३ आश्विन २०७७ शनिबार
अन्तर्वार्ता

‘वैदेशिक लगानी आउन नसक्नुमा सरकारको दोष छ’

करोडौंको कारोबार । पाँच उद्योगमा काम गर्ने सयौं कर्मचारीलाई गर्नुपर्ने खटनपटन । प्रविधिको तीव्र परिवर्तन । असहयोगी कर्मचारीतन्त्र । राजनीतिक दलका कार्यकर्तालाई चन्दा दिनुपर्ने उस्तै दबाब । अनिश्चित औद्योगिक माहोल । देशका विभिन्न भागमा रहेका उद्योगको हालखबर बुझ्न पटक–पटक गरिरहनु पर्ने दौडधुप । 

 वर्षौंदेखि यसरी नै चल्दै आएको व्यवसायी पशुपति मुरारकाको दैनिकी हेर्दा लाग्छ उनी निकै तनावमा हुन्छन् । र, उनले आफ्नो जीवनशैली तनावै–तनावमा गुजारिरहेका होलान् भन्ने लाग्ला तर वास्तविकता भने फरक छ । जति मुरारकामाथि कामको दबाब र व्यस्तता छ, त्यति नै उनले जीवनशैलीलाई सरल र सहज बनाएका छन् । घरपरिवारसँग भरपुर मनोरञ्जन गरिरहेका पनि हुन्छन् । खुसीका लागि विभिन्न बहाना खोजिरहेका हुन्छन् । यो सब कसरी सम्भव भइरहेको छ त ? नागरिक परिवारका लागि विश्वमणि पोखरेल र रुद्र खड्कासँग कुरा गर्दै मुरारकाले यसरी सुनाए भित्री रहस्य । 

सधैँ व्यस्त भइरहने उद्योगी÷व्यवसायीको घरायसी दिनचर्या कसरी चल्दैछ ?

जीवन बिताउने आफ्नै तरिका हुन्छन् । मुख्य कुरा समयको व्यवस्थापन कसरी गर्ने भन्ने हो । समयको व्यवस्थापनले नै हरेक व्यक्तिलाई समाजसँग जोड्न सघाउ पु-याउँछ । व्यक्ति जतिसुकै धनी होस् या गरिब उसका लागि परिवारपछि चाहिने भनेको समाज नै हो । यदि कुनै पनि व्यक्ति समाजबाट टाढिन्छ भने त्यो व्यक्तिले मानवीय गुण गुमाउन थालिसकेको हुन्छ । 

मेराे विचारमा नेपाली अलि बढी उपभाेक्तामुखी भए कि भन्ने लाग्न थालेकाे छ । जति अाम्दानी गरिरहेका छन् । त्यति नै रकम खर्च भइरहेकाे छ । 

तपाईंले कसरी घरपरिवार र कार्यालयको व्यवस्थापन गरिरहनु भएको छ ?

मेरो कुरा गर्नुपर्दा उद्योग धन्दा चलाउँदा अनेक समस्या आउँछन् तर म ती समस्यालाई केवल कामकाजी रूपमा आउने समस्याभन्दा माथि कहिल्यै लिन्नँ । 

देशका विभिन्न स्थानमा रहेका पाँच उद्योग चलाउँदा अनेक समस्या र तनाव आउँछन् ।  तर, म कार्यालयको काम कार्यालयमै छाडेर मात्र घर फर्कन्छु । त्यसरी घर फर्कंदा आउने खुसीमा निकै रमाउँछु । फेरि व्यक्तिले तनाव बोकेर मात्र समाधान हुने पनि त होइन !

व्यक्तिले चाहेर वा नचाहेर तनाव सिर्जना या समाधान हुने हो भने तनाव कसले रोज्थ्यो होला र ? जुन व्यक्तिले तनावलाई जुन कामका लागि हो त्यसमै सीमित राख्ने क्षमता बनाउन सक्यो त्यो व्यक्ति खुसी हुन्छ । सफल हुन्छ । यसो गर्न सकिएन भने तनावले मान्छेलाई सिध्याउँछ । कार्यालयको काममा आउने विभिन्न अवरोधलाई कार्यालयमै सीमित राख्ने गरेका कारण म र मेरो परिवार वर्षौंदेखि खुसी छौं । मैले कार्यालयमा भोगेका तनावका कारण दुई छोरी (श्रुति र वेदिका) तथा छोरा (अनन्त) र पत्नी (श्रद्धा) कहिलै निराश हुँदैनन् । 

