ। संघीय लिम्बुवान मञ्चबाट जिल्ला अध्यक्ष अमर इजम, साझा पार्टीले राजनकुमार श्रेष्ठ र स्वतन्त्र उम्मेदवारका रुपमा हर्क साम्पाङले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्।

२०७४ सालको चुनावमा मेयरमा विजयी तारा सुब्बाको निधन भएपछि यो पद खाली भएको हो। यस्तै धरान उपमहानगरपालिका– ७ मा पनि वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ। पहिला वडाध्यक्षमा विजयी भुवन मोक्तानको निधन भएकाले उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित: १६ कार्तिक २०७६ ०२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App