८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

काबुलको मस्जिद नजिकै विस्फोट, चारजनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा रहेको एक मस्जिद नजिकै प्रार्थना समाप्त भएको केही मिनेटमै भएको विस्फोटमा परी चार जनाको मृत्यु भएको एक अस्पतालले जनाएको छ।

गत वर्षको अगष्टमा तालिबानले सत्ता कब्जा गर्नुअघि कैयौँ दूतावास रहेको पूर्व ‘ग्रिन जोन’भन्दा केही पर रहेको वजीर अकबर खान मस्जिदको प्रवेशद्वार नजिकै विस्फोट भएको थियो।

यस मस्जिदमा अहिले तालिबानका वरिष्ठ कमाण्डर र लडाकुहरू उपस्थित हुने गरेका छन्।

राजधानी काबुलमा आकस्मिक अस्पताल सेवा सञ्चालन गर्ने गैरसरकारी संस्था, इमर्जेन्सीले विस्फोटमा परी १४ जना हताहत भएको जनाएको छ। 'तीमध्ये चार जनाको अस्पताल पुग्नु पहिले नै मृत्यु भइसकेको थियो,' इमर्जेन्सीले ट्वीटरमा भनेको छ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका अपुष्ट तस्वीरमा मस्जिद बाहिरको सडकमा एउटा कारमा आगो लागेको देखिएको छ। काबुल प्रहरीका प्रवक्ता खालिद जादरानले विस्फोट र ‘हताहत’ भएको पुष्टि गर्दै विस्तृत विवरण अनुसन्धानपछि मात्र दिन सकिने बताए।

सन् २०२० मा पनि सोही मस्जिदमा बम विस्फोट हुँदा मुस्लिम धर्मगुरू ‘इमाम’को मृत्यु भएको थियो।तालिवान सत्तामा फर्किएसँगै युद्ध समाप्त भएपछि अफगानिस्तानमा समग्र हिंसामा उल्लेखनीय कमी आएको छ भने काबुल र अन्य शहरहरूमा बम आक्रमणका घटना भने यदाकदा भइरहेका छन्।

यी आक्रमणहरूमा धेरै मस्जिद र मौलवीहरूलाई निशाना बनाइएको छ, जसमध्ये केहीको जिम्मेवारी जिहादी इस्लामिक स्टेट समूहले लिएको छ। यसै महिनाको सुरुमा रुसी दूतावासका कार्यालयबाहिर भएको आत्मघाती बम विस्फोटमा दुई जना रुसी दूतावासका कर्मचारीको मृत्यु भएको थियो।

प्रकाशित: ७ आश्विन २०७९ १३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App