७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

शशांक कोइरालाकाे प्रश्न : हँसिया हथौडामा भोट माग्ने सभापतिबाट कांग्रेस कसरी चल्छ ?

प्रनितिधि सभा विघटनपछि नेपाली कांग्रेस संसद पुनःस्थापनाको पक्षमा कि निर्वाचनको पक्षमा भन्ने प्रश्न सबैभन्दा धेरै बहसको विषय बनेको छ। नेतैपिच्छे आउने फरक–फरक अभिव्यक्तिले कांग्रेसको मुल एजेण्डा के हो भन्नेमा थप अन्यौलता पैदा गराएको छ। संसद विघटनको मुद्दासँगै पार्टीको १४ औं महाधिवेशनको विषय कांग्रेसका लागि अर्को चुनौति बनेको छ। आगामी वैशाखमा चुनाव हुनै नसक्ने र संयुक्त आन्दोलनमा जान नहुने बताउँदै आएका कांग्रेसका महामन्त्री डा. शशांक कोइरालासँग नागरिककर्मी देवेन्द्र बस्नेतले यिनै विषयमा केन्द्रित रहेर कुराकानी गरेका छन्।

कांग्रेसको ‘बटमलाइन’ संसद पुनःस्थापना हो कि मध्यावधि चुनाव?

हाम्रो नीति स्पष्ट छ। ओलीजीले सदन विघटन गर्नुभएको छ। संसद पुनःस्थापना हुनुपर्‍यो, त्यसैका लागि अहिले कांग्रेस सडक आन्दोलनमा छ। अब अदालतले त्यसलाई सदर गर्‍यो भने त हाम्रो नीति पनि चुनावै हो, तर मेरो दृष्टिकोणमा चुनाव मंसिरभन्दा यता हुँदैन। त्यसको कारण के हो भने अहिले विधिवत् रुपमा नेकपा फुटेको त छैन नि। जबसम्म उनिहरुले चुनाव चिन्ह प्राप्त गर्दैनन् तबसम्म त नेकपा फुटेको हुँदैन। सूर्य चिन्ह उनीहरुमध्ये निर्वाचन आयोगले कसलाई दिने? समस्या देखिरहेको छ। निर्वाचन आयोगले सूर्य चिन्ह माधव कुमार नेपाल र प्रचण्डलाई दियो भने ओलीजीले मुद्दा हाल्छन्।

जस्ले मुद्दा हाल्छन्, अनि त्यो दुई तीन महिना अझै बढेर जान्छ। त्यसैले चुनाव हुनसक्ने सम्भावना म देख्दैन। र, पुनःस्थापना हुने सम्भावना पनि मैले देख्दैन, अतः हामी अहिले निकै ठूलो अन्यौलतातर्फ गइरहेका छौं। किनभने, संविधानलाई ट्र्याकमा ल्याउने हो भने कि संसद पुनःस्थापना हुनुप¥यो कि चुनाव हुनुपर्‍यो दुईवटै नभएपछि त अन्यौलता भयो नि। अहिले यस्तो परिस्थति छ।

नेपाली कांग्रेसले अन्यौलताको निकास कसरी दिन्छ त?

हैन। अहिले त हामी विरोध गर्दैछौं, जुलुस गर्दैछौं, ठाउँठाउँमा सभाहरु गरिरहेका छौं। यो विरोधले ‘सुप्रिम कोर्ट’लाई पनि झक्झक्याउँछ, कि तपाईहरु निर्णय सोचेर गर्नुस्। हाम्रो संविधानको जुन व्यवस्था छ, त्यहीअनुसार गर्नुस् भनेर दबाब पनि पुग्छ। जस्तो कि उसले संसद विघटन गर्ने कुनै आधारै छैन। संविधान हामीहरुले मुलुकको स्थिरताका लागि बनायौँ। अहिले त कस्तो छ भने न चुनाव हुन्छ, न पुनःस्थापना हुन्छ, यो अन्यौलताको अवस्थामा कांग्रेसले विरोध गर्ने र सही निर्णय गर्न बाध्य पार्ने खालका काम अगाडि बढाउँछौं।  

कांग्रेसको मान्यता संसद पुनःस्थापना नै हो त ! कांग्रेस ढुलमुल बन्यो भन्छन् नि?  

