८ वैशाख २०८१ शनिबार
समाज

छठमा बजार ‘चहलपहल’

वीरगन्ज – दसैंतिहारमा समेत खास कारोबार नभएको भनी व्यवसायीहरूले बताइरहेका बेला छठले भने बजारलाई ‘गुल्जार’ बनाएको छ। रेडिमेड कपडादखि घिउचिनीसम्मका पसललाई ग्राहक सम्हाल्न भ्याइनभ्याइ छ। फलफूल, बाँस र माटोबाट बनेका भाँडाकुँडासँगै अरूबेला बजारमा खासै नदेखिने सामानहरूको बिक्री बढेको छ।

कन्दमूलमा गनिने सुथरी, अरुई, मुला, छठिया बोडी, अदुवा, निम्बु, भोगटे, बइर, फर्सी, पानको पात, केरा, उखुजस्ता समान बेच्ने सयौं पसल वीरगन्जको मुख्य बजार क्षेत्रमा थापिएका छन्। ती पसलमा किनमेल गर्नेको भीड त्यत्तिकै छ। वीरगन्जको मुख्य बजार क्षेत्र छठकै कारण मेलाजस्तै बनेको छ।

त्यस्तै बाँसको कम्चीबाट बनेका सामान र घरेलु उत्पादनका अरू समानको बिक्री पनि बढेको छ। खासमा मधेसका दलित समुदायले पुस्तैनी पेसा र सीपका रूपमा बाँसका समान बनाउँदै आए पनि अरूबेला यसको खासै माग हँुदैन। छठको बेला भने यस्ता वस्तुको माग उच्च छ। करिब हरेक हिन्दु परिवारमा छठ हुने गरेकाले पूजासामग्री राख्न, अघ्र्य दिन र बोकेर छठ घाटसम्म लैजान घरघरमा बासका भाँडा चाहिने भएपछि त्यसको बिक्रीसमेत बढेको हो।

‘यस्ता सामान वर्ष दिनमा जति बिक्री हुने गर्छ, त्यति नै बराबर छठका बेला तीन दिनमा बिक्री हुन्छ,’ घण्टाघर चोकमा बाँसका कम्चीले बनेको ‘छैंटी र दउरा’ लिएर बेच्न बसेका हीरामन मण्डलले भने, ‘सयदेखि ६ सय रुपैयाँसम्ममा छैंटी र दउरा बेचेको छु।’ उनका अनुसार छठमा माटाको भाँडाको पनि बिक्री बढेको छ।

माटोको हात्ती, कलश, दियो, ढकनी, चैमुखको दिनभरि नै बिक्री भयो। माटोका भाँडाको पसलमा दिनभरि नै किन्नेहरूको भीड रह्यो। माटोको भाँडो पनि कुम्हाल जातिले परम्परागत रूपमा बनाउँदै आएको छ। त्यस्ता सामानको माग बिहेवारी, पूजाआजामा हुँदै आए पनि तिहार र छठमा भने मुख्य रूपमा बजारमा बढी माग हुने गरेको छ। बाँसका सामान र माटाका भाँडाका पसल तिहारअघि राखेर छठसम्मै चलाउने गरिन्छ।

‘आज अन्तिम दिन नै हो यी सबै सामान बिक्री हुने, त्यसपछि अर्को वर्ष,’ परिवारका अरू सदस्यसहित वीरगन्जको माईस्थानमा छठका समान बेच्न व्यस्त शिव साहले भने, ‘अरू दिनमा फलफूल बेच्छौं, छठमा यी पूजा सामग्रीको समेत बिक्री गर्छौं।’ भाइटीकापछि लाग्ने गर्छ छठको बजार। यसपालि साहले शुक्रबारसम्म करिब ५० हजारको व्यापार गरेका छन्। सामान्यता किसानको घरमं उपलब्ध हुने सामानहरू छठका प्रसाद र पूजासामग्रीका रूपमा प्रयोग हुने गरेको छ। अब भने यी सामान पहिलेजस्तो घरघरमा उत्पादन हँुदैन। छठको सिजनमा यसको विशेष बजार नै हुने गरेको देखिन्छ।

फलफूल, चनीको बातासा, झुत्रोसहितको नरिवल, अगरबत्ती, सुकमेल, ल्वाङ, अर्घौतीजस्ता पूजासामग्रीको किनबेच भएको छ। छठको विशेष प्रसाद ‘ठेकुवा’ बनाउन प्रयोग हुने सामग्री चिनी, मैदा, घिउ, वनस्पति घिउ, खानेतेलको बिक्री पनि तुलनात्मक रूपमा बढेको व्यवसायीहरूले बताए। छठ घाटमा नयाँ फेसनका लुगा लगाएर जाने चलन बढेकाले सारी, सलवार कुर्ता, जिन्स पेन्ट, टि–सर्ट र अरू ‘रेडिमेड’ कपडाको बिक्री ह्वातै बढेको उनीहरूले जानकारी दिए।

प्रकाशित: १६ कार्तिक २०७६ ०२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App