coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

फालोट डायरी

फिदिमबाट सुरु भएको जिप यात्रा च्याङ्थापु बजारमा केहीबेर सुस्ताएपछि फेरि अघि बढ्यो। एक पछि अर्को गर्दै पहाडका शृङ्खला काट्दै ओसुम पुगियो। त्यहाँ बाटो बिग्रिएकाले गाडी अघि नबढ्ने भयो। नेपाल–भारत सिमाना चिवाभञ्याङसम्म गाडीमा जाने हाम्रो योजना । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरुवाती विन्दु पनि चिवा नै हो। अब हिँड्नु पर्ने भयो। 

वन क्षेत्र, अग्ला पहाड र पहराको बाटो छिचोल्दै गर्दा सिमसिम पानीले स्वागत गरिह्यो। भदौ अन्तिम साता भए पनि ज्याकेट लगाउनु पर्ने चिसो थियो। भञ्याङ कुहिरोले ढपक्कै थियो। यहाँबाट डाँडैडाँडा फालोट, सन्दकपुर हुँदै इलामका केही गाउँ पुग्न निस्किएका थियौं हामी।

साँझ छिपिन्ने क्रममा थियो। हामी पुग्नुपर्ने थियो पानी भित्ता भन्ने ठाउँको चौरी गोठमा। सात जनामध्ये कोही पनि यस अघि त्यहाँ पुगेका रहेनछौं। केही उकालो हिँडेपछि सिक्किमतर्फको बाटोमा हामी अलमलियौं। लेकमा कुहिरो मस्त लागेपछि बाटो पहिल्याउनै कठिन। धन्न मोबाइल फोनले टावर टिपेकाले गोठमा सामान लैजाने मान्छेलाई बोलाइयो। 

आधा घन्टा कुर्दा पारस पोखरेल आइपुगे। उनको गफ र हिँडाइमा ताल मिलाउनु सजिलो थिएन। पानीभित्ताको पेम्बा शेर्पाको गोठमा पुग्दा रातको साँढे नौ बजिसकेको थियो। गोठमा सिक्किमेली पाहुना रहेछन्। उनीहरूसँग बात मा-यौं।

चारराते चौंरी महोत्सवले चर्चित ठाउँ हो। भूगोल आकर्षक छ। सिजनमा ढकमक्क गुराँस फुलेको हुन्छ। हिमाल नजिक देखिन्छ।

बाहिर चौरी बस्ने ठाउँ, बीचमा बारेपछि मान्छे बस्ने ठाउँ। गोठको बीचमा आगो  बालिएको थियो। त्यसको छेउमा लामबद्ध भएर सुत्यौं। बिहान चौंरीका गतिविधिले बिउँझायो। बिहान पेम्बा एक्लैले २० ओटा चौरी गाईको दूध दोहे। चौरीकै दूधको चिया र रोटी मिठो भयो।

बिहान मौसम सफा थियो। टाढाटाढाका दृश्य देखियो तर केहीबेरमै कुहिरोको साम्राज्य चल्यो। पहाडका थुम्का हेर्दै रमाउने योजना पूरा भएन। हामी त्यहाँबाट सीमा क्षेत्रको बाटोमा हिँड्यौं। सिक्किमले पदमार्ग बनाएको रहेछ। त्यहाँ संकेत पनि राखिएका छन्। नेपालतर्फ भने त्यस्तो केही छैन। हिँड्दैहिँड्दै हामी सिँहलिला पहाड शृङ्खलाको अग्लो ठाउँमा पुग्यौं।

दृष्यहरू मोहित तुल्याउने खालका। तोरीफुले भन्ने ठाउँको गोठमा खाना खाँदा मध्यान्ह भैसकेको थियो। हामीलाई रेडपाण्डा नेटर्वकको सहयोगमा दिपज्योति युवा क्लबले यसरी घुमाएको हो। दावा योल्मू, जीवन राई र रमेश राई हाम्रा पथप्रर्दशक थिए।

फालोट पुग्दा साँझ परिहाल्यो। फालोटमा दृष्यावालोकन गर्ने अधिकाश क्षेत्र नेपालतर्फ पर्दो रहेछ। मौसम खुल्दा नजिकै हिमाल देखिन्छ। कुम्भकर्ण, कञ्चजङ्गालगायतका हिमाल। भारतले यहाँसम्म सडक ल्याएको छ। बर्सेनि ठूलो संख्यामा यहाँ पर्यटक आउँछन्। यहाँ सरकारी पाहुना–घर छन्।

हामी त्यहीँको गेस्ट हाउसमा बस्यौँँ। नेपालले पनि यस्तै गेस्ट हाउस बनाउने कि !  बिहानै फालोट खुल्यो। यात्राकै आर्कषक मौसम थियो। जता हेरे पनि हरियाली। डाँडामा चौरी कलात्मक देखिने। हिमाल पनि खुल्यो। कुहिरो बगेर पहाड कलात्मक देखिन्थ्यो। लम्बेतान पहाड मस्त थियो। उड्न मन लाग्ने। उफ्रिन मन लाग्ने। हामी तस्बिर लिन थाल्यौं। सन्दकपुर, नेपालीटार, चारराते खुलेको देखियो। अग्लो ठाउँमा कतै चौंरी डुलेका देखिन्थे त कतै बिहानीको घामले टल्किएका पहाड।