यसमा त दुईमतै छैन नि। आन्दोलनका कार्यक्रमहरु त केन्द्रीय समितिले नै निर्णय गरेको हो नि। यो असंवैधानिक, अलोकतान्त्रिक कदम हो। कांग्रेस यो कदमको खिलापमा छ। त्यसैले कांग्रेसभित्र कुनै मतभिन्नता छैन। नत्र त पार्टी सभापति शेर बहादुरजीले भन्नुहुन्थ्यो होला नि हामी चुनावमा मात्रै जाउँ भनेर।  

उहाँ अल्पमतमा परेर निर्णय गर्न बाध्य भएको हैन र?  

त्यो हुन सक्छ। तर, चुनाव नै कहिले हुन्छ? समस्या त त्यहाँनेर हो। चुनाव भयो भनेपनि संविधान ट्र्याकमा आउँछ भन्ने हाम्रो मान्यता हो। तर, त्यो सम्भावना म देख्दैन। मंसिर यता चुनाव मैले सम्भवै देखेको छैन। अनि नहुने चुनावको पछाडि लागेर कांग्रेस दौडनु उचित हैन नि।  

उसो भए निर्वाचन घोषणामा प्रधानमन्त्रीको के स्वार्थ होला त?

अब मलाई त के लाग्छ भने ओलीजी लामो समय प्रधानमन्त्री बन्न चाहनुहुन्छ। चुनाव पनि नगर्ने, संसद पुनःस्थापना पनि नगर्ने। भनेपछि त्यो त उहाँको यात्रा अनन्तकालका लागि चलिहाल्यो। अर्को ८ महिना १० महिना, एक वर्ष ओलीजीले सत्ता चलाउनुहुन्छ। हैन भने त पुनःस्थापना भयो भने त उहाँले राजीनामा दिनुपर्छ। यात चुनाव भईहाल्यो भने चुनाव हार्नुहुन्छ उहाँ, अनि आफूले हार्ने चुनाव ओलीजीले किन गराउनुहुन्छ? प्रश्न यहाँ नेर छ। तसर्थ अब सर्वोच्च अदालतको फैसला पहिला हेरौँ, त्यसपछि हामीले आफ्नो रणनीति बनाउनु पर्छ।  

महाधिवेशनको संघारमा कांग्रेस छ, नेतृत्वको खाका कसरी बनिरहेको छ?  

अब हेर्नुस्, शेर बहादुरजीलाई ‘डाइरेक्ट अट्याक’ म गर्न चाहन्न। तर साँच्चै भन्ने हो भने शेर बहादुरजीले पार्टी चलाउन सक्नुभएन। उहाँले विभागहरु गठन गर्नुभयो ४ वर्षपछि। जब महाधिवेशनको मिति घोषणा गरेपछि उहाँलाई विभाग गठनको कुनै अधिकार छैन। हाम्रो विधानमा के लेखिएको छ भने ६ महिना भित्र उहाँले विभागहरु गठन गरिसक्नुपर्छ। तर, चार वर्ष लगाएर विभाग गठन गर्नुभयो। त्यो पनि महाधिवेशन घोषणा गरेर गर्नुभयो। त्यो त गर्न पाइँदैन नि। अब मलाई लागेको केन्द्रमा सभापतिको परिवर्तन हुनैपर्छ। उतातिर दुई जना छन्, शेर बहादुजी र बिमलेन्द्रजी, यतातिर रामचन्द्र दाई, प्रकाशमान, म पनि छु, शेखर दाई हुनुहुन्छ। सिटौलाजी हुनुहुन्छ। हामीले एउटै उम्मेदवार दिन सकेको खण्डमा हामी नेतृत्व परिवर्तन ल्याउँछौ भन्ने लाग्छ।

एकजना मात्रै उम्मेदवार तपाईहरुको समूहबाट सम्भव होला?