घर फर्कंदा म  सधैँ हँसमुख हुन्छु । कार्यालयमा जस्तोसुकै समस्या आए पनि घरमा हाँस्दै फर्कने बानी छ । मेरो खुसी देखेर पत्नी र छोराछोरी खुसी हुन्छन् । सबैको खुसीका लागि म घर फर्कंदा सधैँ चराजस्तो हुन्छु ।

अनि, खानपिनको बानी कस्तो छ नि ?

म शुद्ध शाकाहारी हुँ । काठमाडौंमा रहँदा सकभर पत्नीले पकाएको खाना नै रुचाउँछु । काठमाडौंमा हुँदा पत्नी श्रद्धाले तयार पारेको ब्रेकफास्ट लिएर बिहान ९–१० बजेसम्म बिजुलीबजारमा रहेको मुरारका अर्गनाइजेसनको कार्यालयमा पुग्छु । र, दिउँसो पनि सकभर उनले नै तयार पारेको लञ्च लिन घर फर्कन्छु । एकातिर शुद्ध शाकाहारी भएकाले जहाँजुकै खान मन लाग्दैन भने अर्कोतर्फ पत्नीले पकाएको खाना नै निकै मन पर्छ । सकभर घरमै पाकेको खाना खान पाऊँ भन्ने चाहना हुन्छ  । 

अलिकति फरक प्रसङ्गमा कुरा गरौं नेपालमा उद्योग धन्दा चलाउन गाह्रो/सहज के छ ?

यसमा हरेकका आ–आफ्नै अनुभव होलान् । मेरो अनुभव भने त्यति सकारात्मक छैन । वर्षौंदेखि उद्योगी, व्यवसायीप्रति कर्मचारीको मनपरी छ । उद्योगी, व्यवसायी भनेका चोर, फटाहा हुन् भन्ने कर्मचारीतन्त्रको सोच छ । जुन आजपर्यन्त सुधार हुन सकेको छैन । 

तपाईं यस्तो आरोप कसरी लगाउँदै हुनुहुन्छ ?

यो कुरा कर्मचारीको व्यवहारबाट देखिने हो । हामी यसका भुक्तभोगी हौं । एउटा शाखा अधिकृतले चाहने हो भने अनेक आरोप लगाएर कुनै पनि उद्योग, व्यवसाय बन्द गर्ने हैसियत राख्छन् । उद्योगी, व्यवसायीलाई जे गरे पनि हुन्छ भन्ने सोच राज्य संयन्त्रसँग छ । जसले गर्दा नेपालको निजी क्षेत्रले विकास गर्न नसकेको हो । निजी क्षेत्रको विकास भएन भने देशको अर्थतन्त्र सुदृढ हन सक्दैन भन्नेबारे धेरैलाई थाहा छ तर व्यवहारमा कर्मचारीको मनपरीतन्त्र छ । 

नेपालको निजी क्षेत्र पनि इमान्दार हुन नसकेका कारण राज्यको नजर नकारात्मक भइरहेको हो भनिन्छ नि ?

यो आरोप गलत हो । निजी क्षेत्रका सबै व्यक्ति दूधले नुहाएका छन् भन्ने मेरो दाबी पनि होइन । तर, केही व्यक्तिलाई हेरेर पूरै क्षेत्र खत्तम छ भन्न मिल्दैन  । फेरि निजी क्षेत्रलाई सही बाटोबाट हिँडाउने दायित्व सरकारको पनि हो । राज्यको तर्फबाट निजी क्षेत्रलाई सम्मान गर्न जान्नु पर्छ । 

२०४८ मा बहुदलीय व्यवस्थाको आगमनपछि तत्कालीन सरकारले जसरी खुला बजार अर्थ नीति अंगीकार ग¥यो । त्यसको मर्मअनुसार निजी क्षेत्रले काम गर्न नसकेको पनि आरोप सुनिन्छ नि ?