हामी तिनसिमाना भन्ने ठाउँमा जाने भयौं। तिनसिमाना विशेष ठाउँ हो। सिक्किम भारतमा विलय हुनुपूर्व नेपाल, भारत र सिक्किम देशको सिमाना भएकाले तिनसिमाना नामाकरण गरिएको हो। अहिले पनि सिक्किम र वेष्ट बङ्गालको सिमानासँग जोडिन्छ। नेपालतर्फ पदमार्ग बनाइएको रहेछ। नेपालतर्फको पहाड आकर्षक देखिन्छन्। ससाना पहरा र ढुंगाको फरकफरक आकार। तिनसिमाना (३,५०० मिटर) उचाइमा रहेछ। हावाले जोडले कुहिरो उडाउने, फेरि कुहिरो आउने लुकामारी। त्यो बिहान फालोटमै बित्यो।

फालोट क्षेत्र रेडपान्डा पाइने थलो पनि रहेछ। फालोटको हरियाली, पहाडी भूबनोट, चौरी गोठमा रमायौँ। बाटोमा भेटिए गोठ सञ्चालक चन्द्रलाल नेपाल। यहाँ पर्यटकलाई राख्न चौरी गोठलाई गोठस्टेका रूपमा विकास गरिएको उनले सुनाए। पहिलो चरणमा २१ वटामा  गोठस्टे बनाइएको रहेछ। गोठ सफा र चिटिक्क परेको, खानापान र  शौचालयमा सुधार गरेर पर्यटक बस्ने बनाइएको छ। यसका लागि रेडपान्डा नेटवर्कले टेन्ट, सुधारिएको चुल्होका साथै तालिम दिएको रहेछ। गोठस्टेमा पर्यटक दुग्धजन्य परिकार, चौरीसँग फोटो खिच्न विदेशी रुचाउँदा रहेछन्।

 
फालोट हुँदै हामी अघि बढ्दै गयौँ, दृश्य फरक देखिन थाले। भारतले सीमा क्षेत्रमा वन संरक्षण गरेको छ। नेपालतर्फ सरकारी उपस्थिति छैन। वन मासिने क्रममा छ। त्यसो त चौंरी गोठमा नयाँ पुस्ताको आर्कषण कम छ। हामीले बाटोभरि नयाँ भूगोलको अनुभूति पायौं। हामी नेपालीटार पुग्दा भारतका विभिन्न गाउँबाट नेपालमा आफन्त भेट्न आएकाहरू भेटिए। थर्कमान गुरुङको गोठमा पुग्यौँ। गोठ सुधारले धेरै परिवर्तन भएको सुनाए। उनको गोठमा छुर्पी अगेनोमाथि सुकिरहेको छ। साथीहरू गोठको परिकारमा मक्ख भए। मैले धमाधम चौंरीका फोटा खिचेँ।

चारराते पुग्दा कुहिरो बढ्दै थियो। चारराते चौरी महोत्सवले चर्चित ठाउँ हो। भूगोल आकर्षक छ। सिजनमा ढकमक्क गुराँस फुलेको हुन्छ। हिमाल नजिक देखिन्छ। एकछिन फालोटको पहाड हेर्दै सुस्तायौं। सन्दकपुर आइपुग्दा कुहिरोले ढपक्कै ढाकेको थियो। सन्दकपुरमा पर्यटकको ओइरो लाग्छ। 

मेरा लागि अर्को महत्वपूर्ण कुरा पौवाभञ्याङदेखि तिम्बु पोखरीसम्मको रुट फरकफरक समयमा भए पनि पूरा गर्न पाएकामा खुसी थिएँ। यताबाट विदेशीहरू कञ्चनजङ्घा आधार शिविरसम्म जान्छन्। भारतीय पर्यटकको ओइरो लागे पनि नेपालतर्फ तान्न सकिएको छैन। भारतले यो ठाउँमा पर्यटकलाई सुविधा विस्तार गरे पनि नेपालतर्फ सुविधा छैन। यही बुझेर गोठस्टेको अवधारणा अघि सारिएको दिप ज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले सुनाए।

हिमाली दृश्य आकर्षक। केही दिन डाँडामा रमाउँदै घुम्न चाहनेका लागि असोजदेखि वैशाखसम्म उपयुक्त। त्यसो त हिउँ पनि पर्छ यहाँ। जाडो अत्यधिक छ। जैविक विविधताले भरिपूर्ण यो क्षेत्रमा रमाउन अनेकन गन्तव्य छन्। मौसम खुल्यो भने चरम आनन्द मिल्छ।

प्रकाशित: १६ कार्तिक २०७६ ०२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App