अब गराउनैपर्‍यो। हामी प्रयासरत छौँ र यही गरेर जान्छौँ। एकजना मात्रै हुन्छ।

देउवाले पार्टी चलाउन नसकेको भनेर यहाँले भन्नुभयो, यी कुराहरु पहिले तपाईंले बोलेको सुनिएन नि?

हैन। जबदेखि म महामन्त्री भएँ तबदेखि मैले शेर बहादुरजीलाई ‘प्रोटेक्ट’ नै गरेको हो। हामीले चुनाव हार्‍यौं, सबैले उहाँको आलोचना गरे। मैले भने ‘हाम्रो पनि ‘मिस्टेक’मा हात छ।’ टिकट उहाँले मात्रै बाँड्नुभएको छैन, टिकट बाँड्नमा हाम्रो पनि हात छ। मैले शेर बहादुरजीलाई अन्त्यसम्म सहयोग गर्दै आएँ। र, अहिले के लाग्यो भने अब शेर बहादुरजीबाट पार्टी चल्दैन। फलतः अब उहाँको विकल्प खोज्नै पर्छ भन्ने मलाई लाग्यो। अबको महाधिवेशनले उहाँलाई ‘चेन्ज’ गर्छ।

खास सभापतिले गर्न नसकेका या गर्न नचाहेका या भनौ उहाँले गलत गरेका प्रमुख विषयहरु चाहिँ के हुन्?

जस्तो मैले अघिपनि भने विभाग गठनको विषय बताएँ। एक त विधानविपरीत ढिला गर्नुभयो। अनि अर्को कुरा हाम्रो विधानमा २७ वटा विभाग उल्लेख छ। तर, उहाँले ४४, ४५ वटा विभाग बनाइदिनुभयो। त्यो गर्न पाइँदैन नि। त्यसपछि भ्रातृ संगठनहरु लथालिंग छ। तरुण दल चार जनाले चलाइरहेका छन्। नेविसंघ त्यस्तै लथालिंग छ। उहाँले पार्टीको भ्रातृ संस्थाहरुलाई पनि परिचालन गर्नसक्नु भएन। त्यसैले मैले भनेको उहाँको नेतृत्व असफल भयो।

के कांग्रेस विगतभन्दा धेरै कमजोर भएको हो? अर्थात कांग्रेस अहिले एजेण्डा विहीनताको अवस्थामा हो?

विगतभन्दा कांग्रेस अहिले सांगठनिक रुपमा धेरै कमजोर भएकै हो। तर, कांग्रेसलाई एजेण्डाविहीन नै त भन्न मिल्दैन। एजेण्डा भन्दापनि पार्टी सञ्चालनका लागि जुन् सकृयता दिनुपथ्र्यो, त्यो पार्टी सभापतिबाट भएन। मैले भनिहाले नि, सबै भ्रातृ संस्थाहरु परिचालित नै छैनन्। हामीले अहिले भन्छौं, चुनाव जितिहाल्छौं। कसरी जित्छौं? कसरी जित्छौं, चुनाव? हाम्रा भ्रात संस्थाहरु चुस्त र दुरुस्त हुँदैनन्, कसरी जितिन्छ चुनाव?  

यसको जिम्मा तपाईंलाई महामन्त्रीले कतिसम्म लिने नि?  

हैन। मैले भनिहाले नि मैले पहिलेदेखि नै शेर बहादुरजीलाई सहयोग गरेको हो। किनभने, महामन्त्रीको हैसियतले मेरोपनि जिम्मेवारी हो, पार्टीलाई चलयमान बनाउने। तर, सभापति शेर बहादुरजीले आफ्नै हिसाबले पार्टी चलाइदिनुभयो। उहाँले कहिल्यै हाम्रो सर–सहयोग खोज्नुभएन। तसर्थ शेर बहादुरजीबाट अब पार्टी चल्न सक्दैन। त्यसैले हामीले परिवर्तन खोजेको हो।  

कांग्रेसले आफ्नो सक्रियताबाट भन्दापनि नेकपामा आएको फुटमा बढी फाइदाको दाउ हेरिरहेको हो?