२०४८ पछि नेपालले उदार खुला बजार अर्थनीति लिएको हो । त्यसपछि निजी क्षेत्रको विकास हुन थालेको हो । निजी क्षेत्रको योगदानकै कारण अर्थतन्त्रको अहिलेको अवस्था आएको हो । पछिल्लो क्षेत्रमा केही भएन भन्ने होइन । उदार अर्थतन्त्रको नीतिका कारण मिडिया, बैंक, बिमा, हवाई कम्पनीले राम्रो विकास गरेका हुन् । 

निर्माण सामग्रीकै कुरा गर्दा सिमेन्ट र स्टिल उत्पादनमा नेपाली उद्योगले राम्रो गरेका छन् । निजी क्षेत्रले जति गर्नुपथ्र्यो त्यति गर्न भने नसकेको पक्का हो । त्यसका लागि असहयोगी राज्य संयन्त्र र १० वर्षे माओवादी द्वन्द्व बाधक रहे । माओवादी द्वन्द्व सुरु नभएको भए उत्पादनमूलक क्षेत्रको धेरै विकास भइसक्थ्यो । द्वन्द्वकालमा जति उद्योग काठमाडौंमा थिए । ती राम्रैसँग चले । राजधानीबाहिर रहेका उद्योग द्वन्द्वको मारमा परे । अधिकांश उत्पादनमूलक संस्था काठमाडौंबाहिर थिए । त्यसैले उत्पादनमूलक क्षेत्रको राम्रो विकास हुन सकेन । र, आज पनि अधिकांश उत्पादनमूलक संस्था काठमाडौंबाहिर नै छन् । 

राज्यले उदार अर्थतन्त्रको नीति लिए पनि व्यवहारमा सोहीअनुसार काम नगरेको बताउनु भयो । कसरी ?

राज्यले उदार अर्थतन्त्रको नीतिलाई अँगाले पनि व्यवहारमा अझै देखाउन नसकेको सत्य हो । उदार अर्थतन्त्रको सबभन्दा मजा भनेको बजारमा कसैको दबदबा (सिन्डिकेट) रहँदैन भन्ने हो तर नेपालमा अझै यातायात लगायतका कैयन क्षेत्रमा सिन्डिकेटको रजगज कायम छ । सरकारी निकायको मिलेमतोबिना सिन्डिकेटले कसरी निरन्तरता पाइरहेको होला र ? यस्ता अनेक उदाहरण छन् । खुला बजार अर्थनीति भनिए पनि व्यवहारमा नेपालको अर्थतन्त्र अभैm राज्यकेन्द्रित नै छ । कर्मचारीले आफूलाई ठालू ठान्छन् । व्यवसायी निमुखाजस्ता भइरहेका छन् । कर्मचारी गोल ठोकिरहेका र व्यवसायी गोल खाइरहेको अवस्था छ । पछिल्लो समयमा सरकारले सडकको सिन्डिकेट हटाउन गरेको प्रयास भने सकारात्मक छ । 

वर्तमान सरकारले आर्थिक समृद्धिमा जोड दिइरहेको बताउने गरेको छ । तपार्इं आर्थिक समृद्धि हुनेमा कत्तिको आशावादी हुनुहुन्छ ?

हो, नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट बनेको वर्तमान सरकारले आर्थिक समृद्धिलाई जोड दिइरहेको छ । बहुदलीय व्यवस्थाको आगमनपछिको २५ वर्षमा २५ वटा सरकार बेहोरेका हरेक जनताको यतिखेरको चाहना पनि आर्थिक समृद्धि नै हो । 

अहिलेको सरकारले जे भनिरहेको छ, त्यो विगतमा पनि हरेक सरकारले भन्ने गर्थे । तर, मुख्य सवाल देशको शासन सञ्चालन गर्ने दलका नेता र कर्मचारीतन्त्रको मानसिकता परिवर्तन हुनुपर्छ । जो अहिलेसम्म हुन सकेको छैन । स्रोत, साधनको उपलब्धता राम्रै भएकाले सरकारको अलिकति इच्छाशक्ति हुने हो भने आर्थिक समृद्धि र देश विकास गर्न गाह्रो छैन । देशको विकास गर्न एकातिर मानसिकता परिवर्तन हुन जरुरी छ भने अर्कोतर्फ बलियो कानुन र ती कानुन कार्यान्वयनमा जोड दिनुपर्छ । 

