अमेरिकाले आफ्नो भिसा नीतिमा थप कडाइ गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गत शुक्रबार जारी गरेको नयाँ निर्देशनअनुसार मधुमेह, मोटोपना र क्यान्सर जस्ता दीर्घरोगीहरूलाई अब अमेरिका प्रवेश गर्न कठिन बनाउने भएको हो।
अमेरिकी विदेश मन्त्रालयले विश्वभरका दूतावास र वाणिज्य दूतावासहरूलाई गम्भीर स्वास्थ्य समस्या भएकाहरूलाई यात्रा वा बसोबास अनुमति नदिन भनेको छ। यो ‘सार्वजनिक शुल्क’ नीतिमा आधारित छ, जसले सरकारी स्रोतमा निर्भर हुन सक्ने आप्रवासी रोक्ने लक्ष्य राख्छ।
भिसा अधिकारीहरूलाई आवेदकको स्वास्थ्य, उमेर र आर्थिक स्थिति राम्रोसँग जाँच्न सल्लाह दिइएको छ। यदि कुनै व्यक्ति महँगो चिकित्सा वा सरकारी सहयोगमा भर पर्ने सम्भावना छ भने भिसा अस्वीकृत हुनेछ। हृदयरोग, श्वासप्रश्वास समस्या, क्यान्सर, मधुमेह, चयापचय रोग, स्नायु रोग र मानसिक स्वास्थ्य जस्ता ७ बिरामीले लाखौं डलर खर्च निम्त्याउन सक्छन्। मोटोपनलाई पनि दम, निद्रा समस्या र उच्च रक्तचापसँग जोडेर हेरिने छ।
अधिकारीहरूले आवेदकले सरकारी सहयोगबिना जीवनभर चिकित्सा खर्च बेहोर्न सक्छ कि सक्दैन भनेर एकिन गर्नुपर्नेछ। साथै, बालबालिका वा वृद्ध आमाबाबुको स्वास्थ्य के छ भनेर जाँच्नुपर्छ। यसले पर्यटक (बी–१/बी–२) र विद्यार्थी (एफ–१) भिसासम्म प्रभावित हुने देखिएको छ।
जर्जटाउन विश्वविद्यालयकी अध्यागमन वकिल सोफिया जेनोभेसले भनिन्, ‘यो नियमले भिसा अन्तर्वार्तामा धेरै समस्या निम्त्याउनेछ।’ लिगल इमिग्रेशन नेटवर्कका वकिल चार्ल्स व्हीलरले भने, ‘अधिकारीहरूसँग रोग कति खतरनाक छ वा यसले सरकारी स्रोतमा कति असर पार्छ भनेर मूल्याङ्कन गर्ने अनुभव छैन।’
यो ट्रम्पको पहिलो कार्यकालको कडा नीतिको पुनरावलोकन हो। सन् २०१९ मा आप्रवासीहरूलाई मेडिकेड जस्ता लाभ त्याग्न बाध्य पारिएको थियो। एजेन्सी
प्रकाशित: २४ कार्तिक २०८२ ०९:२३ सोमबार