मलाई त्यस्तो लाग्दैन। कांग्रेस एकजुट भयोभने कम्युनिस्ट जतिसुकै मिलुन्, हामीलाई हराउन सक्दैनन्। यहाँ त घात अन्तरघातले चौपट पारेको छ। टिकट दिँदाखेरी पनि स्थानीय तहमा सोध्नुपर्छ। केन्द्रीय तहबाट टिकट वितरण गर्दा कसलाई थाहा छ कि जिल्लामा कसलाई टिकट दिँदा ठिक हुन्छ भनेर? जिल्लाको सभापतिलाई सबैभन्दा पहिला सोध्नपर्‍यो। अनि जिल्ला सभापतिले पनि छलफल गर्छन्। केन्द्रमा बसेर हामीले फलानोलाई टिकट दिने भनेर गर्ने निर्णय परिवर्तन हुन जरुरी छ। खाली आफ्नो मान्छेलाई बनाउने मात्रै हिसाबले हामी सोच्छौं, त्यसरी सोच्नु भएन। अब पार्टीमा विकेन्द्रीकरणको सिद्धान्त लागू गर्नुपर्छ।  

कांग्रेस भित्रको पुरानो रोग अन्तरघात कहिले सकिएला?  

कांग्रेस भित्र धेरै विचारहरु छन्। विचार भन्दापनि धेरै नेताहरु छन्। नेताहरुले आफ्नै मान्छे बनाउन खोज्छन्, अनि अन्तरघात त्यसैबाट सुरु हुन्छ। एउटाले टिकट पायो भने अर्कोले यसलाई त हराउनै पर्छ भनेर लाग्छन्। तसर्थ यो नेताहरुको गल्ती हो। कार्यकर्तालाई म दोष दिन्न। कार्यकर्ताहरु त सोझा छन्। जस्तो यहीँनेर शेर बहादुरजीको अर्को गल्ती, ६० वर्षको इतिहासमा चितवनमा उहाँले हँसिया हथौडामा भोट हाल्न लगाउनुभयो। कांग्रेसले कहिले पनि हँसिया हथौडामा भोट हाल्दैन। हँसिया हथौडामा भोट माग्ने सभापतिबाट कांग्रेस कसरी चल्छ? ६० वर्षको इतिहासलाई देउबाले एकैछिनमा ध्वस्त पारिदिनुभयो। यस्तो नेतृत्वबाट पार्टी अब चल्दैन। उहाँले रेणु दाहाललाई जिताउनुपर्ने बाध्यता प्रचण्डसँग साँठगाँठ थियो। त्यसैले पार्टीको यो कमजोरी टार्नका लागि टिकट वितरणको सवालमा अब जिल्ला सभापतिलाई नै अधिकार दिनुपर्‍यो।  

पार्टीभित्र अनुशासनको कारबाही फितलो भएको हो? 

हैन। हामीले निलम्बन पनि गरेका छौं, जसले बागी उम्मेदवार खडा गर्छन्, त्यस्ता प्रस्तावक र समर्थकहरुलाई निलम्बन नै गरेका छौं। तर, म उदाहरणै दिन्छु, तनहुँका गोविन्दराज जोशी र पश्चिमका पुस्कर ओझा यिनीहरु दुईजना माथि कारबाही भयो। हुन त अहिले म के सुन्दैछु भने तनहुँबाट गोविन्दजीलाई कारबाही फुकुवा गर्ने प्रस्ताव आयो भन्ने। तर, कारबाही मात्रै नभएर आम माफी पनि हुनुपर्‍यो। चुनाव आउँछ, जित्नुपर्‍यो। साँच्चै विद्रोह गर्‍यो भने त कारबाही हुन्छ। तर, कसैले भोट हालेन भनेर कारबाही भन्ने कुरा चाहिँ ठिक होइन।  

संसारभरी विलय भएर गएका कम्युनिस्टहरु नेपालमा कसरी हाबी भए, त्यसको कारण भनेकै कांग्रेसले सहारा दिनु हो। 

नेकपासँगको सहकार्यको पनि चर्चा छ नि?

