चार नेपालीसहित २५ जना मारिएको घटनामा नाइटक्लबका मालिक दुई दाजुभाइ भारत छोडेर भागेका छन्।
बीबीसीका अनुसार भारतीय अधिकारीहरूले घटनाको केही समयपछि दुई दाजुभाइ (सौरभ र गौरव लुथ्रा) थाइल्याण्डको फुकेट पुगेको पुष्टि गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार मृतक चार नेपालीमा चूर्ण बहादुर पुन, विवेक कटवाल, सबिन र सुदीप रहेका छन्।
अनुसन्धानकर्ताहरूले स्थानीय र अन्तर्राष्ट्रिय पर्यटकहरूमाझ लोकप्रिय तटीय राज्य गोवाको व्यस्त रात्रिजीवन क्षेत्रमा अवस्थित बर्च बाई रोमियो लेन स्थल भित्र पटाका फुटाएका कारणले भीषण आगलागी भएको भनेका छन्। मृतकमध्ये अधिकांश कर्मचारी थिए। घटनामा ५० जना घाइते भएका थिए। जानकारी अनुसार पाँच जनाको अझै अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले लुथ्रा दाजुभाइहरूलाई खोज्न र पक्राउ गर्न मद्दतका लागि इन्टरपोलसँग सहयोग मागेको छ। प्रहरीले आगलागी लगत्तै नाइटक्लबका प्रबन्धकसहित कम्तिमा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
बाँसबाट बनेको संरचना भएका कारण आगो तीव्र गतिमा फैलिएको थियो। सोहीकारण बाहिर निस्कन नपाएर भित्रै निस्सासिएर धेरैको ज्यान गएको जनाइएको छ।
प्रकाशित: २३ मंसिर २०८२ १२:२१ मंगलबार


-600x400.jpg)