 कर्मचारीतन्त्रले अहिलेको जस्तो अधिकार छोड्न नचाहने र राजनीतिक दलका नेताले त्यसमा चासो नदिने हो भने अहिलेको परिवर्तनले उपलब्धि हुन सक्दैन । संविधानमा खुला बजार अर्थनीति लेखिए पनि कानुन भने पुरानै छ । त्यस्तै नेपालमा उद्योग धन्दाको विकासका लागि प्रमुखमध्ये पर्ने अर्को समस्या नीतिमा भइरहेको अनिश्चितता  छ ।  

नीतिमा कसरी अनिश्चितता भयो ?

व्यवसायीले बैंकसँग लिएको ऋणको ब्याजदर पटकपटक परिवर्तन हुँदासमेत सरकारले चासो दिँदैन । अर्बौं रुपैयाँ ऋण लिने उद्योगीलाई बैंकले ५ प्रतिशत ब्याजदर मात्र बढाउने हो भने त्यो टाट पल्टिन्छ । उद्योगीलाई टाट पल्टाएर देशको आर्थिक समृद्धि हुने होइन । 

उद्योग लगाउनु र त्यसलाई कसरी चलाउने भन्नेबारेमा सबै जिम्मेवारी बोक्नु व्यवसायीको दायित्व भए पनि नीतिको सुनिश्चितता गरिदिनु सरकारको दायित्व हो । नीतिमा सुनिश्चितता नहुने हो भने व्यवसायी उत्पादनमूलक क्षेत्र छाडेर ट्रेडिङको सेक्टरमा जानसक्ने खतरा रहन्छ । अहिले त नेपालमा व्यवसायी जति सबै चोर फटाहा र कर्मचारीजति सत्य हरिशचन्द्र जस्तो भएका छन् । यस्तो शैलीले कतै देशमा आर्थिक समृद्धि होला र ? राजनीतिक दलले कर्मचारीतन्त्रलाई नियन्त्रणमा लिन सक्नु पर्छ । हुँदाहुँदा पछिल्लो समयमा अदालत पनि स्वतन्त्र नभएजस्तो भान परिरहेको छ । अदालत कमजोर हुँदा यतिखेर मैदान रेफ्रिविहीन जस्तै छ ।   व्यवसायी भनेका कमाउन मात्र आएका होइनन् । व्यवसायी हातमा २५ रुपैयाँ भयो भने एक सय रुपैयाँ लगानी गर्ने मान्छे हुन् । अन्ततः त्यसले अर्थतन्त्रको विकासमा टेवा पु-याइरहेको हुन्छ ।

 राज्य लगानीबिना निजी क्षेत्रको साझेदार हो । व्यवसायीले जति कमाउँछन्, त्यसको निश्चित रकम राज्यलाई कर तिरिरहेका हुन्छन् । त्यस्तै उद्योगमा काम गर्ने कर्मचारीले पनि राज्यलाई कर नै बुझाउँछन् । यदि उद्योगीले व्यवसाय नगरेको भए राज्यले कहाँबाट कर पाउँथ्यो ? राज्य संयन्त्रकै कारण नेपालका व्यवसायीले गर्वका साथ आफूले कमाएको रकम खुलाउन सकेका छैनन् । यसमा मिडियाले समेत नकारात्मक भूमिका खेलिरहेको छ । 

पछिल्लो समयमा बैंक तरलताको समस्याले आक्रान्त भइरहेको पाइन्छ । यसको समाधान के हो जस्तो ठान्नु हुन्छ ?

म अर्थविद त होइन । तर, मेरो विचारमा नेपाली अलि बढी उपभोक्तामुखी भए कि भन्ने लाग्न थालेको छ । जति आम्दानी गरिरहेका छन् । त्यति नै रकम खर्च भइरहेको छ । स्वदेशमा उत्पादन छैन । बाहिरबाट ल्याएर हरेक वस्तुको उपभोग गर्नुपर्छ । अत्यधिक खर्च गर्ने बानीले रकम बाहिर गइरहेकाले तरलता बढिरहेको  हो जस्तो लाग्छ । 

नेपालमा वैदेशिक लगानीबारे धेरै कुरा सुनिन्छ तर रकम भने आएको देखिँदैन । समस्या कहाँनेर छ ? 