मेरो धारणा छ, कम्यूनिस्टसँग हाम्रो कुनैपनि सहकार्य हुँदैन, हुनुहुँदैन पनि। ३६ सालको जनमतमा पनि कम्युनिस्टहरु आए, मिल्ने प्रयास भयो। तर, बिपीले मान्नु भएन। हाम्रो गल्ती ०४६ सालमा भयो। ०४६ मा हामी कम्युनिस्टसँग मिल्यौं। ०५१ मा कम्युनिस्ट आयो। संसारभरी विलय भएर गएका कम्युनिस्टहरु नेपालमा कसरी हाबी भए, त्यसको कारण भनेकै कांग्रेसले सहारा दिनु हो। यसर्थ ०४६ मा हामीहरुले विद्रोही कम्युनिस्टलाई साथ दियौं, त्यो नै हाम्रो लागि दिर्घकालीन कमजोरी भयो। त्यसपछि ०५१/०५२ मा माओवादी जन्मिए। सशस्त्र द्धन्द भयो। अनि फेरि गिरिजा बाबुले उनीहरुलाई जंगलबाट बोलाएर चुनाव गराउनुभयो। त्यो बेला सबैभन्दा बढी भोट त माओवादीले नै पाए। तर, उनीहरुले संविधान त दिन सकेनन्। जनतालाई पनि लाग्यो, कांग्रेसबाहेक अरुले संविधान दिन सक्दैनन् भनेर, अनि सुशील कोइरालाले जितेपछि संविधान कांग्रेसले दियो। यसर्थ मैले भन्न खोजेको के हो त भन्दा हामी आजको मितिमा कसैसँग मिल्दैनौं। हामीसँग शक्ति छ, हामी पर्याप्त छौं।  संगठन, नम्बरमा पनि हामी राम्रो छौ। विचारका आधारमा हामी सबैभन्दा माथि छौं। त्यसैको आधारमा हामीले चुनाव लड्नुपर्छ कसैसँगको आड र भरोसामा हामी हिँड्नुहुँदैन। अहिले प्रदेश १ र ३ मा के गर्ने भनेर? मेरो भनाई के हो भने? अविश्वासको प्रस्तावको समर्थनमा भोट हाल्ने तर सरकारमा नजाने। हामी त प्रतिपक्ष हो नि। तर, शेर बहादुरजीको के विचार हो थाहा छैन। मैले यसो विचार गर्छु, एक नम्बरमा उहाँको मान्छे छैन, ३ नम्बरमा चाहिँ उहाँको मान्छे छन्। त्यसैले सायद उहाँले ३ नम्बर लिनुहुन्छ होला। तर, त्यो गर्नुहुँदैन। मेरो भनाई के हो भने हाम्रो आफ्नै अस्तित्व छ, आफ्नै शक्ति छ त्यो परिचालन गर्नु पर्‍यो। कांग्रेस कसैसँग मिल्नु हुँदैन। हामी मिलेका कारण कम्युनिस्टहरु नेपालमा फस्टाएका छन्, यो कुरा हामीले बुझ्नु पर्छ।

संसद पुनःस्थापनाको विषयमा सहकार्य गर्न पनि मिल्दैन?

यो विषयमा हामीबीच कुरा नभएको हैन, भएको पनि हो। मैले फेरि पनि भन्छु कांग्रेस कसैसँग पनि मिलेर जानु हुँदैन। आन्दोलनमा पनि जानु हुँदैन, कांग्रेस अहिले पनि संसद पुनःस्थापनाको पक्षमा आन्दोलनमा छ। कांग्रेस हरेक दृष्टिले शक्तिशाली भएकै कारण एक्लै सडकमा छ। उसले मुलुकको हितका निम्ती एकल आन्दोलन गर्छ र मुलुकलाई निकास दिन्छ भन्ने मानसिकता कांग्रेसले बनाएको छ। अतः मलाई लाग्दैन, संसद पुनःस्थापनाका लागि कांग्रेसले अन्य दलहरुसंग संयुक्त आन्दोलनमा जाने निर्णय गर्छ। आन्दोलन गर्छ तर आफ्नो शक्तिमा एक्लै गर्छ।

प्रकाशित: ४ फाल्गुन २०७७ ०६:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App