coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

साँघुरिँदो नदीमा फैलिँदो छठ

छट पूजाका लागि काठमाडौंको कालीमाटी तरकारी बजारबाट केरा किनेर फर्किलै महिला। तस्बिरः उपेन्द्र/नागरिक

काठमाडौं – बढ्दो सहरीकरणले उपत्यकाका नदी तथा पोखरी मिचिँदैछन्। यिनै साँघुरा नदी तथा पोखरीका किनारमा मनाइने सांस्कृतिक सद्भावको पर्व छठ भने फैलँदो छ। परिवारमा सुख, शान्ति र समृद्धिको कामना गर्दै मनाइने छठ पछिल्लो समय धार्मिक सद्भावको पर्व बन्न थालेको छ। एक दशकअघिसम्म तराईका हिन्दु धर्मावलम्बी समुदायमा सीमित यो पर्व पछिल्लो समय पहाडी समुदायसँगै पहाडी भूभागमा पनि फैलिएको छ। त्यसको झल्को राजधानीका नदीकिनार तथा पोखरीमा देखिन्छ। आठ दशकअघि कालीमाटी टंकेश्वरको विष्णुमती नदीमा केही व्यक्तिले सुरु गरेको छठ पूजा अहिले काठमाडौं उपत्यकाका मात्रै २० भन्दा बढी स्थानमा गरिन्छ।

‘उति बेला रौनियार थरका केही मान्छे जम्मा भएर पूजा गरेको देख्थ्यौं,’ ७० वर्षीय श्यामसुन्दर उपाध्यायले ६ दशकअगाडिको छठ पूजाको सम्झना गर्दै भने, ‘हेर्ने मान्छे पनि खासै हुँदैनथे।’ १० वर्ष यता भने राजधानीका विभिन्न ठाउँमा छठ पूजा गर्ने र हेर्ने मानिसको भिड लाग्नेगरेको उनले सुनाए। उपाध्यायले भनेजस्तै यति बेला कालीमाटी, रानीपोखरी, कुपन्डोल, थापाथली, गौरीघाट, बल्खु, बानेश्वरको बागमती पुल, गुह्येश्वरी, कमलपोखरी, नागपोखरीलगायतका स्थान शनिबार साँझ हुने छठपूजाका लागि सिँगारिएका छन्।

‘गुह्यश्वेरीस्थित छठ घाटमा ६ सय ५० परिवारका लागि तयारी पूरा भइसकेको छ,’ घाट सिँगार्न सक्रिय एक श्रद्धालुले भने, ‘हरेक वर्ष छठ मनाउनेको संख्या बढ्दो छ।’ छठपूजामा मिसिने पहाडी समुदायको संख्या पनि बढ्दै गएको उनले सुनाए। ‘यस पटक पनि कुल सहभागीमध्ये ३५ प्रतिशतभन्दा बढी पहाडी समुदायका छन्,’ उनले भने, ‘यो पर्व जातीय र धार्मिक सद्भावको केन्द्र बन्दैछ।’

एक दशकअघिसम्म तराईका हिन्दु धर्मावलम्बी समुदायमा सीमित यो पर्व पछिल्लो समय पहाडी समुदायसँगै पहाडी भूभागमा पनि फैलिएको छ।

सुरुको समयमा छठ भन्नेबित्तिकै मधेसी समुदायको मात्र भन्ने बुझाइ थियो। एक दशकदेखि छठमा सहभागी हुँदै आएकी बानेश्वरकी पार्वती अधिकारीले सुरुसुरुमा आफूलाई पनि कतिपयले मधेसी समुदायकै भन्ठानेको सुनाइन्। छठको टोकरी बोकेर रानीपोखरी जाँदा मधेसतिरको हो भनेर सोध्नेलाई पहाडमा घाम लाग्दैन भन्दै छठमा गरिने सूर्यको आराधनाबारेमा सम्झाउने गरेको उनले बताईन। ‘घाम तराई पहाड सबैतिर लाग्छ,’ उनले भनिन्, ‘छठको महŒव बुझ्दै जाँदा मनाउने मान्छे पनि बढ्दै गए।’ परिवारका दिदीबहिनीसहित गुह्यश्वेरी घाटमा छठ मनाउन तयार उनले यसपटक छोरी पनि पूजामा सहभागी हुने बताइन्।

शनिबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिन मधेसी–पहाडी सहभागिताले आपसी भाइचारा र सद्भावको सन्देश दिने कमलपोखरी छठ पूजा समितिका अध्यक्ष राजेन्द्र सिंहले बताए। नेवार समुदायका उनले विगत ९ वर्षदेखि व्यवस्थापनको काम गर्दै आएका छन। ‘यहाँ नेवार, बाहुन–क्षेत्रीदेखि मधेसी समुदाय सबै रमाएर छठ मनाउँदै आएका छन्,’ उनले भने, ‘यो पवित्र कामको संयोजक हुन पाएकोमा खुसी लागेको छ।’

अघिल्लो वर्ष २ सय ८० घाट तयार गरिएकोमा यस पटक ३ सय २० पु-याइएको उनले सुनाए। ‘रानीपोखरीमा छठ पूजा गर्दै आएका पनि २०७२ सालको भूकम्पछि यता आउन थालेका छन्,’ उनले भने, ‘हेर्ने मान्छेको भिड पनि निकै बढेर गएको छ।’

छठका लागि शुक्रबार कालीमाटी बजारमा प्रसाद किन्दै गरेकाको भिडमा पनि पहाडी र मधेसी समुदायको छ्यासमिस देखिन्थ्यो। प्रसादका रूपमा नरिवल, केरा, उखु किन्दै गरेका उनीहरु मुस्कुराउँदै आपसमा कुरा गरिरहेका थिए। ‘हामी सँगै मिलेर छठ पर्व मनाउँदैछौं,’ गोठाटारबाट आएका मीना ठाकुर र सम्झना पुडासैनीले एकसाथ भने, ‘यसरी मनाउँदा खुसी मिल्छ।’ सम्झनाको घरमा डेरा लिएर बसेकी मीनाले घरधनी दिदी पनि सहभागी हुँदा झनै रमाइलो लागेको बताइन्। ‘केटाकेटी पनि खुसी भएका छन्,’ उनले भनिन्, ‘ठेकुवा पनि सँगै बनाउने योजना छ।’

केही वर्षअघि गुह्येश्वरीमा हिन्दु धर्मावलम्बीसँगै मुस्लिम समुदायका केही महिलाले समेत छठ पूजा गरेका थिए। रौतहट घर भई काठमाडौं तिलगंगा बस्दै आएकी जमिला खातुनले पति जुमराती मन्सुरी र छोरा अलाउद्दिनको सुखशान्तिका लागि तीन वर्षअघि गुह्येश्वरीमै छठपूजा गरेकी थिइन्। ‘संख्यामात्र होइन, जातीय सद्भाव पनि बढेको छ,’ अनिल सिंह राजपुत भन्छन्, ‘छठ अब मधेसी पहाडी सबैको साझा पर्व बनेको छ।’ शनिबार अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मनाइने छठ पर्व आइतबार बिहान उदाउँदो सूर्यको पूजा गरेसँगै सम्पन्न हुने उनले बताए।

प्रकाशित: १६ कार्तिक २०७६ ०१:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App