भौतिक पूर्वाधारको विकास नभई देशको विकास हुन नसक्ने र भौतिक पूर्वाधारको विकासबिना आर्थिक अवस्थामा सुधार नहुने अर्थतन्त्रको सामान्य चक्र हो । 

भौतिक पूर्वाधार विकासका लागि लगानी भने बढी नै लाग्ने गरेको छ । लगानीको अभावमा विकास हुन नसकेको धेरै वर्षदेखिको समस्या हो । नेपाललाई मात्र नभई यतिखेर अमेरिका, जापान, चीन, भारतजस्ता विकसित देशलाई पनि वैदेशिक लगानी आवश्यक परिरहेको छ । खाली फरक के हो भने कुन देशलाई कस्तो वैदेशिक लगानी आवश्यक परेको छ भन्ने मात्र हो । विकसित देशले फरक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन खोजेका होलान् । गरिव देशको प्राथमिकता त्यो भन्दा फरक होला । मेरो विचारमा नेपालले वैदेशिक लगानीका लागि सबै क्षेत्र खुला गर्नुपर्छ । पछिल्लो समयमा त्यो भइरहेको पनि छ । तैपनि लगानी वृद्धि हुन सकेको छैन । 

स्वदेशमा लगानीको अभाव हुँदा विदेशबाट लगानी भित्र्याएर कैयन देशले आर्थिक समृद्धि गरेका छन् । नेपाल सरकारले पनि पटकपटक विभिन्न सभा, सम्मेलन गरेर वैदेशिक लगानी भित्र्याउने प्रयास गरेको पाइन्छ । वास्तविकतामा भने नेपालको वैदेशिक लगानी उत्साजनक छैन । मेरो अनुभवमा वैदेशिक रोजगारी भित्रिन नसक्नुमा मुख्य दोष सरकारकै छ ।  

कर्मचारी र समग्र राज्य संयन्त्रको नकारात्मक व्यवहारले वैदेशिक लगानी आउन सकेको छैन । राज्य संयन्त्रणको अहिलेकै रवैया कायम हुने भने आज मात्र होइन भविष्यमा पनि नेपालमा वैदेशिक लगानी आउँदैन । कर्मचारीको मनपरीका कारण स्वदेशी उद्योगी नै जोखिममा छन् । यस्तो बेला कसरी विदेशी लगानी आउँछ ? नेपालमा लगानी गर्ने बेला लगानीकर्ताले आफ्नो लगानी कत्तिको सुरक्षित हुन्छ भनेर हेरिहाल्छ नि । नेपालमा लगानी गर्नेहरू अहिले देखिएको जोखिम बोक्न÷धान्न तयार छैनन् । वैदेशिक लगानी भित्र्याउने सरकारको चाहना हो भने गम्भीर भएर नियम, कानुन र व्यवहारको पुनरावलोकन गर्ने बेला आएको छ । 

अन्त्यमा, तपाईंका भावी औद्योगिक योजना चाहिँ के छन् नि ?

यतिखेर म र मेरो समूहले अर्घाखाँची सिमेन्ट, पशुपति पेन्टस, सुप्रिम सिमेन्ट, पशुपति आइरन र बागेश्वरी आइरनका कम्पनी चलाउँदै आएका छौं । ती सबै उद्योगमा करिब एक हजार पाँच सयले रोजगारी पाइरहेका छन् । 

सरकारले वैदेशिक लगानी भित्र्याउन नसके पनि अर्घाखाँची सिमेन्टमा भने विदेशी (भारतीय) लगानी पनि छ । सात सय करोड रुपैयाँ लगानी रहेको उक्त कम्पनीमा साढे सत्र प्रतिशत विदेशी लगानी छ । अहिले हामी अर्घाखाँची सिमेन्टको क्षमतालाई दोब्बर पार्न गइरहेका छौं ।  हाल दैनिक ३० हजार बोरा सिमेन्ट उत्पादन गर्दै गइरहेको अर्घाखाँची सिमेन्टले बैशाखदेखि दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने तयारीमा छौं । 

प्रकाशित: २५ वैशाख २०७५ १५:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App