१० जेष्ठ २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

२६ घण्टामा तीन हत्या गर्ने 'साइको किलर' इन्काउन्टरमा मारिए

क्याप्शन

भारतका गुडिरहेको रेल र उत्तर प्रदेशको एक अस्पतालमा तीनवटा हत्या गर्ने एक जना 'साइको किलर' सोमबार राति प्रहरी इन्काउन्टरमा मारिएका छन्। चन्दौलीका एसपी आकाश पटेलले भने, 'प्रहरीले अभियुक्तलाई अपराध दृश्य पुन: सिर्जना गर्न लगेको थियो। यस क्रममा उसले एक प्रहरी अधिकारीको पेस्तोल खोसेर गोली चलाउँदै भाग्ने प्रयास गर्यो।'

प्रहरीले जवाफी कारबाही गर्दा उनको टाउको र छातीमा गोली लागेको थियो। जिल्ला अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भयो। ४५ वर्षीय गुरप्रीत सिंहले २६ घण्टाभित्र चन्दौलीमा तीनवटा अर्थहीन हत्या गरेका थिए। तीनवटै घटनाको ढाँचा एउटै थियो, गोली सिधै कन्चटमा प्रहार गरिएको थियो।

उनले आइतबार बिहान ७ बजेतिर यात्रुवाहक रेलमा एक युवकलाई गोली हानी पहिलो हत्या गरेका थिए। यसैगरी, दोस्रो हत्या जम्मू तवी एक्सप्रेस रेलमा बाथरूम गएका एक युवकलाई आइतबार राति २ बजे गोली हानी हत्या गरेका थिए। यस्तै, उनले तेस्रो हत्या सोमबार बिहान ८:३० बजे एक जना पुरुषले निजी अस्पतालमा प्रवेश गरे र ओछ्यानमा सुतिरहेकी एक महिलालाई उनको कन्चटमा पेस्तोल तेर्स्याएर गोली हानेका थिए।

महिलाको हत्या गरेर भाग्न खोज्दा भीडले उनलाई समातेर कुटपिट गरेको थियो। त्यसपछि उनलाई प्रहरीको जिम्मा लगाइयो। कुटपिटमा गुरप्रीत घाइते भए। प्रहरीले उनको उपचार गरायो। जब उनी बोल्न थाले उनलाई महिलालाई मार्नुको कारण सोधियो। जवाफमा उनले भने, 'म मेरो दिमागको राजा हुँ। रक्सी पिएपछि मेरो होस हराउँछ। म घुम्छु र मेरो मनमा जे आउँछ त्यही गर्छु। मैले एक जना होइन, दुई वा तीन जनालाई मारेको छु।'

यो जवाफ सुनेर प्रहरी पनि छक्क परे। कडा सोधपुछपछि उनले आफ्ना सबै अपराध स्वीकार गरे। गुरप्रीत सिंह मूल रूपमा अमृतसरका थिए। उनी छ वर्षअघि सेनाबाट अवकाश लिएका थिए। उनको कुनै स्थायी बसोबास थिएन। उनी विवाहित थिए, तर उनले आफ्नी श्रीमती वा छोराछोरीको बारेमा प्रहरीलाई कुनै जानकारी दिएनन्।

पीडीयू नगरका सीओ अरुणकुमार सिंहले भने, 'रक्सी पिएपछि गुरप्रीतले मानसिक सन्तुलन गुमाउने गर्थे। उनी प्रायः मानिसहरूसँग झगडा गर्थे र हिंस्रक हुन्थे। झगडापछि उनले तीनमध्ये दुई हत्या गरेका थिए। प्रारम्भिक अनुसन्धानबाट अभियुक्त मनोरोगी भएको देखिन्छ।'

प्रकाशित: २९ वैशाख २०८३ ११:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App